मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:४४:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : बागमती सेमिफाइनलनजिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:४४:००

बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलनजिक पुगेको छ । बागमतीले शुक्रबार भएको खेलमा प्रदेश २ लाई ६ विकेटले पराजित ग¥यो । 

प्रतियोगितामा बागमतीको यो लगातार तेस्रो जित हो । तीन खेलबाट ६ अंक बटुलेको बागमती समूह ‘बी’को शीर्ष स्थानमा छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तय गरेको थियो । जवाफमा बागमतीले ४८.२ ओभरमा मात्रै चार विकेट गुमाएर जित भेट्टायो । 

बागमतीको जितमा पृथ्यु बाँस्कोटाले फेरि उत्कृष्ट प्रदर्शन दिए । उनी ५३ रन जोडेर अविजित रहे । ७५ बलको सामना गरेका उनले एक छक्का र चार चौका प्रहार गरे । जारी प्रतियोगितामा यो उनको लगातार दोस्रो अर्धशतक हो । उनले यसअघि सुदूरपश्चिमविरुद्ध पनि ८४ रन प्रहार गरेका थिए । त्यसअघि पहिलो खेलमा नेपाल पुलिसविरुद्ध उनी ४८ रनमा अविजित थिए ।

चोट र विभिन्न कारणले लामो समय राष्ट्रिय टोलीबाहिर रहेका उनले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमनको सङ्केत गरेका छन् । उनीबाहेक विभत्सु थापाले ४७ र आकाश थापाले ३२ रनको योगदान दिए । 

प्रदेश २ का लागि नवौँ क्रमका खेलाडी विवेक यादवले ६६ रनको योगदान गर्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । माथिल्लो क्रमका खेलाडी एकपछि अर्काे सहज आउट भएपछि धर्मराएको प्रदेश २ को इनिङलाई विवेकले नै सम्हाल्ने प्रयास गरेका थिए । ७४ बलमा तीन–तीन छक्का र चौका प्रहार गरेका उनले खेललाई अन्तिम ओभरसम्म लम्ब्याउने प्रयास गरेका थिए । यद्यपि, निर्धारित ओभरको १० बल मात्रै बाँकी छँदा उनी रनआउट हुन पुगे । 

प्रदेश २ का लागि उनीबाहेक कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधीर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन जोडेका थिए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रदेश २ विरुद्ध बागमतीका गौतम केसीले सशक्त बलिङ प्रदर्शन गरे । उनी एक्लैले चार विकेट लिए । यस्तै, रामनरेश गिरीले दुई विकेट लिए । 


कर्णालीविरुद्ध प्रदेश १ विजयी
प्रतियोगिताअन्तर्गत प्रदेश १ ले पहिलो जित हात पारेको छ । प्रदेश १ ले कर्णाली प्रदेशमाथि ५९ रनको जित निकालेको हो । यद्यपि, यो जित उसका लागि प्रतियोगिताको सेमिफाइनल यात्राका लागि पर्याप्त हुनेछैन । चार खेलबाट मात्रै दुई अंक जोडेको प्रदेश १ यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले आफ्ना कप्तान सिद्धान्त लोहनीको सशक्त ब्याटिङको मद्दतमा निर्धारित ओभरमा नौ विकेट खर्चिएर दुई सय १५ रनको योगफल तय गरेको थियो । टोलीका लागि सिद्धान्तले ६६ रन जोडे । संयमित ब्याटिङ गरेका उनले आफ्नो इनिङमा नौ चौका प्रहार गरेका थिए । उनीबाहेक शुभांकर उरावले ३६, मिनास थापाले २५ र फिर्दाेष अन्सारीले १७ रन जोडे । 

जवाफी ब्याटिङमा आएको कर्णाली ३५ ओभरमा एक सय ५६ रनमै समेटिन पुगेको थियो । कर्णालीका लागि विपिन रावलले ४७ र निश्चल रावलले ३१ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । कर्णालीका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

कर्णालीविरुद्ध मिनास एक्लैले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडनसहित २६ रन खर्चिएका थिए । टोलीको जितमा अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ दी म्याच चुनिए । दीपेश कडोलले थप तीन विकेट लिए । हारका बाबजुद कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवित रहेको छ ।