Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ असारमा चीन भ्रमणका क्रममा बेइजिङ विमानस्थलमा प्रधानमन्त्री केपी ओली । उनी हिमालय एयरलाइन्सको विमान चार्टर गरी चीन भ्रमणमा गएका थिए । फाइल तस्बिर
केदार दाहाल काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:१९:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

वायुसेवा निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोसेर हिमालयलाई दिने तयारी फेरि थालियो

Read Time : > 4 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:१९:००

गत असोजमा नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’को प्रमाणपत्र जारी गरेको थियो, त्यसको तीव्र विरोध भएपछि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले प्रक्रिया स्थगन गरेका थिए, तर नयाँ मन्त्रीका रूपमा भानुभक्त ढकाल भित्रिएलगत्तै सो प्रक्रिया पनि ब्युँतिएको छ

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट व्यापार खोसेर हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिने तयारी फेरि थालिएको छ । गत ४ असोजमा हिमालय एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको थियो । प्रमाणपत्र जारी गरेलगत्तै व्यापक विरोध भएपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो प्रमाणपत्र फिर्ता गर्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा पर्यटनमन्त्री भानुभक्त ढकालले प्राधिकरणलाई सो प्रक्रिया पुनः सुरु गराउन दबाब दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले लिँदै आएको छ । तर, कोभिड–१९ को संकटको समयमा राष्ट्रिय ध्वजाबाहक निगमलाई असर पर्ने गरी ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार नै नभएको हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिन लागेको हो । निगमले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा एयरलाइन्सले उडान गर्छन् । त्यसमध्ये थाई एयरवेज, एयर इन्डियाले विगत ४० वर्षदेखि नै आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । तर, अन्य कुनै पनि एयरलाइन्सलाई सरकारले ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएको छैन । ग्राउन्ड ह्यान्डलिङसम्बन्धी पूर्वाधारमा निगमले अर्बौँ लगानी गरिसकेको छ भने उसको आयको मुख्य स्रोत नै यही व्यवसाय हो । तर, निगमलाई धराशायी बनाउने र दीर्घकालमा यससम्बन्धी सम्पूर्ण काम नै यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई दिने गरी अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिन लागिएको नेपाल नागरिक उड्ययन स्रोतले नयाँ पत्रिकालाई बतायो । 

दैनिक पाँच अर्थात् सातामा ३५ उडान गर्ने एयरलाइन्सलाई आफैँ ह्यान्डलिङ गर्न पाउने निर्देशिकाको व्यवस्थाअनुसार हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले दाबी गरे । ‘निर्देशिकाअनुसार नै हिमालयलाई अनुमति दिइएकोे हो, प्रमाणपत्र असोजमा पाइसकेकाले अब पूर्वाधार खडा गरेपछि अर्को सम्झौता हुने हो, त्यो सम्झौता भएको छैन,’ प्रवक्ता क्षत्रीले भने । 

वायुयानहरूको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका– २०७२ अनुसार निर्णय गरिएको भन्दै अनुमति जारी गरिएको थियो । हिमालयले विभिन्न इक्युपमेन्टसहित ५ लाख डलर धरौटी राखेपछि बल्ल सम्झौता भएर आफैँ ह्यान्डलिङ गर्न थाल्ने भएकाले अझै धेरै समय लाग्ने प्रवक्ता क्षत्री बताउँछन् । तर, सम्बद्ध स्रोतका अनुसार हिमालयले ग्राउन्ड ह्यान्डलिङका लागि कर्मचारी नियुक्तिदेखि तालिम दिनसमेत थालेको छ । ‘४० वर्षयता अन्य कुनै विमान कम्पनीलाई आफैँ ग्राउन्ड ह्यान्डलिङ दिनुनपर्ने, निगमले राम्रै सेवा दिइरहेको थियो, अहिले यो संकटमा जारी गर्नुले सरकार सार्वजनिक संस्थाप्रति अनुदार रहेको प्रस्ट देखिन्छ,’ प्राधिकरणकै एक उच्च अधिकारीले भने ।  

