मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मी काफ्ले
२०७५ माघ २८ सोमबार ११:१०:००
Read Time : > 1 मिनेट
समाचार

लोपोन्मुख सालकको चोरी–सिकारी बढ्दो

झापाको जलथल जंगलमा रहेका सालक स्थानीयले मारेर खान्छन् भने तस्कर खपटाको कारोबार गर्छन् 

Read Time : > 1 मिनेट
लक्ष्मी काफ्ले
२०७५ माघ २८ सोमबार ११:१०:००

झापाको जलथल जंगलमा पाइने लोपोन्मुख सालक असुरक्षित बन्दै छन् । स्थानीय र तस्करले सालकको चोरी–सिकारी गरिरहेका छन् ।  वन्यजन्तु अनुसन्धानकर्ता सागर दाहालले जलथल क्षेत्रमा मृत सालकका खपटा भेटिएको बताए । उनका अनुसार स्थानीयले दुर्लभ जातको सालक मारेर खाने गरेका छन् । त्यस्तै, तस्करले सालकको खपटा बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

डिभिजन वन कार्यालय झापाले जलथलको जंगलमा सालक तस्करी हुने गरेको स्विका-यो । ‘मैले झापामा जिम्मेवारी सम्हाल्नुअघि भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएर तस्करीमा संलग्नलाई कारबाही गरिएको रहेछ । सालकलगायत वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न हाम्रो संयन्त्रले सजगता अपनाउँदै आएको छ । तर, हाम्रो संयन्त्र मात्र पर्याप्तचाहिँ छैन । यसमा सुरक्षा निकायको पनि सहयोग चाहिन्छ,’ डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेले भने । जलथल जंगलवरपर २२ वटा सामुदायिक वन छन् । वन कार्यालयले सामुदायिक वनका उपभोक्तालाई सजग गराउने काम गरिरहेको घिमिरेले बताए । 

४३ जिल्लामा पाइन्छन् 
नेपालका ४३ जिल्लामा सालक भेटिएको छन् । नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा सालक पाइन्छ । यसको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरका सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । आफूलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुडुल्किएर भकुन्डोजस्तै डल्लो पर्छ । 

सालकले एक बेतमा एउटा मात्र बच्चा जन्माउने गर्छ । जन्मिएका बच्चाहरूमा पनि ३० प्रतिशत बच्चा मात्रै बाँच्ने गरेको तथ्यांक छ । त्यसैले प्राकृतिक रूपमै यसको संख्या कम हुँदै गइरहेको विज्ञहरू बताउँछन् । विश्वमा पाइने आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक अर्थात् चाइनिज पेन्गोलिन’ र तामे सालक अर्थात् ‘इन्डियन पेन्गोलिन’ नेपालमा पाइन्छन् ।

 किन हुन्छ तस्करी ?
धनाढ्यहरूले सालकलाई घर, रेस्टुरेन्ट वा बगैँचामा पाल्ने गरेका छन् । त्यसका लागि जिउँदै तस्करी हुन्छ । जानकारका अनुसार सालकको खपटा दमको उपचारमा प्रयोग हुन्छ । मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औँठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधिका लागिसमेत सालकका खपटा प्रयोग हुँदै आएका छन् । 

नेपाल प्रहरीले ०६९ देखि ०७५ साउनसम्म सालकका ३४ जना कारोबारीलाई पक्राउ गरेको छ ।नेपालीबाट तस्करी भएका अधिकांश खपटा चीन र भियतनाम पुग्ने गरेका छन् । सालक विश्वमै बढी चोरी–सिकारी हुने प्राणीमध्ये एक हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका अनुसार पछिल्लो १० वर्षमा विश्वमा १० लाख सालक मारिएका छन् ।