Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ ७ बुधबार १५:१३:००
Read Time : > 1 मिनेट
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ बाहिरियो, आर्मी सेमिफाइनलनजिक

Read Time : > 1 मिनेट
२०७७ माघ ७ बुधबार १५:१३:००

राजधानी काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट प्रदेश १  बाहिरिएको छ । लगातार तेस्रो खेलमा पराजय व्यहोरेपछि प्रदेश १ प्रतियोगिताबाटै बाहिरिएको हो । 

बुधबार भएको खेलमा प्रदेश १ को टोली त्रिभुवन आर्मी क्लबसँग चार विकेटले पराजित भयो । प्रतियोगितामा प्रदेश १ ले अब कर्णाली प्रदेशसँग मात्रै खेल्न बाँकी छ । उक्त खेलमा जित हात पारेर पनि कम्तीमा अंकको आधारमा प्रदेश १ को सेमिफाइनल यात्रा सम्भव हुनेछैन । 

आर्मी भने यो जितसँगै सेमिफाइनलनजिक पुगेको छ । मूलपानीस्थित मैदानमा एक सय ३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पार गरेको हो । आर्मीको जितमा रोहितकुमार पौडेलले ३६ रनको योगदान दिए । यस्तै, भीम सार्कीले २९ रन जोड्दा राजेश पुलामी २४ रनमा अविजित रहे । 

त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० दशमलब १ ओभरमा सबै विकेट गुमाउनुअघि एकसय ३१ रनको योगफल जोडेको थियो । टोलीका लागि विवेक मेहताले ५० रनको अर्धशतकीय योगदान दिए । उनले आफ्नो इनिङमा एक छक्का र सात चौका प्रहार गरेका थिए । 

यस्तै, फिर्दाेश अन्सारीले ३२, दीपक पासवालने १९ र दीपेश कँडेलले ११ रन जोडे । अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । प्रदेश १ लाई सहज योगफलमा रोक्न आर्मीका शाहब आलम एक्लैले चार विकेट लिए । यस्तै, आकाश चन्दले तीन विकेट लिए । 

पुलिसको सहज जित
प्रतियोगिताअन्तर्गत साविक विजेता नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित हात पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चित ३३.१ ओभरमा एक सय १० रनको सामान्य योगफलमै समेटिएको थियो । पुलिसले जवाफमा १७ ओभरमा मात्रै एक विकेट गुमाएर जित निश्चित गरेको हो । 

पुलिसको जितमा सुनिल धमला (५३) र कुशल भुर्तेलले (५१) अर्धशतकीय योगदान दिए । ४४ बलमा एक छक्का र नौ चौका प्रहार गरेका कुशल अविजित रहे । सुनिलले आफ्नो इनिङमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए ।

यी दुई प्रारम्भिक ब्याट्सम्यानले पहिलो विकेटका लागि ९७ रनेको साझेदारी गरेका थिए । कुशलसँगै अमित श्रेष्ठ एक रन जोडेर अविजित रहे ।

सुदूरपश्चिमका लागि भने खड्क बोहराले ४० रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सञ्जु दमाईंले थप ३५ रन जोडेका थिए । सुदूरको ६ जना ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । 

सुदूरलाई सहज योगफलमा समेट्न पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले चार–चार विकेट लिए । प्रतियोगितामा नेपाल पुलिसको यो पहिलो जित हो । पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको पुलिसले समूह ‘बी’मा दुई खेलबाट दुई अंक जोडेको छ । सुदूरको भने यो लगातार दोस्रो पराजय हो ।