मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भरतपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल
२०७७ माघ ४ आइतबार ०५:५९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

७५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध : प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेताका आपत्ति

Read Time : > 3 मिनेट
२०७७ माघ ४ आइतबार ०५:५९:००

देउवालाई पौडेलको प्रश्न– तालुमा आलु फले तपाईं फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ, किन चुनाव, चुनाव भनिरहनुभएको छ ?

संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएका कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार देशभर भएका कार्यक्रममा कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीले न्यायालयलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएकोमा आपत्ति जनाए ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले गरेको विरोधसभामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले अदालतलाई खुलमखुल्ला दबाब दिइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले ओलीले यो मेरो राजनीतिक निर्णय हो । संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायालयलाई धम्क्याइरहेका छन्,’ पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीले न्यायालयलाई धम्की दिने ? अनि हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतलाई धम्की दिएको हुन्छ ?’ 

सभापति देउवाले अदालतलाई दबाब दिन नहुने भनिरहेकाप्रति कटाक्ष गर्दै पौडेलले भने, ‘आफूअनुकूल फैसला नआउँदा न्यायाधीशलाई महाअभियोग लगाउन तम्सिनेहरू अदालतलाई दबाब दिन हुँदैन भनिरहेका छन् । म त्यस्तो दोहोरो चरित्रको कुरा गर्दिनँ, म त्यस्तो मान्छे होइन । अदालतले सरकारको निर्णय सदर ग¥यो भने प्रश्न गर्छु– न्याय छ कि छैन ?’ 

पौडेलले ओलीले प्रतिनिधिसभाको विघटन सांसदहरूलाई सडकमा ल्याउन मात्र नगरेको बताए । ‘यो विघटनले सांसदको पद मात्रै सकिएको छैन, नेपालको इतिहासको, संविधानको, लोकतन्त्रको र जनताको अपमान गरेको छ । यो लोकतन्त्रविरोधी मात्रै होइन, राष्ट्रवादको समेत खिलापमा छ,’ उनले भने, ‘यो सामान्य कुरा होइन, एउटा प्रतिनिधिसभा गयो, अब अर्को आउँछ भनेर चित्त बुझाउने कुरा होइन, यो त सिंगो राष्ट्रको विरुद्धको घटना हो ।’

पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना भए पनि कांग्रेसलाई नै फाइदा हुने बताए । ‘संसद् पुनस्र्थापना हुँदा पनि हामीलाई नै फाइदा हुन्छ, हामी निर्णायक भूमिकामै छौँ,’ देउवा चुनावतिर लचिलो भएकाप्रति लक्षित गर्दै पौडेलले भने, ‘तालुमा आलु फले तपाईं फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ, किन चुनाव, चुनाव भनिरहनुभएको छ ?’

उनले सत्ताका लागि मात्रै कांग्रेसले राजनीति नगरेको भन्दै लोभलालचमा मात्रै फस्न नहुने बताए । ‘चुनाव आइहाल्यो भनेर कांग्रेस दौडिएर जाने कुरा होइन, लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो, हामीले पहिले लोकतन्त्र जोगाउँछौँ,’ उनले भने, ‘पञ्चायतमा पनि चुनाव भएकै हो । यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ ।’ 

काठमाडौंको कागेश्वरी नगरपालिका र ललितपुर महानगरपालिकामा भएको सभामा बोल्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार कामचलाउ भइसकेको बताए । ‘यो सरकार कामचलाउ भइसक्यो, अब यो सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउँदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ,’ महतले भने । डा. महतले सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसले सबै ध्यान चुनावमा लगाउने बताए । ‘अहिले संसद् पुनस्र्थापना नभए, चुनाव पनि हुँदैन कि भन्ने शंका छ । वैशाखमा निर्वाचन हुनैपर्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनैपर्छ । यदि वैशाखमा चुनाव भएन भने देशभरि आन्दोलनको आँधीबेहेरी आउँछ,’ उनले भने, ‘त्यसपछि यो सरकार ढल्छ ।’ सहमहामन्त्री डा. महतले ओलीले देशलाई अराजकताको बाटोमा लान खोजेमा वा निर्वाचन सुनिश्चित नहुने अवस्था भएमा कांग्रेसले आन्दोलनको नेतृत्व गर्ने बताए । 

