मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ५ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से पहिलोपटक २३ सयमाथि

२९ अंकले बढ्दा लगानीकर्ताको सम्पत्ति ३१ खर्ब रुपैयाँभन्दा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ५ सोमबार ०९:०९:००

सामान्य करेक्सन हुने, फेरि बढ्ने प्रवृत्तिसहित अगाडि बढेको नेप्सेले अन्ततः पहिलोपटक २ हजार ३ सय बिन्दु पार गरेको छ । आइतबार नेप्से करिब २९ अंकले बढेर २ हजार ३ सय १५ बिन्दुमा आइपुगेको हो । कारोबार रकममा वृद्धिसहित बजार बढेको हो । यस दिन कुल ६ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २ सय ८ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा १ सय ३० को मूल्य बढेको र ६६ वटाको मूल्य घटेको हो । कुल बजार पुँजीकरणसमेत नयाँ उचाइमा पुगेर ३१ खर्ब १८ अर्बबराबर भएको छ । 

यस दिन जलविद्युत्बाहेक कारोबारमा आएका सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । व्यापारमूलक, विकास बैंक, अन्य र लघुवित्त कम्पनी समूहगत परिसूचक सबैभन्दा धेरैले बढेको हो । यी समूहमा क्रमशः ९ दशमलव २४, ४ दशमलव ६१, ३ दशमलव ४ र ३ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । 

यस दिन १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । साल्ट ट्रेडिङ, गुराँस लघुवित्त, नारायणी डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट, सामुदायिक लघुवित्त, प्रभु लाइफ र किसान लघुवित्तको यो दरमा मूल्यवृद्धि भएको हो । त्यस्तै, महिला सहयात्रा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास, जलविद्युत् लगानी कम्पनी, कालिका माइक्रो, सांग्रिला डेभलपमेन्ट र वरुण हाइड्रोको पनि मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

साल्ट ट्रेडिङको गत वर्षको लाभांश घोषणा हुन बाँकी नै छ । अघिल्लो वर्षको ३५ प्रतिशत लाभांश केही महिनाअघि दिएको कम्पनीको त्यसयता मात्रै मूल्य १ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । हाल कम्पनीको कारोबार ७ हजार ६ सय २३ मा भएको छ । सेयर कम रहेको कम्पनीमा लगानी गर्ने धेरै भएकाले मूल्य अत्यधिक बढेको छ । 

कारोबार रकमका आधारमा भने नेपाल टेलिकम, एनआइसी एसिया बैंक र सिभिल बैंकको उच्च कारोबार भएको हो । यी कम्पनीको २० करोड रुपैयाँदेखि ५८ करोड रुपैयाँसम्म सेयर कारोबार भएको छ । अघिल्लो वर्ष ४५ प्रतिशत नगद लाभांश दिएको नेपाल टेलिकममा पनि लगानीकर्ता झुम्मिएका छन् । गत वर्ष पुसमा साधारणसभा सम्पन्न गरेको कम्पनीले यसपटक लाभांश घोषणा गरिसकेको छैन ।   

कारोबार समयमा लाभांश प्रस्तावको जानकारी पठाएको भन्दै नेप्सेले सिभिल लघुवित्तको सूचीकरण स्थगन गरेको छ । ३ दशमलव ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको कम्पनीले २७ पुसमा पाँच बजे सञ्चालक समितिको बैठक बसेको भए पनि भोलिपल्ट कारोबार खुलेको ५० मिनेटपछि मात्रै यसको जानकारी नेप्सेमा पठाएको थियो । तीन दिनभित्र कम्पनीलाई स्पष्टीकरणको समय नेप्सेले दिएको छ । कारोबार समयमा सञ्चालक समितिको बैठक नबस्न र अघिल्लो दिन बजार बन्द भएपछिका निर्णयहरूको जानकारी भोलिपल्ट कारोबार खुल्नुअगाडि दिनसमेत भन्दै आएको छ ।