मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ माघ ६ मंगलबार ०७:१२:००
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रैथाने संगीत : स्रष्टाहरूलाई जीवनयापन गर्नै गाह्रो

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ माघ ६ मंगलबार ०७:१२:००

वर्षौैंदेखि थारू, लिम्बू, तामाङ, सन्थाल, राजवंशीलगायतका मातृभाषी तथा रैथाने गीतसंगीतमा लागेका स्रष्टा सधैँ आर्थिक चपेटामा

वादी समुदायकी डिक्रा वादीले ०५२ देखि पश्चिम नेपालमा प्रचलित रैथाने गीत देउडा र ठाडी भाका गाउन सुरु गरेकी थिइन् । १४ वटा त एल्बमै ल्याइन् । गीत नै अढाई सयभन्दा बढी गाइसकिन् । कञ्चनपुरकी डिक्रा पहिलो महिला देउडा गायिका पनि हुन् । तर, देउडा गाएर हिँडेको २६ वर्ष बितिसक्दा पनि उनलाई आस छैन, ‘संगीतमै लागेर जीवनयापन गर्छु ।’

देउडा र ठाडी भाका गाएर आर्थिक अवस्था सन्तुलनमा राख्ने आस पनि छैन डिक्रालाई । ‘संगीतमै लागेर घरपरिवार पालौँला भन्ने सोचेकी पनि छैन । १०/११ वर्षअगाडिसम्म त केटाकेटी पालिएको थियो । तर, अब त गाह्रो छ,’ डिक्रा भन्छिन् । डिक्राको खेतीपाती गर्ने जमिन छैन । घर छ । एक कट्ठाजति जमिन छ । भन्छिन्, ‘तर के गर्नु, खेतीकिसानी गर्न ठाउँ छैन । परिवार ठूलो छ । गीतै गाएर मात्र बाँचिन्छ भन्ने विश्वास पनि छैन ।’ देउडा र ठाडी भाकाका गीतहरू रेकर्ड हुँदा डिक्रा पनि स्वर भर्छिन् । त्यसबाट केही पारिश्रमिक पाउँछिन् । संगीतको माध्यमबाट पाइने भनेको त्यस्तै गीतहरू रेकर्ड हुँदा मात्र हो उनले । ‘आफ्नो मान्छे चाहिने रहेछ । न पढे लेखेकी छु, न केही छ । जानेको भनेको गीत गाउन हो । त्यो पनि मान्छेहरूले खोजी गरेको वेला मलाई भेटाइदिँदैनन् रहेछन्,’ दुखेको पोख्छिन् डिक्रा । 

गुरुङ भाषाको गीत गाउँदै आएका गायक कृष्ण गुरुङ पनि विश्वस्त छैनन् कि रैथाने गीत गाएरै बाँच्न सकिन्छ भन्ने । कृष्णले ०३८ सालमा रेडियो नेपालबाट गाउन सुरु गरेका थिए । अहिलेसम्म ५०/६० वटा गुरुङ गीत गाइसके । लमजुङका कृष्ण भन्छन्, ‘मातृभाषामै गाएर जीवन निर्वाह गर्न समस्या छ । आधाजसो जनसंख्याले त गुरुङ भाषै बुझ्दैनन् । आफ्नो संस्कृति, पहिचान, भाषा र संगीतलाई संरक्षण गर्ने काम मात्र हो ।’

कृष्ण राष्ट्रिय नाचघरको जागिरे पनि थिए । बाँसुरी पनि बजाउँछन् । यस्तै कामले आफू टिक्न सकेको उनी बताउँछन् । कहिलेकाहीँ विदेशमा भएका गुरुङ समुदायले उनलाई कार्यक्रममा बोलाउँछन् । त्यतातिर जान्छन् । त्यसले पनि आर्थिक हिसाबमा केही सहज हुने बताउँछन् कृष्ण । उनले २०६५ मा पहिलो गुरुङ गीति एल्बम ल्याएका थिए, ‘माया आस्येद ओ’ अर्थात् माया नमार है ।

