१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
 पेट्रोलियम तालिम केन्द्रमा प्राविधिक सहयोग गर्ने विषयमा समझदारी गर्दै आइओसीको तालिम विभागका प्रमुख महाप्रबन्धक एमआर दास (दायाँ) र निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादव ।
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार २१:२८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलियम प्रविधिबारे पहिलो तालिम केन्द्र बन्दै, आइओसीसँग प्रारम्भिक समझदरीपत्रमा हस्ताक्षर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार २१:२८:००

वार्षिक दुई खर्ब ५० अर्बको कारोबारलाई नियमन गर्न पेट्रोलियम पदार्थसम्बन्धी सामान्यदेखि उच्च तहको तालिम लिन भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । नेपाल आयल निगमले थानकोटमा तल्लो तहका प्राविधिकदेखि निर्देशक तहसम्मको कर्मचारीलाई तालिम दिने गरी सुविधासम्पन्न ताालिम केन्द्र निर्माणको सुरुवात गर्न लागेको हो । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको तालिम केन्द्र नेपालकै पहिलो हुनेछ ।

तालिम केन्द्र निर्माणका लागि निगमको एक टोलीले इन्डियन आयल कर्पोरेसन (आइओसी)को तालिम विभागसँग प्राविधिक सहयोग लिने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार मुम्बईस्थित आइओसीको कर्पोरेट कार्यालयमा आयल निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादव र आइओसीको तालिम केन्द्र विभागका प्रमुख महाप्रबन्धक (सिजिएम) एमआर दासबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

‘तालिम केन्द्र आयल निगमले नै बनाउने हो । तर, पहिलोपटक बन्न लागेको तालिम केन्द्रमा प्राविधिक त्रुटि केही नहोस् भन्नका लािग आइओसीसँगको सहयोग चाहेका थियौँ’ मुम्बईबाट फोन सम्पर्कमा यादवले भने, ‘आइओसी अधिकारीसँग सामान्य छलफलपछि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब निर्माणसम्बन्धी काम अघि बढाइहाल्छौँ ।’

निगमले थानकोटस्थित बागमती प्रादेशिक कार्यालयको स्वामित्वमा रहेको साढे चार रोपनी जग्गामा आठतले तालिम केन्द्र भवन बनाउन लागेको हो । ‘माघ दोस्रो हप्तासम्म निर्माणका लागि टेन्डर खुलाउने गरी अहिले डिजाइन र लागत अनुमानको काम भइरहेको छ’ यादवले भने । तीन वर्षभित्र तालिम केन्द्र बनेपछि यहाँ आधुनिक उपकरण, रसायनलगायतका सामान राखिने उनले बताए ।

यो तालिम केन्द्रमा चालक, सहचालक, पेट्रोलियम व्यवसायीदेखि निगमको सामान्य प्राविधिक (ब्राउजर अपरेटर)देखि निर्देशक तहसम्मका कर्मचारीलाई चाहिने प्राविधिक ज्ञान दिन सकिनेछ । ‘तालिम केन्द्र बनेपछि पेट्रोलियमसम्बन्धी टे«निङका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँ सामान्यदेखि उच्चस्तरका तालिमहरू प्रदान गर्न सकिने सुविधा उपलब्ध हुनेछ’ यादवले भने ।
तालिम केन्द्रको अभावमा बर्सेनि निगमको धेरै कर्मचारीहरू आइओसीको भारतमा रहेका विभिन्न तालिम केन्द्रमा जाने गरेका छन् । 

पछिल्लो समय पेट्रोलियम पाइपलाइन निर्माण भएपछि यससम्बन्धी सम्पूर्ण ज्ञान लिन आइओसीकै भर पर्नुपरेको थियो । तालिम केन्द्र बनाएपछि भारतलगायत विश्वका उत्कृष्ट प्रशिक्षक झिकाएर कर्मचारीलाई तालिम दिन सजिलो हुने निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
‘मुलुकमा सबैभन्दा ठूलो रकमको कारोबार गर्ने पेट्रोलियम क्षेत्रको सुरक्षा र ह्यान्डलिङसँग जोडिएको तालिमका विषयमा अहिलेसम्म कसैले ध्यान दिएको पाइएन । पेट्रोलियमजस्तो जोखिमपूर्ण वस्तुको ह्यान्डलिङ गर्न आफ्नै तालिम केन्द्र भए ससाना कुरामा पनि कर्मचारीलाई प्रशिक्षित गर्न सकिन्थ्यो कि भन्ने लागेको छ’ पौडेलले भने, ‘हामीले तालिम केन्द्र बनाएपछि पेट्रोलियमसम्बन्धी पहिलो तालिम केन्द्र हुनेछ ।’

पेट्रोलियम कारोबार गर्दा मिसावट हुने, डिपो तथा पम्पमा आगलागी हुने, चुहावट हुने, पेट्रोलियममा पानीलगायत अन्य वस्तु मिसावट हुनेलगायतका विषय कर्मचारी तथा व्यवसायीलाई तालिम दिएर गुणस्तरीय पेट्रोलियमको आपूर्ति र सुरक्षित कारोबारको सुनिश्चितता गर्न खोजिएको पौडेलले बताए ।