१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १०:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीसँग पर्यटन व्यवसायीको मागैमाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १०:३८:००

कोरोना प्रभावित पर्यटन व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग विद्युत् शुल्क छुट, कर्जा चुक्ता अवधि बढाउनेलगायतका दर्जनभन्दा बढी माग गरेका छन् । पर्यटन र होटेलका प्रतिनिधिहरूसहित अर्थ मन्त्रालयमा आयोजित छलफलमा व्यवसायीले यस्ता माग राखेका हुन् । 

उनीहरूले व्यावसायिक निरन्तरता कर्जा प्रवाह तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि पाँच वर्ष बनाउने व्यवस्था गर्न, विद्युत् डिमान्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भइसकेको धितोको भ्यालुमा नै शतप्रतिशतसम्म हुने गरी ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यस्तै, उनीहरूले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् ।

 छलफलमा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू ल्याएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए । बजेट, मौद्रिक नीतिलगायतमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधानका लागि अग्रसरता लिएर अघि बढ्ने उनले बताए । 

कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै पौडेलले भने, ‘पर्यटन र होटेल क्षेत्रमा परेको अप्ठ्यारोप्रति संवेदनशील छौँ । तपाईंहरू अघि बढ्नुहोस्, सरकार साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत् डिमान्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने पनि आश्वासन दिए । पर्यटनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ ले सरकारलाई परेको अप्ठ्यारोलाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे । 

अर्थसचिव शिशिरकुमार ढुंगानाले नीतिहरूमा समस्या नभएको जिकिर गर्दै कार्यान्वयनका लागि थप पहल गर्ने बताए । बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल, होटेल एसोसिएसन अफ नेपाल, रेस्टुरेन्ट एसोसिएसनलगायत प्रतिनिधिहरूको सहभागिता थियो ।