१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ३ शनिबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध आज ७५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध 

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार १०:५६:००

प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज ७५३ वटै स्थानीय तहबाट विरोध गर्दै छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्‍याली र विरोधसभा गर्ने कार्यक्रम राखेको हो । 

सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागिता तथा प्रभावकारी रूपले सफल बनाउन अपिल गरेका
छन् । ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौँ, संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले शुक्रबार विज्ञप्तिमार्फत भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ पुसमा १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध विरोध कार्यक्रम र सभा आयोजना गरेको जनाएको छ ।

शनिबारको कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका नेताहरु गाउँ–गाउँ पुगेका छन् । ‘धेरैजसो केन्द्रीय सदस्यहरू जिल्लामै हुनुहुन्छ, विरोध कार्यक्रमलाई प्रभावकारी बनाउन सभापतिज्यूले निर्देशन दिनुभएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । 

सरकारले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ७ गतेबाट बसेको केन्द्रीय समिति बैठकमा आन्दोलन गर्ने वा नगर्ने विषयमै नेताहरूबीच मतभेद देखिएको थियो । तर, नेकपाकै दाहाल–नेपाल समूह र जसपासमेतले निरन्तर आन्दोलनका कार्यक्रम राखेपछि कांग्रेसले पनि कार्यकर्ताको तहसम्मै आन्दोलनका कार्यक्रम राखेको हो ।

यसपछि आगामी बिहीबार देशैभरका ६ हजार सात सय ४३ वटै वडाका केन्द्रहरूमा विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसको तयारी छ ।