मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रा.डा. निरञ्जन पराजुली/डा. माधवी भट्ट
२०७७ माघ ६ मंगलबार १०:१०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

त्रिवि सुधारको अन्तर्कथा

Read Time : > 4 मिनेट
प्रा.डा. निरञ्जन पराजुली/डा. माधवी भट्ट
२०७७ माघ ६ मंगलबार १०:१०:००

त्रिविले नीतिगत परिवर्तन नगर्ने हो भने मानविकी, शिक्षाशास्त्र र विज्ञान संकायका नियमित स्नातक कार्यक्रम इतिहास बन्नेछन्

नेपालको उच्च शिक्षा सुधारका लागि भएका प्रयासहरूले सफलता पाउन सकेका छैनन् । उच्च शिक्षामा मानविकी, शिक्षाशास्त्र र विज्ञान संकाय इतिहासमै सबैभन्दा कमजोर स्थितिमा पुगेको आभास भएको छ । मानविकी र शिक्षाशास्त्र अध्ययनमा विद्यार्थीको आकर्षण निरन्तर घट्दो छ । ती संकायका कैयौँ शैक्षिक कार्यक्रममा पढ्ने विद्यार्थीभन्दा पढाउने ‘फ्याकल्टी’को संख्या बढी देखिन्छ । वर्षभरि कुनै कक्षा नपढाउने प्राध्यापकसमेत भेटिन्छन् त्रिविमा । दशकौँदेखि विद्यार्थी कम भएका कार्यक्रमलाई समायोजनमा नलग्ने हो भने त्रिवि आर्थिक र शैक्षिक रूपमा झन् जर्जर हुने निश्चित छ । 

विज्ञानतर्फ विद्यार्थीको संख्या खासै नघटे पनि बेरोजगार हुने भयले विद्यार्थीहरू त्रसित छन् । सायद बिएस्सी कार्यक्रम उच्च शिक्षाका सबै कार्यक्रमभन्दा कमजोर स्थितिमा पुगेको छ । विज्ञान पढाइ हुने कलेजमा प्रयोगशालाको दुरवस्थाबारे यसअघि नै विभिन्न सञ्चार माध्यममा सबै कुरा छरपस्ट भइसकेका छन् । जर्नलमा प्रकाशित शोधलेखकै आधारमा मात्र विश्वविद्यालयमा अनुसन्धानको पूर्वाधार तयार भएको मान्न सकिँदैन । जर्नलमा प्रकाशित हजारौँ लेखको साटो अनुसन्धानलाई उत्पादन वा मानव पुँजी विकाससँग जोड्नु अहिलेको आवश्यकता हो । निश्चय पनि यसले श्रमबजारमा विद्यार्थीलाई थप रोजगारीको अवसर देखाउँछ । तर, प्रयोगशालामा आधारभूत सुधार नभई स्थिति सुधार हुने लक्षण छैन । 

उच्च शिक्षाका पाँच लाख विद्यार्थीले विभिन्न करिब एक हजार कोर्स अध्ययन गर्छन् । र, देशमा हाल सरकारी, निजी तथा सामुदायिक क्याम्पस गरी तीन थरीको संरचनाले उच्च शिक्षालाई थेगेको छ । तर, ती सयौँ विषयमा लाखौँ विद्यार्थीले कुन क्याम्पसमा कस्तो ‘पर्फर्मेन्स’ गरेका छन्, औसत ‘ग्रेड पोइन्टको म्यापिङ’ हुन सकेको छैन । जसका कारण उच्च शिक्षाका वैज्ञानिक सूचांक तय गर्न सक्ने स्थिति छैन । विद्यार्थीलाई कुन कोर्स सजिलो वा अप्ठेरो, रोजगारीउन्मुख वा जीवनोपयोगी देखियोस्, सोको पहिचान गर्न आवश्यक छ । प्राध्यापक र कर्मचारीको दरबन्दी तय गर्दा परिणाममुखीभन्दा वितरणमुखी शैली हाबी भएका कारण शैक्षिक गुणस्तर बढ्न सकेको छैन । उदाहरणका लागि त्रिविमा हाल प्राध्यापकको संख्या करिब आठ हजार पुगिसकेको छ । तर, अझै पनि ‘एनलिटिकल केमेस्ट्री, कम्प्युटेसनल केमेस्ट्री, जेनेटिक इन्जिनियरिङ, मलिक्युलर बायोलोजी, बायोकेमेस्ट्री, बायोइन्फोर्मेटिक्स, बायोम्याथजस्ता विषय अध्यापन गराउने फ्याकल्टीको अभाव खड्किएको छ । 

