मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कैलाली–कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग । तस्बिर : तेजराज भट्ट, धनगढी
जीवन बस्नेत काठमाडौं
२०७७ माघ ४ आइतबार १०:३९:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुलाकी राजमार्ग निर्माण थालनीको  १३ वर्ष नाघ्यो, ५६ प्रतिशत मात्र प्रगति

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ माघ ४ आइतबार १०:३९:००

आयोजनाको लम्बाइ बढेर १ हजार ८५४ किलोमिटर पुग्दै, १७१ किलोमिटरमा अझै ‘अलाइन्मेन्ट’ निश्चित छैन

तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्ग औपचारिक रूपमा निर्माण थालिएको १३ वर्ष नाघेको छ । चालू आर्थिक वर्षको पनि ६ महिना पूरा हुँदै छ । आव ०६५/६६ मा आयोजना निर्माण थालनी गर्दा आव ०७४/७५ मा सम्पन्न गर्ने प्रक्षेपण गरिएको थियो । तर, अहिले संशोधन गरेर आव ०७९/८० पुर्‍याइएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दिएको पछिल्लो प्रगति विवरणअनुसार अहिलेसम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ । तर, आयोजना निर्देशक रोहितकुमार बिसुरालले संशोधित कार्यातालिकाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न गरिने बताए । 

अहिलेसम्म के काम भयो ? 
आयोजनाको कुल १ हजार ७ सय ९२ किलोमिटर सडकमध्ये अहिलेसम्म ६ सय २ किलोमिटर मात्र कालोपत्रे भएको छ । त्यस्तै, २ सय २६ किलोमिटरको ग्राभेल सम्पन्न भएको छ । ६ सय ९५ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ । त्यसबाहेक चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नवलपरासीमा पर्ने जगतपुर वनलगायत क्षेत्रमा १ सय ७१ किलोमिटर सडकमा अझै के गर्ने भन्ने अन्योल छ । किनकि विश्व सम्पदा क्षेत्रमा पर्ने ठाउँको वातावरणीय अध्ययन गरे पनि निकुञ्ज प्रशासनले मानेको छैन । त्यसबाहेक १ सय ७० किलोमिटर भने पहिले निर्माण भएकै सडक प्रयोग गरिनेछ । त्यस्तै, आयोजनामा कुल २ सय १९ वटा पुल निर्माण गर्नुपर्नेछ । त्यसमध्ये अहिलेसम्म ९७ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ७८ वटा पुल  निर्माणाधीन छन् । बाँकी ४४ पुल भने डिजाइन, अध्ययन र अन्य पूर्वतयारीका क्रममा रहेका छन् । 
 
लागत बढेर ६५ अर्ब पुग्यो
हुलाकी राजमार्गको थालनी गर्दा ४७ अर्ब २४ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । तर, पूर्वतयारी नगरी काम गर्दा र समयमा काम नहुँदा लागत बढ्दै गएको छ । अहिले संशोधित कुल लागत ६५ अर्ब २० करोड रुपैयाँ लाग्ने प्रक्षेपण छ । यो थालनीमा अनुमान गरिएको लागतभन्दा १७ अर्ब ९६ करोड रुपैयाँले बढी हो । आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा त्यसलाई वृद्धि गरेर दुई लेनको बनाएकाले लागत वृद्धि भएको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक रोहितकुमार बिसुरालले बताए । आयोजना सुरुवातमा ठेक्का प्रक्रिया, जग्गाप्राप्ति, वनको समस्याका कारण पनि आयोजना ढिलाइ भएको निर्देशनालयको भनाइ छ । 

त्यस्तै, आयोजनाको लागत बढ्नुमा लम्बाइमा भएको वृद्धिलाई पनि लिइएको छ । पहिले कुल लम्बाइ १ हजार ७ सय ९२ दशमलव ४२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थपिएको आयोजना निर्देशनालयले जानकारी दिएको छ । विभिन्न समस्याका कारण रेखांकन परिवर्तन गर्दा लम्बाइ वृद्धि हुन पुगेको हो । यसअघि पूर्वदेखि पश्चिमतर्फको लम्बाइ ९ सय ७५ किमि रहेको थियो भने उत्तर–दक्षिण जोड्ने सहायक सडकहरूको (२८ वटा) लम्बाइ ८ सय १७ दशमलव ४२ किलोमिटर थियो । नेपाल सरकारको लगानीमा बन्दै गरेको सडकमा भारत सरकारबाट प्राप्त हुने ८ अर्ब अनुदान पनि खर्च भइरहेको छ । पूर्व–पश्चिम खण्डमा पर्ने ३ सय किलोमिटर लम्बाइका १० खण्ड सडक भारतको सहयोगमा बनिरहेका छन् । त्यसमध्ये ९ वटा सम्पन्न हुन लागेका र एउटा सम्पन्न हुन अझै दुई महिना लाग्ने आयोजना निर्देशक बिसुरालले जानकारी दिए । हुलाकी राजमार्ग आयोजनाले पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा–चाँदनीसम्मको भू–भागलाई जोड्नेछ ।

