Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से लगभग स्थिर : कुल गार्हस्थ्य उत्पादनको  ९० प्रतिशत पुग्यो पुँजीकरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार ०६:२५:००

मंगलबार नेप्से परिसूचक सामान्य घटेको छ । दिनभर उतारचढावमा देखिएको नेप्से कारोबार अन्त्य हुँदा ५ दशमलव ५७ अंकले घटेर २ हजार ३ सय २६ बिन्दुमा आइपुगेको छ । यो शून्य दशलमव २४ प्रतिशतको गिरावट हो । 

नेप्से स्थिर देखिँदा र अन्तरदिनको कारोबारमा २४ अंकसम्म बजार ओर्लिँदा लगानी बढाउने समूहमा पनि वृद्धि भएको देखिन्छ । यस दिन मात्रै ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्तिको मूल्य भने केही घटेर ३१ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित भएको छ । 

कुल बजार पुँजीकरणका आधारमा बजारले नयाँ रेकर्डसमेत कायम गरिसकेको छ । यसअघि कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा ८३ प्रतिशतसम्म रहेको बजार पुँजीकरण हाल ९० प्रतिशत हाराहारी आइपुगेको अनुमान छ । 

राष्ट्रिय योजना आयोगले गत आर्थिक वर्षको वृद्धिदर घटाएर शून्य दशमलव ६ प्रतिशत हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यो तेस्रोपटक भएको संशोधन हो । सबैभन्दा पहिला जिडिपी वृद्धिदर ६ दशमलव २ प्रतिशत हुने अनुमान गरिएकोमा गत फागुनमा घटाएर २ दशमलव २९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको थियो । अहिले पुनः प्रक्षेपण घटाइएको हो । 

अघिल्लो आवमा ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको जिडिपी नयाँ प्रक्षेपणअनुसार मात्र वृद्धि भएमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ हुनेछ । हालको बजार पुँजीकरण जिडिपीको तुलनामा ९० प्रतिशत अनुपातमा हुनेछ । 

‘सेयरको बजार पुँजीकरणले समेत अघिल्लोपटक कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा नयाँ रेकर्ड बनाएको छ,’ वित्त विश्लेषक तथा लगानीकर्ता अनलराज भट्टराईले भने, ‘अब हामीले कम्पनी छान्दा नामका आधारमा मात्र नभई त्यसको व्यवस्थापन कसरी भइरहेको छ, सञ्चालकहरू कस्ता छन् र सम्पत्तिको गुणस्तर कस्तो छ भनेर लगानी गर्नुपर्ने अवस्था आएको छ ।’ 

भट्टराई बजारले आर्थिक क्रियाकलापलाई प्रतिबिम्बित नगरेका कम्पनीहरूमा अबका दिनमा गरिने लगानी जोखिमपूर्ण हुन सक्ने बताउँछन् । बजार यही तहमा घट्नुपर्छ भन्ने नभए पनि लगानी गर्दा अब भने कम्पनीहरूको अवस्थाको विशेष ध्यान दिएर गर्नुपर्ने उनको भनाइ छ । 

बजारमा अहिले रहेका सबै क्षेत्र उच्चदरमा अधिमूल्यन भएका छैनन् । केही अवमूल्यन भएका कम्पनीहरू पनि छन् । त्यसैले पनि कर्नरिङ गरेर बढाइएका, सेयर पुँजी कम भएका कम्पनीहरू चिन्नुपर्ने उनी बताउँछन् । जिडिपीका आधारमा बजार पुँजीकरण १ सय १० प्रतिशतसम्म हुँदा पनि स्वीकारयोग्य नै मानिन्छ । 

मंगलबार भने सेयर कारोबारमा आएका २ सय ६ धितोपत्र तथा ऋणपत्रमा ६३ वटाको मूल्य बढेको, १ सय २८ वटाको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म बढेको छ । यसरी मूल्य बढ्नेमा नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोरखा फाइनान्सलगायत छन् । 

सेयर स्प्लिटको नयाँ अभ्यास प्रयास 
नेपाली सेयर बजारमा पहिलोपल्ट सेयर स्प्लिटको अभ्यास प्रयासमा आउन लागेको छ । नेपाल लाइफ इन्स्योरेन्सले २८ माघमा हुने २०औँ वार्षिक साधारणसभामा यस्तो प्रस्ताव लगेको हो । हाल १ सय रुपैयाँ अंकित सेयरको अंकित मूल्य ५० रुपैयाँ बनाइन लागेको हो । 

यसो भएमा सेयर संख्यासमेत दोब्बरले बढ्नेछ । हाल १ सय कित्ता सेयर हुनेको सेयर संख्या भने २ सय हुनेछ । २ सय कित्ता हुँदा पनि कुल अंकित मूल्य २ सय कित्तालाई ५० रुपैयाँले गुन्दा त्योभन्दा घटबढ हुनेछैन ।  

यसले धेरै मानिसहरूको हातमा कम्पनीको सेयर पुग्न सघाउ पुग्नेछ । लाभांश दरमा भने तात्विक फरक पर्दैन । अर्थात्, अहिले कम्पनीले ३१ प्रतिशत बोनस सेयर दियो भने १ सय सेयर हुने लगानीकर्ताको कुल सेयर संख्या १ सय ३१ हुन्छ । स्प्लिटपछिको अवस्थामा यदि लाभांश जोडेर कुल सेयर २ सय ६२ हुन्छ ।