मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार ०७:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१७ अंकले बढ्यो नेप्से : दोस्रो त्रैमासिक विवरण राम्रो आउने विश्वासमा लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार ०७:२६:००

नयाँ उचाइमा पुगेसँगै केही सुस्त देखिए पनि नेप्सेले वृद्धि भने कायम राखेको छ । सोमबार नेप्से परिसूचक शून्य दशमलव ७५ प्रतिशत अर्थात् १७ अंकले बढेर २ हजार ३ सय ३२ बिन्दुमा पुगेको छ ।  बजारको वृद्धिदर सुस्त देखिए पनि लगानी रकम भने उच्च नै छ । यस दिन पनि ६ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार सुरु हुँदा नै बढेको बजार केही समयमै ओरालो लागेको थियो । बजार बन्द हुँदा भने परिसूचक सुरु बिन्दुनजिक पुगेको हो ।

 दोस्रो त्रैमासिक वित्तीय विवरणहरू प्रकाशित हुन थालेसँगै यसको प्रभाव बजारमा देखिँदै जानेछ । यस दिन १८ वटा कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । लाभांश प्रस्तावपछि कारोबार स्थगनमा परेको सिभिल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ । यस दिन बैंक अफ काठमाण्डूको १ करोड ११ लाख कित्ता बोनस सेयर सूचीकरण भएको छ । 

कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा छ । बैंकको ३३ करोड रुपैयाँको सेयर किनबेच भएको हो । पहिलो त्रैमासमै बैंकले ३५ प्रतिशतले नाफा बढाएको थियो । बैंकको करिब ८ प्रतिशतले मूल्य बढेर ४ सय ४६ मा सेयर किनबेच भएको थियो । 

२ सय ७ धितोपत्र तथा ऋणपत्रको किनबेच भएकोमा १ सय २४ वटाको मूल्य बढेको र ६३ वटाको मूल्य घटेको छ । समूहगत आधारमा जलविद्युत्बाहेक सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । यस दिन सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य ३१ खर्ब ४१ अर्ब पुगेको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेर १ हजार ७ सय ६६ मा किनबेच भएको छ ।  

दोस्रो त्रैमासमा कम्पनीहरूको प्रस्तुति 
दोस्रो त्रैमासमा ४६ प्रतिशतले नाफा बढाएर करिब १९ करोड कमाएको कामना सेवा विकास बैंकको यस दिन सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंकको सेयर २ सय ९५ रुपैयाँमा किनबेच भएको हो । बैंकले प्रावधानमा राखेको १२ करोड फिर्ता ल्याएपछि पनि नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

बैंकले अहिले कमाएको नाफाबाटै करिब १० प्रतिशत लाभांश दिन सक्ने देखिएको छ । हाल दिएको ४ दशमलव ४ बोनस सेयरपछिको चुक्ता पुँजीका आधारमा यो दरमा प्रतिफल हुने देखिएको हो । यद्यपि, कम्पनीको खराब कर्जा केही वृद्धि भएर कुल कर्जाको १ दशमलव ५९ पुगेको छ । 

फस्ट माइक्रो फाइनान्सको भने नाफा ६ प्रतिशतले घटेर ६ करोड २८ लाखमा सीमित भएको छ । कम्पनीले सम्भावित कर्जा जोखिमका लागि १ करोड १४ लाख राखेपछि पनि नाफा केही सुस्त भएको हो । कम्पनीको सेयर मूल्य भने ९ रुपैयाँले वृद्धि भएर ७ सय १ मा कारोबार भइरहेको छ ।