मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ माघ १० शनिबार १०:०२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भ्याक्सिन आएसँगै पर्यटनमा उत्साह

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ १० शनिबार १०:०२:००

कोरोना भाइरसविरुद्ध भ्याक्सिन लगाउन सुरु भएसँगै विश्वभरका पर्यटकको चहलपहल बढ्ने आशा गरिएको छ । नेपाल सरकारले पनि कोभिडका कारण मासिक करिब १० अर्ब गुमाइरहेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तीन चरणमा कार्य गर्ने योजना बनाएको छ ।

कोभिड–१९ का कारण सन् २०२० मा सबैभन्दा बढी मार पर्यटन क्षेत्रमा पर्‍यो । जसबाट नेपाली पर्यटन क्षेत्रले मात्रै अर्बौँ रुपैयाँ गुमाउनुपरेको छ । यो वर्ष पर्यटक आगमन गत वर्षभन्दा ८१ प्रतिशतले गिरावट नै आएको छ । तर, कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउन थालेसँगै संसारभरका पर्यटन व्यवसायीमा आशा पलाउन थालेको छ । 

नेपालमा पनि बिहीबार भारत सरकारले अनुदानमा दिएको १० लाख डोज भ्याक्सिन आइपुगेको छ । खरिद गरेर ल्याइने भ्याक्सिनहरू पनि आउने चरणमा छन् । सन् २०२१ को पहिलो महिनामा नै भ्याक्सिन प्रयोगमा आउन थालेपछि यो वर्ष पर्यटन क्षेत्र जुर्मुराउने आशामा पर्यटन व्यवसायी छन् ।  

नेपालमा अप्रिलदेखि नयाँ पर्यटन सिजन सुरु हुन्छ । मुख्य गरी हिमाल आरोहणको सिजन सुरु हुनेछ । भ्याक्सिन प्रयोग तथा स्वास्थ्य प्रोटोकलका साथै सरकारले पर्यटन आगमनमा सहज वातावरण बनाएमा हिमाल आरोहणबाटै कोरोनापछिको पर्यटनमा ‘ब्रेक थ्रू’ सुरु हुने पर्यटन व्यवसायीहरू बताउँछन् । 

सरकारले १ कात्तिकदेखि नै नेपाल आउन विदेशी पर्यटकलाई खुला गरे तापनि मासिक केही सय मात्रै पर्यटक आइरहेका छन् । चीन र भारतका पर्यटक नगण्य छन् । ‘भ्याक्सिन आएपछि संसारभर नेपालको सकारात्मक सन्देश गएको छ, यसले कोरोनापछिको पर्यटनमा नयाँ सुरुवात हुने आशा गरेका छौँ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । 

नेपालको पर्यटन क्षेत्रमा मात्रै १५ खर्ब लगानी भएको विभिन्न समयमा भएका अध्ययन र अनुसन्धानले देखाएको छ । त्यस्तै, पर्यटनबाट १० लाखभन्दा बढी मानिसहरूले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीले पर्यटनबाटै जीवन निर्वाह गरेका छन्,’ बोर्डका सिइओ रेग्मीले भने । अहिले पर्यटन क्षेत्रबाट १० अर्ब रुपैयाँ मासिक गुमेको छ । १० महिनामा पर्यटन क्षेत्रले १ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको सिइओ रेग्मी बताउँछन् । 

कोभिडपछि सरकारको तीन चरण 
सरकारले कोभिड–१९ पछिको पर्यटन लयमा फर्काउन तीनवटा चरणमा काम सुरु गरेको छ । पहिलो चरणअन्तर्गत पर्यटन क्षेत्रलाई सुचारु गराउन १ पुसदेखि सबै क्षेत्र खुला गरिएको छ । खुला गरेसँगै आन्तरिक पर्यटकहरू खासगरी पोखरा, सौराहा र लुम्बिनीमा घुम्न निस्किएका छन् । सोही कारण काठमाडौंबाहिर पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकले नै भरिभराउ भइरहेका छन् । ‘पहिलो चरणअन्तर्गत सबै क्षेत्र खुलाएर काम गरिरहेका छौँ,’ सिइओ रेग्मीले भने । 

पहिलो चरण आन्तरिक पर्यटन नै हो धनञ्जय रेग्मी : सिइओ, नेपाल पर्यटन बोर्ड

कोभिड–१९ पछि सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको छ । यसलाई पुनः लयमा फर्काउन विभिन्न कामहरू पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र नेपाल सरकार मिलेर गरिरहेका छाैँ । विश्वमा झैँ नेपालमा पनि भ्याक्सिन आउन सुरु भएकाले सकारात्मक प्रभाव पर्ने विश्वास रहेको छ । अबको चरण आन्तरिक पर्यटकलाई देशभर घुम्न पठाउने नै हो । विदेशी पर्यटकको हकमा विभिन्न कामहरू भइरहेका छन् । अब आउने सिजनबाटै नेपालमा पर्यटक आउन सुरु हुनेछ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्ने र विश्वको पर्यटनको गतिविधि नियाल्ने र निर्णयहरू गर्दै जानेछौँ ।