निगमले ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त हुने आम्दानीको १५ प्रतिशत प्राधिकरणलाई दिने गरेको छ । हिमालय आफैँले त्यो काम गर्दा प्राधिकरणको आम्दानी पनि खोसिनेछ । हिमालयलाई मात्रै दिँदा पनि प्राधिकरणको झन्डै १० करोड आम्दानी गुम्नेछ । वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले निगमको बिजनेस खोस्ने गरी कुनै पनि कम्पनीलाई ह्यान्डलिङको जिम्मा दिए मान्य नहुने बताए । ‘निगमको मुख्य आय नै ग्राउन्ड ह्यान्डलिङ हो, हामीले पूर्वाधार राख्ने अनुमति माग्दा पाएका छैनौँ, २८ वटैले आफँै गर्छु भने भने के हुन्छ ?’ पौडेलले भने । 

यता भैरहवा र पोखरा विमानस्थलमा निगमलाई ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार खडा गर्न प्राधिकरणले निर्देशन दिइसकेको छ । ‘दुवै विमानस्थलमा अहिले नै धेरै उडान हुनेछैन, कम्तीमा पाँच वर्ष घाटामा निगमको ह्यान्डलिङ जानेछ,’ पौडेलले भने । यता नाफाको सेक्टरमा कटौती गर्ने, उता दुई विमानस्थलमा निगमले अर्बौँ लगानी गर्दै जाने भयो भने समस्या आउनेसमेत पौडेल बताउँछन् । 

प्रधानमन्त्री ओलीको आशीर्वादले सधैँ फाइदा 
पहिलोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लत्याउँदै उडान अनुमति नै नपाएको हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । ६ चैत ०७३ मा चीन भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले उडान सुरु गराउन आफैँ चार्टर गरेका थिए । १ सय ५८ भन्दा बढी क्षमताको उक्त जहाजमा प्रधानमन्त्रीसहित ५६ जनाको टोली चैत ६ गते नै चीन गएको थियो ।  

२०७१ बाट सुरु भएको हिमालय एयरलाइन्समा सुरुमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट, यती वल्र्ड इन्भेस्टमेन्ट र तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो । कम्पनीमा एचआइएफ एभिएसन इन्भेस्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनीको मुख्य लगानी रहने सम्झौतासमेत भएको थियो । एचआइएफ एभिएसनका अध्यक्ष पृथ्वीबहादुर पाँडे, यती इन्भेस्टमेन्टका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पा र तिब्बत एयरलाइन्सका अध्यक्ष छेङ यिरु थिए । 

२ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको हिमालय एयरलाइन्स कम्पनीमा चुक्ता पुँजीको ५१ प्रतिशत सेयर नेपाली कम्पनी यती वल्र्ड र एचआइएफसँग र ४९ प्रतिशत सेयर तिब्बत एयरलाइन्ससँग हुने सम्झौता थियो । ०७१ कात्तिक ११ बाट उडान सुरु हुने घोषणासमेत भएको थियो । समयमा उडान सुरु पनि नभएको र यती समूहले तिब्बत एयरलाइन्ससँग मिलेर पाँडे समूहलाई सेयर थोरै दिने योजना बनाएपछि पाँडे समूह उडान सुरु नगर्दै बाहिरिएको थियो । 

सञ्चालनमा आएको तीन वर्षमै चिनियाँ लगानीकर्ता फेरिए
यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता तीन वर्षमै फेरेको थियो । कम्पनीमा रहेको तिब्बत एयरलाइन्सको ४९ प्रतिशत हिस्सा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्टलाई बिक्री गरिएको थियो । तिब्बत एयरलाइन्सले सेयर बिक्री गरेर तिब्बत सिभिलको स्वामित्वमा गत वर्ष ल्याइएको छ । कम्पनी फेरिएसँगै कम्पनीको लोगोसमेत परिवर्तन गरेको थियो । 

