१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा सवा खर्बको कृषि वस्तु आयात

कृषिजन्य वस्तुको व्यापारमा नेपाललाई १ खर्बको घाटा, खपत बढ्यो, तर उत्पादन बढेन

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०८:४१:००

नेपालले पछिल्लो ६ महिनामा सवा १ खर्ब रुपैयाँबराबरको कृषि वस्तु आयात गरेको छ । बढ्दो खपतसँगै उत्पादन वृद्धि नभएपछि तरकारी, फलफूल, खाद्यान्नलगायत कृषि वस्तुमा नेपालको परनिर्भरता बढ्दै गएको हो । साउनदेखि पुस मसान्तसम्ममा नेपालले १ खर्ब ३० अर्ब रुपैयाँबराबरको कृषि वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा नेपालले २८ अर्ब ९३ करोड रुपैयाँबराबरको मात्रै कृषि वस्तु निर्यात गर्न सकेको छ । कृषि वस्तुको व्यापारमा नेपाललाई ६ महिनामै १ खर्ब १ अर्ब रुपैयाँबराबरको नोक्सान भएको देखिन्छ । नेपालले सबैभन्दा बढी गेडागुडी, बोसो तथा घिउ र तरकारी आयात गरेको देखिन्छ ।

त्यस्तै, फलफूल, तेलहन तथा बिउबिजन, चिनी र यसका उत्पादन, चिया तथा कफीलगायत कृषि वस्तुको आयात पनि ठूलो परिमाणमा भएको विभागको तथ्यांकले देखाउँछ । खपत बढ्दै जाँदा नेपालमा उत्पादन बढ्न नसकेका कारण कृषि वस्तुको आयात उच्च हुन पुगेको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । कृषिलाई आधुनिक तथा व्यावसायिक बनाएर उत्पादन बढाउँदै लगे मात्रै कृषिको परनिर्भरता घटाउन सकिने उनको भनाइ छ । 

 व्यापार घाटा ६ खर्ब पुग्यो
चालू आवको ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब रुपैयाँबराबर पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५.८० प्रतिशतले कमी हो । विभागका अनुसार पुस मसान्तसम्ममा नेपालले कुल ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँबराबरको वस्तु आयात गर्दा ६० अर्ब ७९ करोडबराबरको निर्यात गर्न सकेको छ । यस अवधिमा निर्यात ६.१४ प्रतिशतले बढ्दा आयात ४.८१ प्रतिशतले घटेको हो । 

 कृषिजन्यको हिस्सा २० प्रतिशत
नेपालको कुल आयातमा कृषिजन्य वस्तुको हिस्सा करिब २० प्रतिशत रहेको देखिन्छ । पुस मसान्तसम्मको तथ्यांकअनुसार ६ खर्ब ६१ अर्बको आयातमध्ये १ खर्ब ३० अर्ब रुपैयाँको कृषिजन्य वस्तु रहेका छन् । नेपालको कुल आयातमा कृषिजन्य वस्तुको हिस्सा २०–२२ प्रतिशतभन्दा बढी रहेको व्यापार तथा निकासी पर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणा बताउँछन् । आफैँले उत्पादन गर्न सक्ने वस्तुमा परनिर्भरता हुनु ठीक नभएको उनको भनाइ छ । अब आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रोत्साहन गर्ने कृषि वस्तु पर्वद्धनमा जोड दिनुपर्ने उनी बताउँछन् । 

आयात विस्थापन गर्ने कृषि वस्तु उत्पादनमा जोड दिनुपर्छ
शरदविक्रम राणा, कार्यकारी निर्देशक, व्यापार तथा निकासी पर्वद्धन​​​​​​​ केन्द्र

नेपालको कुल आयातमा कृषिजन्य वस्तुको हिस्सा २०–२२ प्रतिशतभन्दा बढी छ । गत आवमा १२ खर्बभन्दा बढीको कुल आयातमा २ खर्बजतिका कृषिजन्य वस्तु थिए । खासगरी आन्तरिक उत्पादन कम भएर र भएको उत्पादनको उचित बजारीकरण नगरेर कृषि वस्तुमा नेपालको परनिर्भरता बढेको हो ।

कृषिमा धेरै समस्या देखिएको छ, ठूलो बजेट पनि कृषिमा जान्छ, तर व्यापार घाटा पनि कृषिमै धेरै छ । अब आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रोत्साहन गर्ने कृषि वस्तु प्रवद्र्धनमा जोड दिनुपर्छ । अन्तरप्रदेशीय व्यापारलाई अगाडि बढाउनुपर्छ । हरेक प्रदेशको अध्ययन गरेर उत्पादन र खपतको सम्भावना र अवस्थालाई अध्ययन गरेर सुझाब पनि दिएका छौँ । त्यो पनि कार्यान्वयनमा ल्याउनुपर्छ । नेपालमै २ सय अर्बको कृषिजन्य वस्तुको बजार छ, यो बजारको उपयोग हामीले गर्नुपर्छ ।