मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : गण्डकी बाहिरियो, आर्मी सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:१५:००

गण्डकी प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा विभागीय टोली एपिएफसँग ६ विकेटले पराजित भएसँगै गण्डकीको यात्रा समूहगत चरणमै रोकिएको हो । प्रतियोगितामा गण्डकीको यो तेस्रो पराजय हो । 

यही नतिजापछि बिहीबार मैदानबाहिरै रहेको त्रिभुवन आर्मी क्लब भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहमा अन्तिम एक खेल खेल्न बाँकी नै रहेको आर्मीले तीन खेलबाट ६ अंक बटुलेको छ । अरू टोलीले बाँकी सबै खेलमा जित हात पार्दा पनि आर्मीलाई रोक्न सक्ने छैन । 

लगातार दोस्रो जित हात पारेको एपिएफको पनि सेमिफाइनल सम्भावना बलियो बनेको छ । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकी ४६औँ ओभरमा एक सय ६ रनको सामान्य योगफलमै रोकिएको थियो । एपिएफले १७.३ ओभरमा मात्रै चार विकेट गुमाएर जित भेट्टाएको हो । 

एपिएफको जितमा आशिफ शेखले ७८ रनको महत्वपूर्ण योगदान दिए । ५६ बल खेलेका उनले ६ छक्का र पाँच चौका प्रहार गरे । सुमित महर्जनले १८ रन थपे ।

त्यसअघि गण्डकीका लागि समीरले ३६ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । विष्णु पाण्डे र दीपेश खत्रीले समान १५ रन जोडे । दिनेश बुढामगरले थप १२ रन थप्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

गण्डकीलाई सस्तो योगफलमै रोक्न एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले तीन मेडनसहित मात्रै ११ रन मात्रै खर्चिएका थिए । टोलीको जितमा महत्वपूर्ण योगदान दिएका कमल नै म्यान अफ दी म्याच चुनिए । अभिनाश बोहरा र शरद भेषवाकरले समान दुई विकेट लिए । 


सुनीलको शतक
सुनील धमलाको शतकीय योगदानमा नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशमाथि ७४ रनको ठूलो अन्तरको जित हात पारेको छ । टोलीको यो जितमा सुनीलले एक सय चार रनको शतकीय योगदान गरे । उनकै प्रदर्शनमा त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा मात्रै चार विकेट गुमाएर तीन सय १० रनको ठूलो योगफल तय गरेको थियो । 

निक्कै संयमित ब्याटिङ गरेका सुनीलले एक छक्का र सात चौका प्रहार गरेका थिए । उनीबाहेक दीपेन्द्रसिंह ऐरीले ८५ र पवन सर्राफले अविजित ५० रनको अर्धशतकीय योगदान दिए । आरिफ शेख २९ रनमा अविजित रहँदा अमित श्रेष्ठले २८ रन जोडे ।

जवाफी ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ३६ रन मात्रै जोड्न सक्यो । लुम्बिनीका लागि सौरभ खनालले ६० बलमा ७४ रनको योगदान दिए । उनको योगदान टोलीलाई जिततर्फ डोहो¥याउन सम्भव भएन । 

कप्तान कृष्ण कार्की ४० रनमा अविजित रहँदा सन्दीप रजालीले पनि ४० रननै जोडे । देव खनालले ४९ र राजवीर सिंहले २४ रन जोडे । पुलिसका रासिद खान र पवन सर्राफले लुम्बिनीको दुई–दुई विकेट लिए ।