दोस्रो चरण भनेको आन्तरिक पर्यटक प्रवर्द्धन गर्ने र सकेसम्म धेरै नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न पठाउने वातावरण बनाउने रहेको सिइओ रेग्मी बताउँछन् । त्यसैका लागि सरकारले ‘देश दर्शन’ कार्यक्रम ल्याउन लागेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए । सरकारी निकायदेखि कर्पोरेट हाउस, वित्तीय क्षेत्रका कर्मचारीलाई विशेष प्याकेज दिएर एकैपटक देशका सबै गन्तव्यमा समानुपातिक रूपमा घुम्न पठाउने योजना सरकारको छ । यसरी ३० लाख मानिसलाई योजनाबद्ध रूपमा आफ्नै देशका गन्तव्य घुम्न पठाउने योजना सरकारी निकायको छ । 

तेस्रो चरणमा विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको प्रचार गराएर आउने सिजनदेखि नै पर्यटक भित्र्याउने योजना छ । जसका लागि डिजिटल मार्केटिङलाई मुख्य प्राथमिकतामा राख्ने तयारी सरकारको छ । 

व्यवसायीलाई पनि अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा आत्मबल बढाउन सरकारले पहल गर्न आवश्यक रहेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । होटेल, एयरलाइन्स तथा अन्य पर्यटन क्षेत्रले आफ्ना प्याकेजहरू सार्वजनिक गरेर प्रवर्द्धन  गरिरहेको, तर सरकारको तवरबाट खास पहल नभएको उनको भनाइ छ । उनका अनुसार व्यवसायीहरूले स्वास्थ्य प्रोटोकल बनाएर कार्यान्वयन गरिरहेका छन् । जसमा होटेल, एयरलाइन्स, रेस्टुरेन्ट, ट्रेकिङ तथा आरोहण गराउने सबै व्यवसायीले प्रोटोकल कार्यान्वयनमा ल्याएका छन् । ‘व्यवसायीहरूले भारतीय, चिनियाँहरू तथा अन्य देशका आउँदा यसो गर्छौँ, भनेर प्रवर्द्धन गरिरहेका छाैँ,’ शाहले भने । यसमा सरकारले एकसूत्रमा बाँध्न नसकेको शाहले बताए । ‘पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले पहल गरिरहे पनि प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्बाट निर्णय गराएर स्वेतपत्र जारी गर्न आवश्यक छ,’ शाहले भने । आउने सिजनका लागि चीन, भारतबाट धेरै नै सोधखोज भइरहेकाले सरकारले विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।  

विश्वभरि पर्यटनको असर 
विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ७५ प्रतिशतले घटेको छ । विश्वभर करिब ९ देखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको छ । यता, अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आएटा)ले पनि विश्वभरका एयरलाइन्स कम्पनीमा पर्ने असरका प्रक्षेपणहरू गरिरहेको छ । दुवै क्षेत्रले गरेर सन् २०२० मा ९ देखि १२ खर्ब डलर गुमाएको अनुमान गरिएको छ । युएनडब्लुटिओले सन् २०२० पर्यटक आगमन र पर्यटन क्षेत्रमा पर्ने असरलाई शताब्दीकै खराब वर्ष भनेको छ । सन् २००९ मा विश्वभर आर्थिक मन्दी आउँदा पर्यटक आगमनदर ४ प्रतिशत मात्रै घटेको थियो । सन् २०२० मा समग्रमा ७० देखि ७५ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै एसिया प्रशान्त क्षेत्रमा ८२ प्रतिशतले गिरावट आएको छ ।  

अबको बाटो ? 
विश्वभर कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रयोगमा आएसँगै पर्यटन क्षेत्रको पुनरुत्थानमा बहसहरू हुन थालेका छन् । यतिवेला सबै घुमघाममा निस्कन चाहनेहरूको एउटै प्रश्न छ, कहिलेदेखि घुम्न सहज हुन्छ र कसरी ? धेरै देशमा भ्याक्सिनले सकारात्मक प्रभाव पारिरहेका वेला पुनः बेलायतमा नयाँ भाइरसको असरले युरोपका धेरै देशहरू प्रभावित भएका छन् । एसियालीहरू मुलुकहरू जापान र इजरायललगायत देश पनि पुनः लकडाउनमा फर्किएका छन् । यसको प्रभाव कतिसम्म पर्छ भन्ने अझै आकलन गर्न सकिने अवस्था छैन । भ्याक्सिन अन्तर्राष्ट्रिय पर्यटनका लागि गेम चेन्जर नै भए पनि सबै कुरा भ्याक्सिन मात्रै भने होइन । भ्याक्सिनपछि अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सुचारु भइरहेका छन् ।

मुख्य गरी डिजिटल ट्राभल पास र भ्याक्सिन पासपोर्टको व्यवस्था गर्न सके समस्या समाधान हुनेछ । कोही पनि कोहीसँग नछुने गरी ‘टचलेस ट्राभल’को अवधारणासमेत विश्वमा सुरु गरिएको छ । यता तापक्रम मापनको सधैँ क्वारेन्टाइनको व्यवस्थासमेत हटाउने गरी काम गर्न आवश्यक रहेको भन्दै नेगेटिभ रिपोर्ट आएकाहरूलाई विमानस्थलमै चेक गर्ने र घुम्न जाने व्यवस्था गराउन आवश्यक छ । ग्लोबल ट्राभल सप्लाई चेन निर्माण गरेर ‘सेभ ट्राभल्स’ स्ट्याम्प लगाउने व्यवस्था गर्न विश्वभरका विज्ञहरूले सुझाब दिइरहेका छन् ।