१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाज अटो विश्वकै सर्वाधिक मूल्यवान् दुईपांग्रे सवारी कम्पनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार ०६:४०:००

बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रूपमा पहिलो दुईपांग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य बुधबार एनएसईमा प्रतिसेयर ५ हजार ५ सय ६६ रुपैयाँ ४० पैसा पुगेर बजार पुँजीकरण १६ खर्ब १० अर्ब ७३ करोड २१ लाख ६० हजार रुपैयाँमा पुगेको हो । 

बजाज अटोले सञ्चालनको ७५औँ वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको जनाएको छ । विश्लेषकका अनुसार योभन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुईपांग्रे सवारी कम्पनीले १६ खर्ब रुपैयाँभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैन ।

बजाज अटोको यात्रा भारतमा ७५ वर्षपहिले सुरू भएको र आज यसका पल्सर, बक्सर, प्लेटिना र आरईजस्ता ब्रान्ड विश्वका ७० भन्दा बढी देशमा लोकप्रिय रहेको कम्पनीले दाबी गरेको छ । यो वर्ष थाइल्यान्डमा प्रवेश गरेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसँगै विश्व बजारमा लगातार विस्तार भइरहेको कम्पनीको दाबी छ । 

बजाज अटोको अस्ट्रियाको केटिएम एजीसँग साझेदारी छ । यस साझेदारीले केटिएमलाई प्रिमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको कम्पनीले जनाएको छ । आइकोनिक केटिएम र हस्कवर्ना दायराका धेरै मोडेल बजाज र केटिएमले संयुक्त रूपमा डिजाइन गरेको कम्पनीले जनाएको छ । 

उपलब्धिका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, ‘मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टिपिएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान् दुईपांग्रे सवारी कम्पनी बनाएको छ ।’ यसले अझ बढी सेवा प्रदान गर्न र विश्वभरिका ग्राहकलाई खुसी पार्न प्रेरित गरेको उनको भनाइ छ ।