मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फ्रैन्क एफ इस्लाम
२०७७ माघ ९ शुक्रबार ०९:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा आशाको नयाँ किरण

Read Time : > 2 मिनेट
फ्रैन्क एफ इस्लाम
२०७७ माघ ९ शुक्रबार ०९:१०:००

अमेरिकाको नेतृत्व अब त्यस्तो व्यक्तिको हातमा आइपुगेको छ, जो यी तमाम अप्ठेराहरू चिर्न सक्षम छ, यो सुखद पक्ष हो

अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडनले शपथ लिनु अमेरिकी इतिहासको सबैभन्दा दुःखद र कालो अध्यायको अन्त्यका साथ–साथै आशाले भरिएको नयाँ युगको सुरुवात पनि हो । पूर्वउप–राष्ट्रपति र पूर्वसिनेटर बाइडनले राष्ट्रपतिको पदभार सम्हालेलगत्तै अमेरिका मात्र होइन कि दुनियाँमै एउटा नयाँ बिहानी अपेक्षित छ । राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको प्रवृत्ति कुन हदसम्म विनाशकारी रह्यो भन्ने संसारभरिका सञ्चारमाध्यमले देखाइरहेकै छन् । ह्वाइट हाउसमा उनले बिताएका चार वर्ष निकै उतारचढावमय रहे । उदाहरणस्वरूप नश्लका विषयमा अमेरिकाले जे मानक र चेतना निर्माण गरेको थियो, ट्रम्पले एकपछि अर्को गर्दै त्यसलाई भत्काउँदै गए । 

आप्रवासनलाई उनले निकै नै हतोत्साहित गरे, जबकि गैरयुरोपियन देशबाट आएका मानिसले नै अमेरिकाको निर्माण गरेका थिए । पर्यावरणसँग जोडिएका एक सयभन्दा धेरै प्रावधान उनले खारेज गरिदिए । सञ्चारमाध्यमसहित देशका कैयौँ लोकतान्त्रिक संस्थामाथि उनले बारम्बार हमला गर्ने नीति लिए । अरू त अरू पेरिस सम्झौता, विश्व स्वास्थ्य संगठनजस्ता विश्वव्यापी सन्धि र संस्थाबाट उनले अमेरिकालाई बाहिर निकाल्ने काम गरे । र, अमेरिकाको विश्व नेतृत्वकर्ताको छविलाई खण्डित गरेर रुस र चीनजस्ता देशलाई त्यो शून्यतामा काम गर्ने अवसर दिए । ओबल अफिसबाट बिदाइ लिँदै गर्दासमेत उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनको नतिजालाई स्वीकार गरेनन् । आफ्ना पूर्ववर्तीहरूका विपरीत शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्नुपर्नेमा उनले आफ्ना समर्थकलाई विद्रोहका लागि पटक–पटक प्रेरित गरिरहे । संक्षिप्तमा भन्ने हो भने अमेरिकामा विभाजनको गहिरो रेखा कोरेर ट्रम्प बिदा भएका छन् । 

आफ्ना पूर्ववर्तीहरूका विपरीत शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्नुपर्नेमा ट्रम्पले आफ्ना समर्थकलाई विद्रोहका लागि पटक–पटक प्रेरित गरिरहे । संक्षिप्तमा भन्ने हो भने अमेरिकामा विभाजनको गहिरो रेखा कोरेर उनी बिदा भएका छन् ।

विभिन्न मुद्दाहरूलाई समाधान गर्ने मामिलामा पनि ट्रम्प अक्षम राष्ट्रपतिको शृंखलामा उभिनेछन् । कोभिड–१९ लाई सामना गर्ने कोणबाट उनको प्रशासनलाई नियाल्ने हो भने पनि उनी अक्षम नै दरिनेछन् । किनभने अमेरिकासँग अत्याधुनिक स्वास्थ्य संरचना हुँदाहुँदै पनि उनले यसको सही ढंगले प्रयोग र परिचालन गर्न सकेनन् । कोरोना संक्रमितको संख्या विश्वको दाँजोमा २५ प्रतिशतले धेरै दर्ज गरियो र मृत्यु पनि २० प्रतिशतभन्दा बढी यहीँ भयो । जबकि अमेरिकामा विश्वको जनसंख्याको जम्मा पाँच प्रतिशत अंश मात्र बसोवास गर्ने गर्छ । अमेरिकाको नेतृत्व अब त्यस्तो व्यक्तिको हातमा आइपुगेको छ, जो यी तमाम अप्ठेराहरू चिर्न सक्षम छ । यो अमेरिकी नागरिकका लागि सुखद पक्ष हो । 

आफ्नो निर्वाचन अभियानका क्रममा बाइडेनले के वाचा गरेका थिए भने उनी आफ्ना समर्थकको नेतृत्वकर्ता मात्र भएर होइन कि समग्र राष्ट्रको नेतृत्वकर्ता भएर आफ्नो भूमिका निर्वाह गर्नेछन् । निर्वाचनमा विजयी भएपछि उनले भनेका थिए– मेरो कार्यकाल अमेरिकी समाजमा बढेको खाडललाई पुर्नतर्फ केन्द्रित हुनेछ । यति मात्र होइन, ढुक्क हुने कुरा के हो भने अमेरिकी राष्ट्रपतिका रूपमा एकजना त्यस्ता व्यक्तिले सत्ताको नेतृत्व गर्दै छन्, जसले अमेरिकी संस्थाहरूमा विश्वास राख्ने गर्छन् । भलै त्यो न्यायपालिका होस्, वा विधायिका अथवा सञ्चारमाध्यम नै किन नहोस् । तथाकथित पुरातनपन्थी राष्ट्रपतिका विपरीत बाइडनले विद्यमान सबै परम्परालाई सम्मान गर्ने गरेका छन् ।

पछिल्ला चार वर्षसम्म ह्वाइट हाउस जवाफदेही नभई आफ्नो कार्यसम्पादनमा व्यस्त रह्यो । तर, बाइडनले स्पष्ट रूपमा भनेका छन्– उनको प्रशासन अन्तिमसम्म पनि जनताप्रति जवाफदेही हुनेछ । नयाँ प्रशासनसँग जनतालाई यसकारण पनि धेरै आशा छ, किनभने विभिन्न विभाग वा एजेन्सीका शीर्षको पदपूर्तिमा विविधता, विषयवस्तुको विशेषज्ञता र क्षमतालाई पूर्णरूपमा ध्यान दिइनेछ । नयाँ प्रशासनसँग के आशा गरिएको छ भने कोरोना भाइरस सुधार प्याकेज त जारी हुने नै छ साथै ट्रम्प प्रशासनले गरेका त्यस्ता विवादित आदेश पनि उल्ट्याइनेछ, जसले मुलुकको छविलाई धुमुल्याएको थियो । 

पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि सामेल हुनेछ । विश्व स्वास्थ्य संगठनको हिस्सा बन्नेछ र मुस्लिम देशहरूमा लगाइएको यात्रा प्रतिबन्ध रद्द गरिनेछ । साथै नयाँ प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ नियम पनि बनाउन सक्छ । उदाहरणका लागि मास्क लगाउनु अनिवार्य हुन सक्छ । कोभिड जाँचको दायरा बढ्न सक्छ र भाडा तिर्न नसकेकाहरूलाई उनीहरूको वासस्थानबाट निकालिनेछैन । 

(लेखक अमेरिका निवासी उद्यमी हुन्)
हिन्दुस्तानबाट