• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

हरित अभियान घोषणा

२०७५ माघ २८ सोमबार ११:१९:०० | विराटनगर

प्रदेश हराभरा बनाउन बहुवर्षे योजनासहित प्रदेश एक सरकारले हरित अभियान घोषणा गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित चतराधाममा जारी महायज्ञको उद्घाटनका दिन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले हरित अभियान घोषणा गरेका हुन् । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति थियो । अभियान घोषणा गर्दै मुख्यमन्त्री राईले प्रदेशलाई हराभरा बनाएर कृषि उत्पादन बढाउनु अभियानको मुख्य लक्ष्य रहेको बताए । अभियान प्रभावकारी बनाउन प्रदेश एक सरकारले सबै क्षेत्रका विज्ञलाई सहभागी गराएर विशेष योजना बनाएको उनले जानकारी दिए । ‘सबैभन्दा बेस्ट एक नम्बर प्रदेश’ भन्ने मूल नारालाई सार्थक बनाउन हरित अभियान सुरु गरिएको उनको भनाइ थियो । 

यसरी सञ्चालन  गरिँदै छ अभियान
मुख्यमन्त्रीका अनुसार अभियानअन्तर्गत खाली जमिन र डाडाँपाखामा वृक्षरोपण गरिनेछ भने नदीनाला थुम्काबाट भइरहेको प्राकृतिक दोहन संरक्षण गरिनेछ । पशुपालनलाई पशुधनमा विकास गरी  प्रांगारिक मलको प्रयोग बढाइने, बीउबिजन र बाली संरक्षणमा प्राकृतिक पद्धति अपनाइने, बाँझो खेतवारीविरुद्ध अभियान चलाइने पनि उनले बताए । 

‘कृषकलाई बहुबाली प्रणालीमा प्रशिक्षित गराइनेछ । पानीका मुहान र कुलो पैनीको संरक्षण गरिनेछ । साना सिँचाइ योजनालाई प्रभावकारी बनाइनेछ । जडीबुटी खेतीको सघन विस्तार गरिनेछ,’ अभियानबारे जानकारी दिँदै मुख्यमन्त्री राईले भने, ‘अभियानमा जमिन खरिद–बिक्री व्यवसायलाई निरुत्साहित गराउने  स्थानीय निकायमार्फत आवास गृह निर्माण गर्ने, एक व्यक्ति एक वृक्ष संरक्षण गर्नेलगायत कार्यक्रम लागू गरिनेछ ।’ हरित अभियान प्रदेश सरकार र जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठ चतराले संयक्त रूपमा सञ्चालन गर्ने जनाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस