मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार ०८:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि

सस्ता कम्पनीमा लगानी बढाउँदै लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार ०८:३०:००

बुधबार नेप्से परिसूचक करिब १६ अंकले बढ्दा लगानीकर्ताले तुलनात्मक रूपमा सस्ता मूल्यका कम्पनीहरू उठाइरहेका छन् । नेप्से परिसूचक भने पुनः नयाँ उचाइमा आएको छ । परिसूचक २ हजार ३ सय ४२ मा पुगेको हो । 

बुधबार करिब ३ सय मूल्यआसपास रहेका १३ कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ । बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट, सप्तकोसी डेभलपमेन्ट, नेपाल फाइनान्स, नेपाल हाइड्रोलगायतको सेयर मूल्य उच्च दरमा बढेको हो । 

चालू आवको पहिलो त्रैमासमा ८९ लाख रुपैयाँ नोक्सानमा रहेको बेस्ट फाइनान्सको मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो । कम्पनीको १ सय ७७ रुपैयाँ मा कारोबार भएको छ । समस्याग्रस्तबाट तंग्रिएर अगाडि बढिरहेको कम्पनीको सञ्चित नोक्सानी ३२ करोड २७ लाख रुपैयाँ छ । 

कर्पोरेट डेभलपमेन्ट बैंकको पनि पहिलो त्रैमासमा नाफा घटेर ५६ लाखमा सीमित भएको थियो । बैंकमा ७ करोड ४२ लाख रुपैयाँ सञ्चित नोक्सान छ । गत वर्ष यस्तो सञ्चित नोक्सानी ८ करोड रुपैयाँभन्दा केही बढी थियो । सर्वसाधारणमा सेयर जारी गरेको करिब ४ वर्षमा पहिलोपटक ५ दशमलव १ प्रतिशत लाभांश प्रस्ताव गरेको ग्रिन डेभलपमेन्टको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर १ सय ८९ रुपैयाँमा किनबेच भएको हो । 

बुधबार ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । सेयर स्प्लिट गर्ने तयारीमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै मूल्यको सेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड रुपैयाँबराबर सेयर किनबेच भएको हो । ३ सय रुपैयाँ मूल्यआसपासका पाँच कम्पनी उच्च रकमको कारोबार हुने प्रमुख २० भित्र परेका छन् । यी पाँच कम्पनीमा सिभिल, मेगा, बैंक अफ काठमाण्डू, कुमारी, माछापुच्छ्रे  बैंक हुन् । यिनको करिब ८ देखि १० करोड रुपैयाँसम्म सेयर किनबेच भएको छ ।

कारोबारमा आएका २ सय ११ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय १५ को मूल्य बढेको र ७२ वटाको मूल्य घटेर कारोबार भएको छ । कारोबारमा आएकामध्ये पाँच समूहगत परिसूचक घटेको छ । बैंकिङ, व्यापारमूलक, होटेल, उत्पादन र ‘अन्य’ समूहगत परिसूचक घटेका हुन् । यस दिन कुल बजार पुँजीकरण थप वृद्धि भएर ३१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।