१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ८ बिहीबार ०७:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणगढ-मुग्लिन सडक विस्तारपछि दुर्घटनामा कमी

Read Time : > 1 मिनेट
२०७७ माघ ८ बिहीबार ०७:५९:००

नारायणगढ–मुग्लिन सडक विस्तार भएपछि दुर्घटना संख्यामा कमी आएको छ । सडक साँघुरो र भत्किएको हुँदा दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट चारजनाको मृत्यु र ४४ जना घाइते भए ।

सडक विस्तार सम्पन्न भएको वर्ष यस सडकमा दुर्घटना अत्यधिक भएको थियो । यस सडकमा आव ०७५/७६ मा ५५ वटा दुर्घटना भएका थिए, जसमा २८ जनाले ज्यान गुमाए । १८७ जना घाइते भए । त्यसपछि आव ०७६/७७ मा ५७ वटा दुर्घटना भए । दुर्घटनाबाट २४ जनाको ज्यान गयो भने १४४ जना घाइते भए । 

सडक विस्तार हुनुअघि आव ०७३/७४ मा ३०२ दुर्घटना हुँदा १७० जनाको मृत्यु भएको थियो । ८९ जना घाइते भएका थिए । त्यसपछिको आव ०७४/७५ मा चार सयवटा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । सडक विस्तारका क्रममा नागरिकले उस्तै सास्ती व्यहोर्नुपरेको थियो । 

सडक विस्तारपछि नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा कमी आएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । ‘सडक बनेपछि दुर्घटना र मृत्यु कम भएको छ,’ कोइरालाले बुधबार पत्रकार सम्मेलन गरी भने, ‘फराकिलो र राम्रो सडक भयो भने दुर्घटना कम हुने रहेछ भन्ने यो उदाहरण हो ।’
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहतको १० जिल्लामा गत आव ०७६/७७ मा भन्दा यस आव ०७७/७८ मा दुर्घटनामा कमी आएको छ । कार्यालयमातहत काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका जिल्ला पर्छन् । प्रदेशमा यस आवको ६ महिनामा ६७५ वटा सवारी दुर्घटना भए । दुर्घटनाबाट १४१ जनाको मृत्यु र एक हजार २०९ जना घाइते भए ।

सबैभन्दा धेरै चितवनमा २१७ वटा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । गत आव ०७६/७७ को ६ महिनामा ४४८ वटा दुर्घटना हुँदा २६३ जनाको मृत्यु भएको थियो । यस आवको ६ महिनामा मृत्युदर ४६ प्रतिशतले कमी आएको देखिन्छ । दुर्घटनाको संख्यामा ५० प्रतिशतले कमी आएको उनले बताए ।