१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी वासिङ्टन
२०७७ माघ ७ बुधबार ०५:५३:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बाइडेनको शपथ आज : शपथ कार्यक्रममा डोनाल्ड ट्रम्प नजाने

Read Time : > 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ माघ ७ बुधबार ०५:५३:००

अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ । यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ । लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ । यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले बुधबार (आज) राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । 

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो । गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन् । राजधानी वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन भएको छ । साथै, राष्ट्रिय सुरक्षा फोर्सले पनि गस्ती गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक अझै पनि बाइडेनले धाँधली गरी जित निकालेको दाबी गरिरहेका छन् । तर, ट्रम्पले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन् ।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन् । २० जनवरीको दिन राष्ट्रपतिको शपथ कार्यक्रममा भाग नलिने अहिलेसम्म अमेरिकामा तीनजना मात्र राष्ट्रपति थिए । ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन् । सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा गएका थिएनन् । 

गत साता राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘म यो घोषणा गर्छु कि लोकतन्त्रको परम्परा तोड्न पछि पर्दिनँ ।’ निर्वाचित राष्ट्रपतिलाई बधाई दिन आफू क्यापिटल हिलमा उपस्थित नहुने उनको भनाइ थियो । तर, उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुने भएका छन् । बाइडेनले पेन्सको निर्णयलाई बहादुरीको संज्ञा दिँदै स्वागत गरेका छन् । 
शपथमा को–को आउनेछन् ?

बाइडेनको शपथमा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन् । यसपटक शपथ कार्यक्रममा भाग लिने सांसदलाई दुईवटा मात्र टिकट दिइएको छ । उनीहरूले आफूसँगै एकजना पाहुनाका रूपमा ल्याउन पाउँछन् ।

यस्तो हुनेछ शपथ कार्यक्रम

- चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् । 

- शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन् । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ । 

तस्बिर : एपी/एएफपी