दशगजामा बस्ने भूमिहीनको व्यवस्थापन गरिने
प्रदेश सरकारले दशगजा क्षेत्रमा बस्ने मुसहरसहित सबै भूमिहीनको व्यवस्थापन गरिने जनाएको छ । मनरा सिस्वा नगरपालिका–१० मधवास्थित दशगजामा वर्षौंदेखि ४० घरपरिवार मुसहर बस्दै आएको समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि प्रदेश सरकारले व्यवस्थापनको प्रतिबद्धता जनाएको हो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले चुरेदेखि दशगजासम्म बसोवास गर्दै आएका नेपाली नागरिक सेवा–सुविधाबाट वञ्चित रहेकाले चाँडै प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए । ‘उनीहरू नेपाली नागरिक भएर पनि अन्य नेपाली नागरिकसरह सेवा–सुविधा पाउनबाट वञ्चित रहँदै आएका छन्,’ नयाँ पत्रिकासँग कुरा गर्दै मन्त्री यादवले भने, ‘चाँडै प्रदेश सरकार यसप्रति केन्द्रित हुनेछ र जग्गालगायत उनीहरूले
पाउनुपर्ने अन्य सुविधा र अधिकार दिइनेछ ।’
तथ्यांक संकलन सुरु
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दशगजामा बसोवास गर्ने मुुसहरहरूबारे तथ्यांक संकलन सुरु गरिसकेको जानकारी दिए । तत्कालै योजना ल्याएर उनीहरूको व्यवस्थापन गरिने दाबी गरे । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले नयाँ पत्रिकाले उठाएको विषयले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले मन्त्रीकै नेतृत्वमा चाँडै दशगजामै पुगेर स्थानीय मुसहर तथा अन्य पीडित समुदायका कुरा सुन्ने र उनीहरूको व्यवस्थापनको काम थाल्ने जानकारी दिए ।
संसद्मा उठ्यो आवाज
यता दशगजाका मुसहरको व्यवस्थापनका लागि प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले सदनमा आवाज उठाएकी छिन् भने महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्थानीय तहलाई व्यवस्थापनका लागि पत्र पठाउने प्रतिबद्धता जनाएका छन् । महोत्तरीका भूमिहीन ४० मुसहर परिवार ‘नो म्यान्स ल्यान्ड’ भनिने दशगजामा पुस्तौँदेखि बस्दै आएका छन् ।