समाजशास्त्र विभागमा समाजशास्त्रीय सिद्धान्त पढाउने फ्याकल्टीको अभाव छ । शिक्षालाई समाज र जनस्वास्थ्यसँग सीधा जोड्ने मेडिकल समाजशास्त्रलगायत विषय त्रिविले सुरुवात गर्न सकेको छैन । यी त केही प्रतिनिधि उदाहरण हुन् । सबै संकाय र विभागमा यस्ता जटिलता पक्कै छन् । आगामी दिनमा प्राध्यापकको छनोट गर्दा त्रिविले पढाउने खास विषय र अनुसन्धानको निश्चित क्षेत्र प्रस्ट तोकेर विज्ञापन नगर्ने हो भने त्रिविको आवश्यकता सम्बोधन हुनेछैन । पछिल्लो दशकमा स्नातक तहमा अनुसन्धानको कुरा गर्न थालेपछि शैक्षिकस्तर झन् घटेको छ । स्नातक तहमा शिक्षण विधिमा निखार ल्याउँदै विधार्थीलाई किताबी ज्ञानमा जोड दिनुपर्छ । आधुनिक शिक्षण तौरतरिकामा बहसको आवश्यकता खड्किएको छ । त्यसैले त्रिविले स्नातक तहमा टिचिङ फ्याकल्टी र स्नातकोत्तर तहमा रिसर्च फ्याकल्टी छनोट गर्नु वाञ्छनीय हुन्छ ।

कोभिडले देखाएको भर्चुअल क्लासको सम्भावनालाई विश्वविद्यालयले नीतिगत रूपमै अनुसरण गर्दै भौतिक र भर्चुअल दुवै अर्थात् हाइब्रिड मोडेलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुन्छ ।

विश्वविद्यालयमा थरीथरीका समस्या भएको कुरा मिडियाका लागि नौलो रहेन । नियमकै कुरा गर्ने हो भने एक वर्ष (दुई सेमेस्टर) मा प्राध्यापकले नौ क्रेडिट कोर्स पढाउनुपर्छ । तर, व्यवहारमा यो लागू हुन सकेको छैन । त्रिविका आठ हजार प्राध्यापकले नियमित क्लास लिने हो भने ठूलो संख्यामा आंशिक प्राध्यापकको आवश्यकता नै पर्ने थिएन । एकातर्फ तोकिएको कक्षा नलिने पूर्णकालीन प्राध्यापक र अर्कोतर्फ ‘हामी काम गर्छौँ, अवसर देऊ’ भन्ने आंशिक प्राध्यापक दुवैका गुण र दोष समयले परिभाषित गर्ला । अर्कोतर्फ विद्यार्थीका आफ्नै समस्या छन् । उनीहरूको कथन छ– चार वर्ष लाग्ने स्नातक तह पास हुन ६ वर्षसम्म लाग्छ र दुईवर्षे स्नातकोत्तर पूरा गर्न (थेसिस गर्ने विद्यार्थीको) तीन–चार वर्ष लाग्छ । सबै सेमेस्टरमा जिपिए ४ मा ४ ल्याउने विद्यार्थीलाई ‘तोकिएको समयसीमाभित्र थेसिस नबुझाएको’ नियम देखाएर कम नम्बर ल्याउने विद्यार्थीलाई विश्वविद्यालयले गोल्डमेडलिस्ट घोषणा गर्दा प्राज्ञिक विचलनको पराकाष्ठामा त्रिवि पुगेको छ । मेधावी विद्यार्थीले थेसिस समयमा नसक्नुमा प्राध्यापक र प्रणालीको दोष कम छैन । सारमा भन्नुपर्दा यी समस्याको जड भनेको शैक्षिक क्यालेन्डर नै हो । विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागू गर्न सकेमा उच्च शिक्षाका आधा समस्या समाधान हुने आममानिसको ठम्याइ छ ।

सन् २०१५ बाट विश्वबैंकले सुरु गरेको पछिल्लो उच्च शिक्षा सुधार परियोजना हालै सकिएको छ र फेरि अर्को त्यस्तै कार्यक्रम सुरु हुने चर्चा छ । उच्च शिक्षा सुधार परियोजनाको दोस्रो संस्करण फरक ढंगले आउनुपर्छ । फ्याकल्टी छनोटमा टिचिङ र रिसर्च छुट्याउनैपर्छ यदि त्रिविको आंगिक क्याम्पसमा स्नातक शैक्षिक कार्यक्रम जोगाउने हो भने । रिसर्च फ्याकल्टी हायरिङमा ‘टेन्योर ट्र्याक सिस्टम’, केन्द्रीय अनुसन्धानशाला र बजारमुखी नयाँ शैक्षिक कार्यक्रमको सञ्चालनमा जोड दिन आवश्यक देखिन्छ । पछिल्लो समय मेटेरियल साइन्सको अनुसन्धानमा नेपाली युवाहरू ज्यादै क्रियाशील देखिन्छन् स्वदेश तथा विदेशमा । 

हाल काठमाडौंमा मात्र मेटेरियल साइन्समा पिएचडी र पोस्ट डक गरेका दर्जनौँ वैज्ञानिक भेटिन्छ । उनीहरूको विज्ञतालाई विश्वविद्यालयले सदुपयोग गर्दै मेटेरियल साइन्समा नयाँ शैक्षिक कार्यक्रम ल्याउन ढिला भइसकेको छ । उच्च शिक्षा सुधारकै क्रममा त्रिविले नयाँ शैक्षिक कार्यक्रममा थप आर्थिक दायित्व नलिने सर्तमा आंगिक क्याम्पसमा आन्तरिक स्रोतबाट चल्ने गरी केही शैक्षिक कार्यक्रम थपिए । तर, विडम्बना त्यसपछि क्याम्पसका नियमित कार्यक्रम ओरालो लाग्न सुरु भयो । किनकि आर्थिक पक्ष सबल हुने देखेपछि सबैको ध्यान आन्तरिक स्रोतका कार्यक्रमतर्फ मोडियो । त्रिविले यो यथार्थलाई गम्भीर रूपमा लिई नीतिगत परिवर्तन नगर्ने हो भने मानविकी, शिक्षाशास्त्र र विज्ञान संकायका नियमित स्नातक कार्यक्रम इतिहास बन्नेछन् ।

