१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाकिस्तानी राष्ट्रपतिले भने– नेपालसँग सधैँ मैत्रीपूर्ण सम्बन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १९:१२:००

पाकिस्तानका राष्ट्रपति डा. अरिफ अल्भीले नेपाल र पाकिस्तानका जनताबीच सदा खुसीसाथ मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताएका छन् । मंगलबार इस्लामाबादमा नेपाली राजदूत तापस अधिकारीको ओहोदाको प्रमाणपत्र ग्रहणपछि संक्षिप्त कुराकानीका क्रममा पाकिस्तानी राष्ट्रपतिले दुई देशबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

उनले विगतमा नेपाल भ्रमण तथा गत वर्ष अजरबैजानमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटको पनि स्मरण गरेका छन् । राजदूत अधिकारीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाएका थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष मुलुकका राजदूत अधिकारीको कार्यकाल सफलताको कामना गर्दै राष्ट्रपतिले नेपाल र नेपाली जनतालाई सहयोग रहिरहनेसमेत प्रतिबद्धता जनाएका छन् । 

उनले नेपालसहितका मित्रदेशहरूसँग व्यापार, लगानी, सांस्कृतिक तथा सैन्य सहकार्य गर्ने बताएका छन् । उनले हरेक आयाममा नेपालसँग सम्बन्ध अघि बढाउन पाकिस्तानले चाहेकोसमेत उल्लेख गरेका छन् ।

राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच सधैँ सम्बन्ध आपसी सद्भाव, विश्वास र सहकार्यमा आधारित रहेको बताएका थिए । सार्कको संस्थापक देश नेपाल र पाकिस्तानले सार्क, संयुक्त राष्ट्रसंघ तथा अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको पनि अधिकारीले राष्ट्रपतिलाई स्मरण गराएका छन् । राजदूत अधिकारीले नयाँ पाकिस्तान भन्ने नयाँ दृष्टिकोणका लागि पाकिस्तान सरकारलाई बधाई दिएका छन् ।