मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ३ शनिबार ०९:११:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बुटवलमा नागरिक आन्दोलनको मैनबत्ती जुलुस

Read Time : < 1 मिनेट
२०७७ माघ ३ शनिबार ०९:११:००

संसद् पुनर्स्थापनाको माग गर्दै लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनले शुक्रबार बुटवलमा मैनबत्ती जुलुस निकालेको छ । जुलुसमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी थिए । रुपन्देहीमा कार्यरत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि सदस्य रहेको नागरिक आन्दोलन केही दिनअघि मात्रै गठन गरिएको हो । 

उनीहरूले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको सिलसिला भन्दै न्याय मर्न नदिने उद्घोष गरे । ब्यानरसहितको जुलुस राजमार्ग चौराहामा पुगेर समापन भएको थियो । नागरिक आन्दोलनका संयोजक एवं मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, पत्रकार बालकृष्ण चापागाईं, संविधानसभा सदस्य विनोद पहाडी, नेपाल बार काउन्सिलका सदस्य बाबुराम पाण्डे, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापालगायतले संसद् पुनर्स्थापना हुनुपर्ने धारणा राखेका थिए । 

नागरिक अगुवाहरूले प्रतिनिधिसभाको विघटन संविधानविपरीत रहेको भन्दै प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रविरोधी काम गरेको जिकिर गरे । सञ्जालका संयोजक खनालले प्रधानमन्त्रीले प्रतिगमनकारी कदम चालेको भन्दै प्रतिगमनविरुद्ध नागरिकको खबरदारी आवश्यक रहेको बताए । पत्रकार चापागाईंले असंवैधानिक कदम सच्याएर अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।