देउडा गायक नन्दकृष्ण जोशीले पनि ०३४ देखि देउडा गाउन थालेका थिए । २२ वटा देउडा एल्बम निकालेका छन् । चार सयभन्दा बढी देउडा गीत गाएका छन् । ४४ वर्षको रैथाने संगीतको यात्रा पार गरेका जोशी भन्छन्, ‘संस्कृति, मौलिक र रैथाने गीतमा लागेर पेट पालिँदैन । झनै पैसा कमाउँछु भनेर सोचियो भने त संस्कृतिको संरक्षण नै हुँदैन ।’ नन्दकृष्ण ०५७ तिर देउडाको एल्बम लिएर क्यासेट वितरण गर्न पश्चिम नेपालतिर जान्थे । घरघरमा पुर्‍याउँथे । देउडाहरू संकलन गर्थे । तर, आर्थिक हिसाबमा सधैँ शून्य नै हुने गरेको उनको भनाइ छ । ‘देउडा गायनमा लागेर पाएको दुःखलाई म शब्दमा उतार्न सक्दिनँ,’ जोशी सुनाउँछन्, ‘श्रीमतीको जागिरबाट आएको आम्दानीले बाँचेको हो म । घरजग्गा बन्धकी राखेर पनि एल्बम निकालेँ । घटना र विचारमा काम पनि गरेँ ।

                                                               .......

नेपाली रैथाने गीत ‘तामाङ सेलो’लाई विकिपिडियाले इन्डियन फोल्क म्युजिक भन्छ । हीरादेवी वाइबालाई इन्डियन सेलो सिंगर भन्छ । व्यावसायिकताकै कुरा गर्दा रैथाने गीतसंगीतमा लागेका कलाकार सधैँ आर्थिक चपेटामा पर्ने गरेको देखिन्छ । रैथाने संगीतको खोज अनुसन्धान तथा संरक्षणमा लागेकी गायिका झुमा लिम्बू भन्छिन्, ‘यी यावत् विषय आउनुअघि राज्य कहाँ छ भनेर प्रश्न गरेर आउनुपर्छ । राज्यले ल्याएको नीति तथा नियम, राज्यको कलाप्रतिको चासो र चेतनामाथि प्रश्न नगरी यी जटिलताहरू चिर्न सकिँदैन ।’ अहिले हामीले मूलधार मानिरहेको अथवा आधुनिक या सुगम भनिरहेको संगीत नेपाली संगीतै नभएको टिप्पणी गर्छन् आख्यानकार राजन मुकारुङ । मूलधार भनिएको संगीतज्ञसँग रैथाने गीतको महत्व र एस्थेटिकको ज्ञान नभएकाले पनि रैथाने संगीत पिल्सिएको विषय नयाँ पत्रिका दैनिकमा प्रकाशित आलेख ‘खोइ नेपाली संगीत’मा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मुन्धुमी (किराँत)का किसिमहरू सयौँ छन्, जसलाई नेपाली संगीतका ज्ञाताले पत्तो नै पाएका छैनन् । मिटर, पिच वासुर आदिका ख्याल गर्नेहरूले मुन्धुमी लयलाई कुन सेन्सका साथ सुन्लान् या उतार्लान् ? .... हामीसित परम्परागत संगीतको ओइरो छ, तर अभ्यास गरेनौँ भन्ने हो । सैद्धान्तीकरणको कुरा त उसै टाढा भइहाल्ने भयो ।’

रैथाने संगीतको सौन्दर्य, खोज, अनुसन्धान, डकुमेन्टेसनलगायतको कुरा छँदै छ । बहस, विमर्शको विषय बाँकी छँदै छ । साथमा व्यावसायिकताको पाटोबाट झनै जर्जर अवस्था देखिन्छ । तुलसा वाइबा बच्चा जन्माएपछि दुई वर्षदेखि निष्क्रिय छिन् । उनले ०५३ देखि तामाङ सेलो गाउन थालेकी थिइन् । पहिलो एल्बम ०५६ मा ल्याइन् । अहिलेसम्म सातवटा एल्बम छ उनको । तीन सयको हाराहारीमा तामाङ गीत छन् । तर, आर्थिक कोणबाट समस्या नै रहेको सुनाउँछिन् । भन्छिन्, ‘अहिले अवस्था अलि सुध्रिएको देख्छु । पहिला हाम्रो समयमा हैरानै थियो । तर, आफ्नो भाषा, संस्कृति र पहिचानमाथि सानो भए पनि योगदान गरेकाले सन्तुष्ट नै हुनुपर्ने अवस्था छ ।’

                                                            .......