कोभिडले निम्त्याएको भर्चुअल क्लास : त्रिविले कोभिडको चुनौती संशोधन गर्न भर्चुअल क्लासको व्यावहारिक प्रयोगमा फड्को मा¥यो नै भन्नुपर्छ । माइक्रोसफ्ट टिम्स र जुम क्लासमार्फत अध्ययनलाई विद्यार्थीले निरन्तरता दिन पाउनु राम्रै हो । तथापि भर्चुअल क्लासमा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेको विवाद कायमै छ । हाल त्रिविले सिकाइ विधिलाई आधुनिकीकरण गर्न ‘मुडल लर्लिङ म्यानेजमेन्ट सिस्टम’लाई डिजिटल मोडेलका रूपमा लिएको छ । त्यसका लागि त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रशिक्षण कार्यक्रम पनि सुरु गरिसकेको छ । 

भर्चुअल अध्ययन अध्यापनका लागि ‘माइक्रोसफ्ट टिम्स’ नै ‘मुडल’ भन्दा उपयोगी देखिन्छ । किनकि टिम्समा भिडियोमार्फत क्लास पनि लिन मिल्ने, ग्रेडिङ, क्विज, गृहकार्य दिनेलगायत अन्य काम सहजै गर्न सकिन्छ । पक्कै पनि ‘मुडल’मा केही बढी फिचर नभएको होइन, तर टिम्सबाट पनि अधिकांश शिक्षण विधि अनुसरण गर्न मिल्ने भएकाले विश्वविद्यालयले ‘मुडल’लाई भन्दा टिम्सलाई नै भर्चुअल सिकाइको माध्यम बनाउँदा अन्योल कम हुन्छ । प्रयोगकर्तालाई पनि प्राविधिक रूपमा ‘मुडल’भन्दा टिम्स नै सजिलो छ ।

वैकल्पिक शिक्षण विधि र माध्यम स्थानीय परिवेशमा उपलब्ध साधन–स्रोतअनुसार फरक हुन सक्छन् । गत वर्ष मलेसिया र ताइवानका केही प्राध्यापकले ‘फेसबुक क्लोज प्राइभेट ग्रुप’मार्फत विद्यार्थीलाई सिकाइ सामग्री ‘सेयर’ गर्ने गरेको देखियो । तर, नेपालमा यसबारे पनि ठूलै भ्रम छ । नेपालमा केही प्राध्यापकले ‘फेसबुक क्लोज प्राइभेट ग्रुप’ प्रयोग गर्दा सहकर्मीबाट आलोचित भएका छन् । तर, वास्तविकता पृथक् छ । सिकाइको सहजीकरणका लागि ‘फेसबुक क्लोज ग्रुप’मार्फत विद्यार्थीसँग नेटवर्क स्थापित गर्ने हो भने शैक्षिक गतिविधिमा केही सुधार हुनेछ किनकि ‘माइक्रोसफ्ट टिम्स’ वा ‘मुडल’मार्फत डिजिटल मोडेलमा जान निश्चय पनि केही समय लाग्ने नै छ । विश्वविद्यालयले यस्ता विषयमा ध्यान दिँदै समयको प्रवाह र शिक्षण विधिमा निखारता ल्याउन आवश्यक छ ।

अन्तमा : त्रिविले प्राध्यापक छनोट गर्दा अब दरबन्दीको गणितीय हिसाब गरेर हुँदैन । समयको माग र अनुसन्धानका क्षेत्रमा देखिएको विविधतालाई ध्यान दिनुपर्छ । स्नातक र स्नातकोत्तर तहका लागि फरक–फरक दक्षता भएको फ्याकल्टीको आवश्यकता भएको पक्षलाई विश्वविद्यालय नेतृत्वले बुझ्न जरुरी छ । त्रिविले प्रत्येक पाँच वर्षमा सम्पूर्ण शैक्षिक कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी तिनीहरूलाई बजार र रोजगारकेन्द्रित बनाउन आवश्यक छ । 

मानविकी, शिक्षाशास्त्र र विज्ञान संकायको स्नातक तहको गिर्दो साखलाई जोगाउन विश्वविद्यालयले विशेष योजना सार्वजनिक गर्नुपर्छ । कोभिडले देखाएको भर्चुअल क्लासको सम्भावनालाई विश्वविद्यालयले नीतिगत रूपमै अनुसरण गर्दै भौतिक र भर्चुअल दुवै अर्थात् हाइब्रिड मोडेलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुन्छ ।