१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
थोमस एल. फ्राइडम्यान
२०७७ माघ ८ बिहीबार ०८:५८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वको अन्त्य

Read Time : > 3 मिनेट
थोमस एल. फ्राइडम्यान
२०७७ माघ ८ बिहीबार ०८:५८:००

डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वको अन्त्यसँगै एक प्रयोगको अन्त्य भएको छ 

हामीले डोनाल्ड ट्रम्पको चार वर्षको राष्ट्रपतित्व पार गरेका छौँ । यो चार वर्षमा सम्पूर्ण अमेरिका एक विशाल तातिएको वाष्प इन्जिनमा परिणत भएजस्तो लाग्थ्यो । क्यापिटल हिलमा अघिल्लो हप्ता जे देखियो, त्यो खासमा पछिल्लो चार वर्षको क्षयको प्रस्फूटन थियो । यो देशमा जे जति नराम्रो भइरहेको थियो, त्यसबाट समाज नै विखण्डित हुन सुरु भएको संकेत थियो । पछिल्लो चुनावमा ह्वाइट हाउसबाट डोनाल्ड जे ट्रम्पको बहिर्गमन र उनका समर्थकहरूको सिनेटमा शक्ति क्षीण सुनिश्चित भएको छ । तर, ट्रम्पको शासनले अमेरिकाको सार्वजनिक जीवन, संस्थान तथा मानसिकतामा कति धेरै क्षति पुर्‍याएको भन्ने तत्कालै थाहा हुने स्थिति छैन । यो एउटा भयानक प्रयोग थियो । 

ट्रम्पले राम्रो काम गर्दै नगरेका पनि होइनन् । तर, त्यति कामका लागि देशले आधुनिक इतिहासकै सबैभन्दा बढी विभाजन, समस्या र षड्यन्त्रवादी सिद्धान्तको महोल भोग्नु मा डुब्नु बढी नै मूल्य हो । अहिले ट्रम्प बाहिरिएपछि अमेरिकाको सामु आफूलाई जोड्ने एकताको सूत्रमा पुनर्विचार गर्ने अवसर आएको छ ।

ट्रम्पको कार्यकालमा देश प्रत्येक वर्ष थप अधोगतिमा गइरह्यो । अधोगतिमा जाने यही कीर्तिमान बन्दै जानु मलाई उनको शासनको सबैभन्दा रोचक पक्ष लाग्छ । प्रत्येक वर्ष ट्रम्पले आमप्रचलनलाई तोडे र झुटको नयाँ उचाइ खडा गरे । यसबाट उनी मात्र होइन, उनका आसेपासेसमेत बदनाम हुँदै गए । यस अवधिमा ट्रम्पले कहिले पनि करुणा, आत्मसमीक्षा तथा विपक्षीसँग अन्तरक्रियाजस्ता सकारात्मक गुणले हामीलाई चकित पारेनन् । 

ट्रम्पले विगत चार वर्षमा प्रदर्शन नगरेका सकारात्मक गुणले नै मेलमिलापको विकास गर्न सघाउँछ । सुखद वातावरणका लागि हामी सबैले र विशेषतः राजनीतिज्ञ मिडियाकर्मी र अभियन्ताले करुणा, आत्मसमीक्षा र फरक विचार भएकासँग पनि संवाद गर्ने गुणलाई अंगीकार गर्नुपर्छ । तर, पछिल्लो समय राजनीति र कूटनीतिमा यी गुणलाई महत्व दिन छाडिएको छ । तर, तिनले नै निराशाको बन्धनलाई तोड्न सघाउँछ र अहिलेका संकुचनलाई फैलाउँछ । तिनले भविष्य नियति नभएर हाम्रो छनोटको योग भएको कुरातर्फ पनि इंगित गर्छ । 

अहिले पनि अनवर अल–सदातको इजरायल भ्रमणको मिठो सम्झना मेरो दिमागमा ताजा छ । सदातले आफूले चरम शत्रु मानेको देशको भ्रमण गरेर विश्वलाई चकित पारेका थिए । इजरायल पुगेर उनले आफू शान्ति निर्माणका लागि तयार रहेको सन्देश दिएका थिए । पछिल्लो समय इजरायल र युएईबीचको सम्बन्ध सुधारमा ट्रम्प र जेर्ड कस्नरले महत्वपूर्ण भूमिका खेले । मैले त्यस प्रयासका लागि न्युयोर्क टाइम्समा सम्झौताको प्रशंसा गर्दै लेख लेखेँ । केही दिनपछि मेरो फोनमा एक घन्टी बज्यो । फोन राष्ट्रपति ट्रम्पको थियो । फोनमा उनले मलाई भने, ‘न्युयोर्क टाइम्सले तपाईंको त्यति राम्रो लेख छाप्न दिएछ ।’ खासमा न्युयोर्क टाइम्सले मलाई के लेख्ने के नलेख्ने भन्दैन । यहाँ छापिने लेख म आफैँले रोजेको हुन्छु भन्ने सुन्दा उनी छक्क परे । एकछिनलाई भए पनि उनमा म र मेरो पत्रिकाबारे पुनर्विचार गर्ने स्थिति आयो । 

