Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमल शिशिर
२०७७ माघ ९ शुक्रबार ०८:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओलीवादको प्रतिवाद

Read Time : > 2 मिनेट
कमल शिशिर
२०७७ माघ ९ शुक्रबार ०८:०९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते नेपालको सार्वभौम प्रतिनिधिसभाको विघटन गरिदिएपश्चात् देश फेरि एकचोटि अस्थिरतामा हेलिएको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक तथा संवैधानिक उपलब्धिहरू यो विघटन प्रकरणसँगै गुम्ने खतरा बढेर गएको छ । संसद् विघटन सदर वा बदर दुवै अवस्थामा नेपालको राजनीति थप विद्रुप हुँदै जाने र नेपाल एउटा लामो अन्योलको सुरुङमा प्रवेश गर्ने सम्भावना यतिखेर देखिँदै छ । कारण र प्रभाव जे–जे भए या भनिए पनि एउटा व्यक्तिको सनकमा देशमा आन्तरिक विग्रहको अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ । 

तत्कालीन नेकपा एमालेभित्र लामो शक्तिसंघर्ष गरेर आएका केपी ओली राजनीतिका माहिर खेलाडी हुन् । परिवर्तनका पक्षमा उनको लगाव नभए पनि उनको कुटिल क्षमताले उनलाई पार्टीभित्रको उच्च स्थानमा पुर्‍याएकै हो । प्रधानमन्त्री ओलीलाई परिस्थितिले महान् राजनेता बनाउन खोजेको थियो, तर उनको सत्तान्ध दृष्टिले उनलाई राजनेतामा त स्थापित हुन दिएन नै, कहिल्यै नमेटिने कलंकको दाग भने लगाइदियो । ओलीले जति नै प्रस्टीकरण दिऊन्, संसद् विघटन गर्ने उनको कदम सधैँ खेदपूर्ण रहनेछ । यसलाई उनले जायज, मुनासिबको कदम ठहर्‍याउन कहिल्यै सक्नेछैनन् । 

समाजले हरेक विशेष परिस्थितिमा आफ्नो नायक खोजिरहेको हुन्छ । ०७२ सालमा नेपाली जनताले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नुप‍र्‍यो । भूकम्पले भौतिक संरचना मात्र भत्काएन, मान्छेको मनोदशा पनि नराम्रोसँग बिथोलिदिएको थियो । नेपाली जनता भूकम्पको सन्त्रासमा डराएर खुला आकाशमुनि जीवन निर्वाह गर्न बाध्य भइरहेका बखत भारतले नाकाबन्दी लगाएर नेपाललाई चीनप्रति आशावादी हुन बाध्य बनाइदियो । त्यही भावनाको जगमा ओलीको राष्ट्रवादले छलाङ मार्दै झन्डै दुईतिहाइको बहुमतसहितको सत्तारोहण सम्भव गराएको थियो । तर, उनको छद्म राष्ट्रवाद अहिले घुम्दैफिर्दै फेरि दक्षिणाभिमुख भएर नांगै घोप्टिएको छ । 

प्रधानमन्त्री ओलीलाई परिस्थितिले महान् राजनेता बनाउन खोजेको थियो, तर उनको सत्तान्ध दृष्टिले उनलाई राजनेतामा त स्थापित हुन दिएन नै, कहिल्यै नमेटिने कलंकको दाग भने लगाइदियो

छिमेकी देशहरूको पिछडापन, देशभित्रका आन्तरिक कलह, नेता र नेतृत्वको दूरदर्शी सोचको अभाव, आफ्नो निर्णय आफैँले गर्न नसक्ने अवस्थाको फाइदा उठाउँदै भारतले नेपालमा आफ्नो अतिशय प्रभुत्व जमाइरहेको कुरा जगजाहेरै छ । भारतले नेपालमा आफ्नो रुचिअनुसार संविधान जारी नभएपछि नाकाबन्दी लगाएर भारतनिर्भर हाम्रो अर्थतन्त्र चौपट बनाउन खोज्यो । यसबाट जनतामा बढेर गएको आक्रोशको मनोविज्ञानलाई चतुर्‍याइँका साथ केपी ओलीले क्यास गरेर जनमत बटुलेकै हुन् ।