पहिलो चौमासिकमा वित्तीय प्रगति ६६%
हुलाकी राजमार्गको पहिलो चौमासिकको वित्तीय प्रगति ६६ दशमलव शून्य ६ प्रतिशत रहेको छ । कात्तिकसम्म २ अर्ब ४३ करोड ५९ लाख ४२ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा १ अर्ब ६० करोड ९१ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको तुलनामा भने २३ दशमलव २१ प्रतिशत मात्र रहेको छ । आयोजनाको चालू आर्थिक वर्ष ०७७/७८ को बजेट ६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ रहेको छ । 

चौमासिक भौतिक प्रगति राम्रो
आयोजनाको पहिलो चौमासिकमा ८२ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकोमा ९० किलोमिटर कालोपत्रे गर्न सफल भएको छ । त्यस्तै, २३ किलोमिटर ग्राभेल गर्ने लक्ष्यमा २८ किलोमिटर प्रगति भएको छ । पुल निर्माणमा भने लक्ष्य पूरा गर्न सकेको छैन । यो अवधिमा ३ वटा पुल निर्माण गर्ने भनिएकोमा २ वटा पुल सम्पन्न भएका छन् । यो वर्ष २१ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै, २ सय ५० किलोमिटर सडक कालोपत्रे गर्ने र ८१ किलोमिटर ग्राभेल गर्ने लक्ष्य तय गरिएको छ । 

बेनी–जोमसोम–कोरोला सडक अब ग्राभेल र कालोपत्रे गर्न बाँकी 

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरोला सडकखण्डको ट्र्याक निर्माणको काम सकिएको छ । कुल १ सय ८६ किलोमिटर सडकखण्डको ट्र्याक खोल्ने काम सकिएको सडक विभागले सार्वजनिक गरेको प्रगतिमा उल्लेख छ । आर्थिक वर्ष ०७३/७४ मा थालनी भएको यो खण्डको काम ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य छ । यस सडकखण्डको ट्र्याक खोल्न र स्तरोन्नति गर्नका लागि ६ अर्ब ७६ करोड रुपैयाँ लागत अनुमान छ । 

अहिलेसम्मको प्रगति
अहिलेसम्म यस सडकखण्डको भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तै, बेनीदेखि कोरोलासम्म सम्पूर्ण सडकखण्डको ट्र्याक खोलिसकिएको छ । त्यसमध्ये १ सय १८ किलोमिटरमा ग्राभेल गर्ने काम पनि सम्पन्न भएको छ । अहिलेसम्म यस खण्डमा ३ खर्ब ६१ अर्ब रुपैयाँ खर्च भएको छ । यो कुल वित्तीय लागतको ५३ दशमलव २४ प्रतिशत हो । 

चालू आवमा ५० किलोमिटर कालोपत्रे र ५३ किलोमिटर ग्राभेल गर्ने
यस सडकखण्डमा चालू आवभित्र ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । त्यस्तै, ५३ किलोमिटर ग्राभेल गर्ने र ४ वटा पुल निर्माण गरिनेछ । चालू आवका लागि यस बेनी–जोमसोम–कोरोला खण्डलाई ८५ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । आयोजना कार्यालयले चालू आर्थिक वर्षको २०७७ कात्तिकसम्ममा लक्ष्यअनुसार नै १० किलोमिटर ग्राभेल गर्ने कार्य पूरा गरेको छ । तर, वित्तीय प्रगति भने निकै न्यून छ । यो अवधिमा १ करोड ५५ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल खर्चको ३ दशमलव ४० प्रतिशत हो । जबकि, पहिलो चौमासिकका लागि ४५ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।