ट्रम्पले पर्यावरण र आप्रवासनजस्ता मुद्दामा पनि उनको मूल चरित्र त्यागेको भए मैले तिनको पनि प्रशंसा गर्ने थिएँ । करुणा, आत्मसमीक्षा र फरक मत राख्नेहरूसँग संवाद गर्नेजस्ता नेताका गुणले धेरैलाई चकित बनाउँछ । रिपब्लिकन नेता मिट रोम्नीले पटक–पटक पार्टी र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ र संविधानलाई महत्व दिएर हामीलाई आश्चर्यमा पार्ने गरेका छन् । त्यस्तै, मे महिनामा प्रहरीको हातबाट जर्ज फ्लोयडको मृत्यु भएपछि हिंसाका लागि उद्यत प्रदर्शनकारीहरूको भीडलाई र्‍यापर किलर माइकले शान्त पार्न भनेका कुराले पनि म आश्चर्यचकित भएँ । हिंसामा उत्रन तयार जनसंख्यालाई सम्बोधन गर्दै र्‍यापर माइकले भनेका थिए, ‘शत्रुको रिसले आफ्नो घर जलाउनु हाम्रो कर्तव्यभित्र पर्दैन । अहिले योजना बनाउने, रणनीति बनाउने, संगठित हुने र परिचालित हुने समय हो । हामीले आफूलाई मन नपरेकाहरूलाई मतपत्रमार्फत हराऔँ ।’ 

जो बाइडेनले अमेरिकी राजनीतिमा करुणा र मेलमिलापजस्ता गुण फिर्ता गर्ने वाचा गरेका छन् । हामीले उनलाई एकपटक भने पनि हामीलाई आश्चर्य पार्ने अवसर दिनुपर्छ । अब अमेरिकी व्यवसायीहरूले पनि रुपर्ट मर्डक र ल्याक्लन मर्डकलाई तिनको मिडिया सञ्जालले फैलाएका झुटका कारण क्यापिटलमा आक्रमण हुने स्थिति आएको भनेर हामीलाई चकित पारून् । अब तिनले षड्यन्त्र सिद्धान्त फैलाउने कुनै पनि कार्यक्रममा विज्ञापन नदिने स्पष्ट बताउन सक्नुपर्छ । मार्क जुकरबर्ग र सेरिल स्यान्डबर्गले नाफाको लोभमा फुट फैलाउने समाचारलाई प्रवर्द्धन गर्न छाडेर आधिकारिक समाचार स्रोतलाई बढावा दिएर हामीलाई चकित बनाऊन् । 

अब ट्रम्पको विभाजनकारी राजनीतिको दिनको अन्त्य भएकाले अमेरिकी सञ्चारमध्यममा संलग्न हामी सबैले समाचार र विचार खण्डबाट अलग राख्न थाल्नुपर्छ । आगामी दिनमा सबै खालको राजनीतिक पक्षका अमेरिकीको गन्तव्य हुने धेरैभन्दा धेरै माध्यम निर्माण गर्नुपर्छ । आक्रोश पोख्ने, पोलिटिक करेक्टनेस खोज्ने काम विचार खण्डलाई नै दिँदा उचित हुन्छ । 

सुरुदेखि बाइडेनविरुद्ध आलोचनामा उत्रिनुभन्दा केही समय देशलाई पार्टीभन्दा अग्रस्थानमा राख्ने उनको वाचालाई हेर्नुपर्छ । बुधबार बाइडेनले राष्ट्रपतिको पदका लागि शपथ खाने क्रममा देश र संविधान रक्षा गर्ने शपथ खाइरहँदा सम्पूर्ण अमेरिकीले पनि मनमनै सोही शपथलाई मनन गर्न सक्ने हो भने अमेरिकालाई सिकिस्त बनाएको ज्वरोको उपचार खोज्न सकिन्छ । त्यो आफैँमा सुखद आश्चर्य हुनेछैन त ? 

थोमस एल. फ्राइडम्यान न्युयोर्क टाइम्सका स्तम्भकार हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य