यही भावनाका बलमा वामपन्थी विचारधारा प्रबल रहेको नेपाली समाजले झन्डै दुईतिहाइको बहुमत दिएर एमाले, माओवादीको गठबन्धनलाई विजयी बनायो । त्यही चुनावी परिणाममा व्यक्त जनभावनाअनुसार संविधानमा लेखिएको समाजवादतर्फको यात्रामा अग्रसर हुन भन्दै केपी ओली र प्रचण्डले हठात् ०७५ जेठ ३ मा पार्टी एकताको घोषणा गरे । आन्दोलन र जुझारु क्रान्तिकारी कार्यकर्तालाई पाखा लगाएर विनाकुनै एजेन्डा, नीति र सिद्धान्त, विनाकुनै छलफल र बहस ७० र ३० को भागबन्डामा माओवादी आन्दोलनको विसर्जन गरेर अन्योलपूर्ण भेलमा मिसाइयो, जसले आज माओवादी र एमाले दुवैको सत्यानाश गरिदिएको छ । 

पार्टीमा जायज सिद्धान्तपरक छलफल, बहस र आन्तरिक संघर्षहरू आवश्यक रहन्छन् । त्यसले वैचारिक र प्रस्ट कार्यदिशा भएको पार्टी सञ्चालनमा मद्दत नै गर्छ । तर, नेकपाको एकता घोषणा भएकै दिनदेखि नै पद, प्रतिष्ठाको लडाइँ प्रधान भएर गएको थियो । बहुमत नआएको दुई नम्बर प्रदेशबाहेक आफूले नेतृत्व गरेको दलको तीनै तहमा सघन बहुमतका साथ सरकारहरू सञ्चालनमा रहे पनि कुनै पनि सरकारले अपेक्षित काम गर्न सकेनन् । देशमा विद्यमान थुप्रै समस्या ज्युँकात्युँ छाडेर प्रधानमन्त्री हास्यविनोदपूर्ण योजना सुनाउनै व्यस्त रहे । नेपाली राजनीतिमा केपी ओलीको पदार्पण आमजनताका लागि दुर्भाग्य बन्यो । उनी खासमा ब्राह्मणवादी, एकात्मक र हिन्दू चारित्रिक विशेषता बोक्ने पात्र हुन् । कम्तीमा उनका पछिल्ला गतिविधिले त यही नै पुष्टि गर्छ । उनी अहिले पनि परिवर्तनका पक्षमा, जनतालाई अधिकार दिने पक्षमा छैनन् । उनलाई राम मन्दिर बनाउनु छ, अग्ला भ्युटावर बनाउनु छ । किनकि, दुःखी उत्पीडित जनता उनको प्राथमिकतामा छैनन् । 

द्रुत गतिको रेल, घरघरमा ग्यासको पाइप, समुद्र नभएर के भो आफ्नै ठूला जहाजमा सामान ल्याउन पाइने सपना, भ्रष्टाचारीप्रति हदैसम्मको कठोर हुने वाचा, समृद्ध नेपाल सुखी नेपालीको नारा दिएर उनले जनतालाई नराम्ररी छक्याइदिएका छन् । उनको यो छद्म रूप संसद् विघटनको प्रकरणसम्म आइपुग्दा उदांगिसकेको छ । नेपाली जनताले नेकपाको नेतृत्वमा सजाएको समृद्धिको सपना एकाएक टुटेको छ । जनतामा टुटेको विश्वास जोडिने सम्भावनाका त्यान्द्रासम्म पनि अहिले दृष्टिगोचर छैन । यसले नेपाली कम्युनिस्ट आन्दोलनको दुःखद अवसानको संकेत गर्दै छ । यो घडीमा दुस्साहसी शासकको प्रतिगामी कदममा लगाम लगाउनु प्रतेक सचेत नागरिकको कर्तव्य हुन्छ । सत्तालोलुप भारदारहरू त फेरि पनि महाराजकै जयजयकारमा हुन्छन् नै ।