दोस्रो लाइसेन्सबाट पनि अन्तर्राष्ट्रिय उडानको तयारी 
हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय लाइसेन्स दिएको थियो । लाइसेन्स पाएलगत्तै यती समूहले नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति प्रमाणपत्र (एओसी)का लागि आवेदन दिएको छ । ०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो । जुन लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा ०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो । हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै नाममा रहेको छ । सोही समूहको यती एयरलाइन्सलाई पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर उडानको लाइसेन्स जारी गरेको थियो । 

पर्यटन मन्त्रालयले गत वैशाख १७ गते अन्तर्राष्ट्रिय उडानका लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो । यतीले २९ जेठमा आवेदन दिएको थियो । पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ । सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको थियो । कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने विषयमा भने उल्लेख गरिएको थिएन । यती एयरलाइन्सलाई सरकारले ‘ग’ वर्गको लाइसेन्स दिएको हो । सरकारले तयार पारेको कार्यविधि प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न १ अर्ब रुपैयाँ, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड रुपैयाँ र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरिएको छ । 

फरक–फरक नामबाट अनुमति
०५५ सालमा यती एयरवेजका नाममा लाइसेन्स लिएर आन्तरिक उडान सुरु गरेको थियो । उडान सुरु भएको चार वर्षमै ०५९ मा यती एयरवेजको नाम परिवर्तन गरेर यती एयरलाइन्स बनाएको थियो । यती समूहले हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ०६४ मा पर्यटनमन्त्री भएको समयमा फ्लाई यतीको नाममा अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएको थियो । सोही वर्ष यती समूहले फ्लाई यती र एयर अरेबियासँगको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर, संयुक्त लगानी एक वर्ष पनि टिक्न सकेन । एयर अरेबिया यती समूहबाट बाहिरियो । सोही फ्लाई यती नामको लाइसेन्स ०७१ मा परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएको थियो । सोही लाइसेन्सबाटै तिब्बत एयरलाइन्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । जुन अहिलेसम्म पनि जारी छ ।

यती समूहले ०६६ मा यती हंसको नाममा नयाँ लाइसेन्स लिएको थियो । जुन डोमेस्टिक उडानका लागि थियो । पछि पुनः नाम परिवर्तन गरेर यती एयरलाइन्स डोमेस्टिकको नाम बनायो । सोही वर्ष भगिनी संस्था तारा एयर छुट्टै कम्पनी खडा गरेको थियो । सोहीबाट अहिले पनि यती र तारा दुवै नामबाट आन्तरिक उडान गर्दै आएको छ । पछि ०६९ मा यती एयरलाइन्स डोमेस्टिकलाई परिवर्तन गरेर यती एयरलाइन्स मात्रै नाम राखिएको थियो । यती समूहले अहिले सोही पुरानो यती एयरलाइन्स डोमेस्टिकबाट अन्तर्राष्ट्रिय लाइसेन्स लिन लागेको हो ।

लेखा समितिले विवरण माग्दा लुकाइयो

गत कात्तिकमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ जिम्मा दिने निर्णय गरेकोमा संसद्को सार्वजनिक लेखासमितिले चासो दिँदै विवरण माग गरेको थियो । लेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्णयको सबै विवरण पेस गर्न परिपत्र गरेको थियो । तर, मन्त्रालयले भने निर्णय फिर्ता भइसकेको बताउँदै विवरण उपलब्ध गराउनुनपर्ने पत्र पठाएको थियो । संसद् विघटनपछि स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर पर्यटनमन्त्री बनेका भानुभक्त ढकालले ग्राउन्ड ह्यान्डलिङ पुनः हिमालयलाई नै दिन प्राधिकरण नेतृत्वलाई निर्देशन दिएको पाइएको छ ।