मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भूपेन्द्र वली
२०७५ माघ २८ सोमबार ११:१७:००
Read Time : > 2 मिनेट
समाचार

 धमाधम निर्माण हुँदै बृहत् सिँचाइ आयोजना

Read Time : > 2 मिनेट
भूपेन्द्र वली
२०७५ माघ २८ सोमबार ११:१७:००

सिँचाइको अभाव हटाउन सुरु गरिएको बृहत् दाङ सिँचाइ आयोजनाको कामले गति लिन थालेको छ । दुई वर्षअघि स्थापना भएको बृहत् दाङ उपत्यका सिँचाइ योजनाअन्तर्गत अहिले केही साना सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएका छन् भने केही आयोजनाले गति लिएका छन् । 

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आयोजनाहरूको सञ्चालन गरिएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद शर्माले बताए । साना खालका आयोजनाहरू अहिले कार्यान्वयन भइरहेको र दीर्घकालीन आयोजनका रूपमा लिइएको शारदा—दाङ र माडी–दाङ डाइभर्सनको प्रारम्भिक अध्ययन सम्पन्न गरी कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको शर्माले बताए । प्रशस्त खेतीयोग्य जमिन भए तापनि सिँचाइकाे अभावले जमिन बाँझै रहने स्थिति देखिएपछि जिल्लामा आयोजना सुरु भएको हो । 

२१ पोखरी बन्दै

जिल्लामा अल्पकालीन र मध्यकालीन योजनाअन्तर्गत अहिले लिफ्ट सिँचाइ आयोजना तथा पोखरीहरूको निर्माण कार्य भइरहेको छ । गत आर्थिक वर्षमा दाङको बबई गाउँपालिकाको–३ धनवास, सोही ठाउँकै मृगखोला र राणाखोलामा, शान्तिनगर गाउँपालिका–१ ज्यामिरेमा, २ को पेदार दाउन्ने खोला, शान्तिनगर–३ को केराघारीमा पोखरी निर्माणको काम सम्पन्न भएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा–१ को चिसाखानी पोखरी, वडा–३ को थापापानी, सोही स्थानकै राम्री तथा सोही वडाकै खमारी, वडा–४ को बायाँखोला, १९ को स्यालापानीमा पोखरी निर्माणको कार्य पूरा भएको कार्यालय प्रमुख शर्माले बताए । चालू आर्थिक वर्षमा पनि नौ स्थानमा पोखरी निर्माण हुँदैछ । 

सोलार सिस्टमबाट पश्चिम दाङमा सञ्चालनमा ल्याइएको लिफ्ट सिँचाइ आयोजना । 

१४ लिफ्ट सिँचाइ आयोजना

मध्यकालीन योजनाअन्तर्गत जिल्लाका १४ स्थानमा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याइने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा मध्यमस्तरका ड्यामहरूको निर्माण गरी विद्युत् र सोलार सिस्टमबाट पानी वितरण गर्ने गरी लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्न लागिएको हो ।

जसअन्तर्गत गत आर्थिक वर्षबाट नौवटा लिफ्ट सिँचाइ योजनाको काम अहिले सम्पन्न हुँदैछ । यसवर्ष पाँच आयोजनाका लागि टेन्डर आह्वान गरिएको छ । बबई गाउँपालिका–७ ढोलपुर, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी, घोराही उपमहानगरपालिका–९, तुलसीपुर उपमहानगरपालिका–१७ र घोराही उपमहानगरपालिका–७ मा लिफ्ट सिँचाइ आयोजनाका लागि टेन्डर आह्वान गरिएको हो ।

जिल्लाका तीन स्थानमा वर्षाको पानी जम्मा गरी सिँचाइको व्यवस्था गर्ने गरी पनि ड्याम निर्माणको काम पनि अघि बढाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको रानीखोला र ग्वारखोला एवं घोराही उपमहानगरपालिकाको बालिमखोलामा वर्षाको पानी जम्मा गर्न बृहत् ड्याम निर्माण गर्ने गरी प्रारम्भिक अध्ययनको काम सकिएको बृहत् दाङ सिँचाइ आयोजनाका प्रमुख शर्माले बताए ।

५७ हजार हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य 

बृहत् आयोजना कार्यान्वयनमा आएपछि जिल्लाको करिब ५७ हजार हेक्टर जमिन सिञ्चित गर्न सकिनेछ । माडी दाङ डाइभर्सन योजनाबाट मात्रै दाङमा ४० हजार हेक्टर जमिन सिञ्चित गर्न सकिने प्रमुख शर्माले बताए । माडी दाङ डाइभर्सनका लागि २५ किलोमिटरको सुरुङ खनेर दाङमा पानी पु-याइनेछ ।

यस्तै, माडी नदीको मुहान रोल्पा नगरपालिका–५ स्थित पुरन गाउँमा ड्याम निर्माण गरी एक सय ५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको पनि शर्माले बताए । सन् २००८ मा पहिलोपटक अध्ययन गरिएको माडी–दाङ डाइभर्सन योजनाको कामलाई अहिले सरकारले प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उनले बताए ।

यस्तै, सल्यानको शारदा नदी र दाङलाई जोडेर शारदा—दाङ डाइभर्सनअन्तर्गत पनि १० हजार हेक्टर जमिनलाई सिञ्चित गर्ने गरी प्रारम्भिक अध्ययनको काम भइरहेको छ । दाङ उपत्यका बृहत् सिँचाइ आयोजनाका अनुसार जिल्लामा करिब ५७ हजार हेक्टर जमिनमा सिँचाइ अपुग छ ।

बर्खाको पानी तथा जिल्लाका विभिन्न स्थानका खोलाहरूबाट करिब आठ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ । ‘खेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सिँचाइको अभावले बर्र्खा कुर्नपर्ने अवस्था दाङमा देखियो,’ शर्माले भने । तीन तहका रणनीतिक योजनाहरू कार्यान्वयनमा आए समग्र जिल्लालाई सिंचित गर्न सकिने लक्ष्य राखेर बृहत् सिँचाइ आयोजनाले काम गर्दै आएको छ ।