१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
वसन्त खतिवडा 
२०७५ माघ २८ सोमबार ११:३०:००
Read Time : > 1 मिनेट
समाचार

जितपुर–सिमरा उपमहानगरको बदमासी, निर्माणाधीन सडकलाई पार्किङ बनाएर पैसा असुली

Read Time : > 1 मिनेट
वसन्त खतिवडा 
२०७५ माघ २८ सोमबार ११:३०:००

जितपुर सिमरा उपमहानगरपालिकाले बाराको पथलैयामा निर्माणाधीन ६ लेन सडकलाई पार्किङस्थलका रूपमा प्रयोग गरी शुल्क उठाउने गरेको छ । गत साउनदेखि उपमहानगरले सडकमै सवारी पार्किङ गर्न दिएर शुल्क उठाउँदै आएको हो । 

सडक निर्माणमा बाधा पर्ने गरी नगरपालिकाले पार्किङ सञ्चालन गरेपछि सरोकारवालाले पार्किङस्थल अन्यत्र सार्न माग गरेका छन् । चौतर्फी आलोचनापछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले नगरप्रमुख डा. कृष्ण पौडेलको उपस्थितिमा सरोकारवालासँग सर्वपक्षीय छलफल गरी समाधानको प्रयास थालेको छ । 

‘जग्गा अभावले समस्या’ छलफलमा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले सडकबाट पार्किङ हटाएर खाली जग्गामा सार्न नगरप्रमुख डा. कृष्ण पौडेललाई सुझाब दिएका थिए । तर, नगरप्रमुख पौडेलले पथलैयामा तत्कालका लागि पार्किङ क्षेत्र तोक्न सक्ने जग्गा अभाव भएको बताए । उनले थप छलफलपछि मात्रै आवश्यक निर्णय लिन सकिने धारणा राखे । ‘तत्काल मैले केही भन्न सक्ने अवस्था छैन । थप छलफल आवश्यक छ । हामी पथलैयाको सडकबाट पार्किङ हटाएर व्यवस्थित बनाउने पहल गर्दैछौँ,’ नगरप्रमुख पौडेलले भने,‘पार्किङको ठेक्का पुनरावलोकन गर्ने वा रद्द गर्नेसम्मको निर्णय हुन सक्छ ।’ 

दुर्घटनाको जोखिम बढ्यो

निर्माणाधीन सडकमा ठूला गाडी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सरोकारवालाहरू बताउँछन् । सडकमा अव्यवस्थित ढंगले रोकिएका गाडी हटाउन उपमहानगर बाधक बनेको ट्राफिक प्रहरी निरीक्षक एवं सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले बताए । ‘पार्किङ शुल्क बुझाएका गाडीलाई नराख भन्न सक्दैनौँ । 
उपमहानगरको निर्णयका कारण हामीले पनि आलोचना खेप्नु परेको छ,’ उनले भने । धेरै समयसम्म सवारी पार्क गरिँदा सडकको अवस्था बिग्रने व्यापारिक मार्ग विस्तार योजनाका इन्जिनियर अशोक यादवले बताए । ‘सडकमा सवारी पार्किङ गर्दा दुर्घटनाका साथै सवारीको इन्धनका कारण कालोपत्रे बिग्रन्छ, त्यसैले सम्बन्धित निकायलाई सडकमा सवारी पार्किङ नगर्न आग्रह गर्दछ,’ उनले भने । 

पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फको खाली जग्गामा पार्किङ क्षेत्र तोकेर तत्कालीन समस्या समाधान गर्न सकिने सुझाब पथलैयाका यातायात व्यवसायीहरूले उपमहानगरपालिकालाई दिए । तर, उक्त क्षेत्रमा पार्किङ गर्दा विद्युत् प्राधिकरणको प्रसारण लाइन र गढीमाई साझेदारी वनको क्षेत्रलाई प्रत्यक्ष प्रभाव पर्ने सरोकारवालाहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण सिमराका प्रमुख रोहिणी पौडेलले ११ केभिए तथा ६६ केभिए प्रसारण लाइनको नजिक सवारी पार्किङ गर्दा आइपर्न सक्ने जोखिम तथा क्षतिबारे सचेत भएर मात्रै निर्णय लिन नगरप्रमुखको ध्यानाकर्षण गराए । 

गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गणेश साहले साझेदारी वनको क्षेत्राधिकारभित्र खाली जमिनमा पनि सवारी पार्किङका लागि आफूहरूले अनुमति दिन नसक्ने बताए । पथलैयाका यातायात व्यवसायी कृष्ण ढुंगेलले सडकमै पार्किङ ठेक्का खारेज गर्न माग गरे । ‘चिया खान एकैछिन रोक्ने गाडीले पनि पार्किङ शुल्क बुझाउनुपर्ने बाध्यता छ,’ उनले भने,‘ दुर्घटनाको जोखिम बढिरहेको छ । त्यसैले, पार्किङको निश्चित क्षेत्र तोक्न वा ठेक्का रद्द गर्न उपमहानगरलाई चुनौती दिन्छु ।’