मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ माघ ८ बिहीबार ०८:५९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ष दिनमा तेस्रोपटक ठेक्काको म्याद थप्दै सरकार

सबै पूर्वाधार आयोजनाको म्याद १२ महिना थप्न व्यवसायीको माग

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ माघ ८ बिहीबार ०८:५९:००

सरकारले पूर्वाधार आयोजना निर्माण ठेक्काको म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयमार्फत म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । ‘केहीअघि नै म्याद थपको निर्णय भइसकेको भन्ने सूचना आएको भए पनि अझै सार्वजनिक नभएकाले अहिले प्रक्रियामा छ भन्न सकिन्छ’ उनले भने । अहिले प्रक्रियामा नै रहेकाले कति अवधिका लागि म्याद थप हुँदै छ स्पष्ट नभइसकेको उनले बताए । 

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण ठेक्काको म्याद थप गर्ने संकेत गरेका थिए । ९ मंसिरमा नेपाल निर्माण व्यवसायी महासंघले उठाउँदै आएको म्याद थपका विषयमा अर्थ मन्त्रालयसँग छलफल भइसकेको र केही दिनमै ठोस निर्णय गरिने निर्माण व्यवसायीसँगको भेटमा बताएका थिए । तर, त्यसअघि मन्त्री नेम्वाङले २० कात्तिकमा मन्त्रालयको चौमासिक प्रगतिबारे जानकारी लिएपछि आयोजना ओगटेर राख्ने र प्रगति नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन मातहतका कार्यालयलाई निर्देशन दिएका थिए । 

 एक वर्षमै तेस्रोपटक म्याद थप हुँदै
सरकारले यसपटक म्याद थप गरे पछिल्लो १ वर्षमा तेस्रोपटक म्याद थप हुनेछ । यसअघि गत २९ असार २०७७ मा मन्त्रिपरिष्दले लकडाउन अवधिमा सम्झौता भएका र म्याद समाप्त भएका हकमा ६ महिना म्याद गर्ने निर्णय गरेको थियो । तर, निर्माण व्यवसायीले भने थप समय नपुग हुने र उक्त निर्णयबाट सम्पूर्ण निर्माण कार्यको म्याद थप नभएको जिकिर गरिरहेका थिए ।

त्यसअघि १४ पुस २०७६ मा सार्वजनिक खरिद नियमावलीमा भएको नवौँ संशोधनले लामो समयदेखि म्याद थप हुन नसकेका रुग्ण आयोजनाको १४ फागुन २०७६ देखि कार्यान्वयन हुने गरी एक वर्षका लागि म्याद थप गर्ने नीतिगत व्यवस्था गरिएको थियो । त्यसअनुसार १३ फागुन २०७७ सम्म म्याद थप गरिएको छ । म्याद थप भए तापनि ११ चैत्र २०७६ देखि भएको लकडाउनका कारण काम हुन नसकेकाले पुनः म्याद थप गर्नुपर्ने व्यवसायीको दाबी छ । 

सबै आयोजनाको म्याद १२ महिना थप्नुपर्ने व्यवसायीको माग
नेपाल निर्माण व्यवसायी महासंघले देशभर सञ्चालनमा रहेका सबै पूर्वाधार आयोजना निर्माणको म्याद १२ महिना थप गर्न सरकारसँग माग गर्दै आएको छ ।

अहिले देशभर पाँच हजारभन्दा धेरै साना–ठूला आयोजना सञ्चालनमा छन् । कोभिडका कारण पछिल्ला आठ महिनादेखि अधिकांश आयोजना निष्क्रिय रहेका र सरकारले गत वर्ष १४ फागुनदेखि कार्यान्वयन हुने गरी सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले दिएको एकवर्षे म्याद थपमा कुनै काम गर्न नपाएका कारण म्याद थपको विकल्प नभएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

‘सरकारले हाम्रा माग नसुनेको खण्डमा सडक आन्दोलनमा जाने विकल्प मात्र हामीसँग छ’ उनले भने । देशभरका व्यवसायी म्याद थपको प्रतीक्षामा रहेको महासंघको भनाइ छ । कोभिड–१९ का कारणले लकडाउनको अवधिसम्म आयोजना निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले महामारीको विषम परिस्थिति परिभाषित गरेको निर्माण व्यवसायीको दाबी छ । यसकारण पनि सम्पूर्ण परियोजना एवं ठेक्काको म्याद स्वतः एक वर्ष एकमुष्ठ थप गर्न सरकारले नीतिगत निर्णय गर्न महासंघको माग छ । 

 निर्माण क्षेत्रमा स्वास्थ्य मापदण्डमा एकरूपता 
निर्माण व्यवसायीले कोभिड–१९ को समयमा निर्माण कार्य सुचारु गर्दा स्वास्थ्यका मापदण्ड कानुनी रूपमा तोक्न पनि सरकारकसँग माग गरेका छन् । अहिले निकायपिच्छे मापदण्ड बनाएर सार्वजनिक निकायले आ–आफ्ना किसिमले कार्यान्वयन गरिरहेको महासंघको भनाइ छ । ‘यसलाई एकरूपता बनाउन पनि आवश्यक देखिएको छ’ महासंघका अध्यक्ष सिंहले भने ।

फरक–फरक मापदण्ड लागू गर्दा कोभिड–१९ को संक्रमण नियन्त्रणमा प्रभावकारिता नहुने, एकै प्रकृतिको निर्माण कार्यमा समेत फरक–फरक मापदण्ड लागू भई असमान अवस्था सिर्जना हुन जाने र निर्माण व्यवसायीलाई समेत कार्यसम्पादनमा कठिनाइ हुने व्यवसायीहरूको भनाइ छ । एउटै किसिमको कानुनी मापदण्ड तोकिनुपर्ने र सो कार्यान्वयनको आवश्यक रकम काम गराउने निकायले नै व्यहोर्नुपर्ने महासंघको भनाइ छ ।