कैलालीकी समीक्षा चौधरीले ६ वर्ष भयो रैथाने संगीतमा काम गर्न थालेको । थारू भाषाका उनको दुईवटा एल्बम छ । थारू गीत नै दुई सयको हाराहारीमा गाइसकेकी छिन् । ‘त्यति धेरै व्यावसायिक त भइसकेको छैन । पारिश्रमिक खासै धेरै छैन । तर, बिस्तारै यही क्षेत्रमा लागेर बाँच्न सकिएला कि भन्ने संकेतचाहिँ देख्छु,’ टिचिङ पेसा छाडेर थारू गीतमै सक्रिय भएकी समीक्षा भन्छिन्, ‘अहिले नै यसैमा भर परेर बाँच्न त गाह्रो छ । तर, निरन्तर लागिरहेमा असम्भवचाहिँ देख्दिनँ ।’ 

समीक्षाले भनेझैँ बाँच्न सकिने अवस्थामा पुग्ने समय आइसकेको बताउँछन् लिम्बू भाषाका गायक बब्रिम शेर्मा । उनी एउटा लिम्बू गीतका लागि दशदेखि बीस हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । डेढ सयभन्दा बढी लिम्बू भाषाको गीत गाइसकेका छन् । दर्जन बढी देशमा कन्सर्ट लिएर पुगिसकेका छन् । ‘लिम्बू गीतलाई आधुनिकीकरण गर्दै गाउन थालेपछि व्यावसायिक हुँदै गएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ बब्रिम भन्छन्, ‘मानिआएको मूलधारको गीत लङलास्टिङ नहुने देखिन्छ । मौलिक पहिचानको कुरा नमिसाईकन मूलधार टिक्न सक्दैन । हामीले मौलिक र रैथाने संगीतलाई एकेडेमिक र व्यावसायिक दुवै पाटोबाट अगाडि बढाउनुको विकल्प देख्दिनँ म ।’

तर, अझै पनि रैथाने संगीतको महत्व र व्यावसायिक पाटो कमजोर हुनुमा पञ्चायती व्यवस्थामा हिन्दू धार्मिक दर्शनलाई संगीतका माध्यमबाट स्थापित गर्ने र त्यही दर्शनका आधारमा व्यवस्था बलियो बनाउने पञ्चायती राजनीतिलाई कारक देख्छन् आख्यानकार राजन मुकारुङ । उनी लेख्छन्, ‘पहाडिया भाकाहरू (भाव होइन)लाई समेत रवीन्द्र रोमान्टिसिजममा मिसाउने काम बढोत्तर भयो । त्यही हाबीका कारण हाम्रो खास रैथाने संगीतले हुर्कन पाएन ।’ व्यावसायिक हिसाबले रैथाने संगीतमा लाग्ने सर्जकहरू सबल हुन समय लाग्ने बताउँछिन् गायिका झुमा । रैथाने संगीतमा काम गर्नु र व्यावसायिकतामा काम गर्नु फरक भएकाले पनि यस्तो जटिलता निम्तिएको विश्लेषण गर्छिन् उनी । भन्छिन्, ‘रैथाने संगीतको काम, भाषा, पहिचान बचाउनु हो । जसका लागि सर्जक, समुदाय, राष्ट्रको दायित्व र जिम्मेवारी हो । यसरी काम गरियो भने स्वतः व्यावसायिक हुन्छ रैथाने संगीत ।’

थारू, लिम्बू, सन्थाल, राजवंशीलगायतको मातृभाषी तथा रैथाने संगीतलाई सही रूपमा डकुमेन्टेसन, विश्लेषण, अनुसन्धान, अध्ययन गर्न आवश्यक देख्छन् इथ्नो म्युजिकोलोजीमा पिएचडी गरेका लोचन रिजाल । भन्छन्, ‘शिक्षामा रूपान्तरण गरिहाल्नुपर्ने अवस्था छ । मानवशास्त्र, भाषा, इतिहास साथै संगीतको प्राविधिक पाटोलाई जोडेर रिसर्च गर्नुपर्ने देखिन्छ । साथै, कलाकारलाई मनोरञ्जनको चिज मात्र नसम्झेर नेपाली संस्कृति बोकेको मान्छे मान्नुपर्छ ।’ साथै विद्वत र प्रतिभावान् नयाँ पुस्ता तयार गरेर उनीहरूलाई आत्मसम्मान र जीविका निर्वाहको अवस्था सिर्जना नगरी रैथाने संगीत नबाँच्ने र स्रष्टा कलाकारको अवस्था पनि विदीर्ण भइरहने लोचनको विश्लेषण छ । ‘संगीत भनेको जसरी ढालेर पनि उत्पादन गर्न सकिन्छ । जीवनयापन गर्ने सवालमा सामुदायिक विद्यालयमा समावेश गर्नुपर्छ रैथाने संगीतलाई,’ लोचन भन्छन्, ‘संगीत भनेको सुन्दामा राम्रो पनि सुनिनुपर्छ । रैथाने संगीतलाई अध्ययन, विश्लेषण गरेर राम्रो बनाउन सकियो भने जीवनयापनको सवाल सदाका लागि अन्त्य हुन सक्छ ।’