काठमाडौंको बुढानीलकण्ठ र ललितपुरको महांकाल गाउँपालिकामा भएको सभामा बोल्दै नेता गगन थापाले प्रधानमन्त्री ओलीले किर्ते काम गरेकाले उनको नाम किर्तेप्रसाद ओली भएको टिप्पणी गरे । ‘अध्यादेश सिफारिस गर्दा किर्ते, संसद् विघटनको सिफारिस गर्दा किर्ते, अरू के–के काममा किर्ते भएको छ ? अब केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, किर्तेप्रसाद ओली राख्यो भने उपयुक्त हुन्छ,’ उनले भने । 

नेता थापाले प्रतिनिधिसभा विघटन असंवैधानिकभन्दा पहिले अनधिकृत भएको बताए । ‘ओलीले गरेको यो काम असंवैधानिक हो । तर, त्योभन्दा पहिले त्यो अनधिकृत हो,’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्ने कुरा कल्पनै गरिएको छैन । यो नजानेर नलेखिएको होइन, जानेर नलेखिएको हो । विगतबाट सिकेर गरिएको हो । संसद्ले सरकार दिन नसक्ने अवस्थामा मात्रै संसद् भंग गर्ने व्यवस्था हाम्रो संविधानमा छ । तर, यहाँ त बहुमत भएको प्रधानमन्त्रीले संसद् भंग गर्नुभएको छ, यो असंवैधानिक मात्रै होइन, अनधिकृत काम हो ।’ 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाए । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ ? उहाँ नेपालको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको गुटपति ?’ थापाले प्रश्न गरे । 

भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा भएको विरोधसभामा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरे । ‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी छ । त्यसैले प्रधानमन्त्रीजी सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्नुस्,’ शर्माले भने, ‘न्यायाधीश तपाईंको पार्टीको पोलिटब्युरो सदस्य होइनन्, तपाईंको आदेश मान्ने राष्ट्रपतिजस्तो पनि होइनन् । उहाँहरूले संविधान बुझ्नुभएको छ । तपाईंको भाषणको स्क्रिप्ट पढेर होइन । संविधान हेरेर फैसला गर्नुहुन्छ ।’ 

शर्माले अब ओली घर फर्किने वेला भएको जानकारी गराए । ‘यो वेला उहाँले सर्वोच्च अदालतको फैसला स्विकार्न तयार छु भन्नुपर्ने हो, तर धम्कीको भाषा बोलिरहनुभएको छ,’ उनले भने, ‘अदालतले विघटन सदर गर्‍यो भने पनि र बदर गर्‍यो भने पनि कमरेड ओली बालकोट फर्किने होे, कार्यकर्ताहरूले स्वागतको तयारी थाले हुन्छ ।’ शर्माले कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । ‘नेकपाको सरकार भ्रष्टाचार निर्मूल पार्ने होइन, संस्थागत गर्ने संस्कार भएको पार्टी हो, नभए हेर्नुस् भ्रष्टाचारका कति काण्डहरू घटेका छन् ?’ उनले भने । 

काठमाडौं महानगरपालिकामा भएको विरोध सभामा नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताए । ‘म नै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो, निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’ उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न नमिल्ने बताए । 

७५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध 
कांग्रेसले देशभरका सात सय ५३ वटै स्थानीय तहबाट प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएको कांग्रेसले शनिबार सबै नगरपालिका÷पालिकाका केन्द्रबाट विरोध गरेको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिको १९ पुसको निर्णयबमोजिम सरकारविरुद्ध विरोध र्‍याली र विरोध सभा गरेको हो । सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध देशव्यापी भएको शान्तिपूर्ण प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको बताए ।

विज्ञप्ति जारी गर्दै देउवाले विरोध प्रदर्शन र सभामा सहभागी हुने सबैलाई बधाई तथा धन्यवादसमेत दिएका छन् । कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका तीन सय ३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ पुसमा एक सय ६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो ।

यसपछि आगामी बिहीबार देशैभरका ६ हजार सात सय ४३ वटै वडाका केन्द्रहरूमा विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसको तयारी रहेको छ । जिल्ला, क्षेत्र र पालिकास्तरमा जस्तै वडास्तरका कार्यक्रममा पनि थप क्रियाशील भएर सशक्त विरोध प्रदर्शनका लागि तयारी रहन देउवाले आग्रह गरेका छन् ।