मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३ शनिबार ०८:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व ब्याडमिन्टनमा प्रिन्सको फड्को

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३ शनिबार ०८:५८:००

विश्व ब्याडमिन्टन महासंघले शुक्रबार सार्वजनिक गरेको यू–१९ तर्फको वरीयतामा नेपालका प्रिन्स दाहाल तेस्रो स्थानमा उक्लेका छन्, प्रिन्सले एकैपटक आठ स्थान सुधार गर्न सफल भए

नेपालका युवा खेलाडी प्रिन्स दाहाल विश्व जुनियर वरीयतामा अहिलेसम्मकै उत्कृष्ट स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासंघ (डब्लुबिएफ)ले शुक्रबार सार्वजनिक गरेको जुनियरतर्फको वरीयतामा प्रिन्स तेस्रो स्थानमा उक्लेका छन् । उनले एकैपटक आठ स्थान सुधार गरी शीर्ष तीनभित्र आफूलाई समावेश गरेको डब्लुबिएफले जनाएको छ । यसअघिको वरीयतामा उनी ११औँ स्थानमा थिए । 

कोरोना भाइरसको महामारीमा कुनै पनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलकुद प्रतियोगितामा सहभागिता नजाए पनि प्रिन्सले डब्लुबिएफको वरीयतामा छलाङ मार्न सफल भए । प्रिन्सले १० हजार चार सय अंक बटुलेका छन् । गत डिसेम्बरमा उनी ११औँ स्थानमा थिए । जुनियर यू–१९ डब्लुबिएफको वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको ठूलो उपलब्धि यही नै हो । प्रिन्सभन्दाअघि डेनमार्क र भारतका खेलाडी छन् । शीर्ष स्थानमा डेनमार्कका माड्स जुएल छन् । माड्सले पनि १३ हजार ५ सय ५० अंक हात पारेका छन् । दोस्रो स्थानमा भारतका वरुण कपुर छन् । 

उनले १३ हजार १ सय ५० वरीयता अंक हात पारे । प्रिन्सले करिअरमा यू–१९ तर्फ ४९ एकल खेल खेलेका छन् । जसमा उनले ३१ जित र १८ हारको नतिजा निकाल्न सफल भए । गत वर्ष कोरोना भाइरस महामारीका रूपमा फैलनुअघि प्रिन्सले तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी योनेक्स जर्मन ओपनको चौथो चरणसम्म पुगेका थिए । प्रिक्वार्टरफाइनलमा प्रिन्स फ्रान्सका यानिससँग २१–१८, १२–२१ र ११–२१ को सेटमा पराजित भएका थिए । 

यसैगरी नेदरल्यान्डमा भएको योनेक्स डच ओपनमा प्रिन्सले अन्तिम १६ सम्म स्थान सुरक्षित गरेका थिए । क्वार्टरफाइनलमा भएको प्रतिस्पर्धामा प्रिन्स चाइनिज ताइपेईका ची युसँग सीधा सेट १६–२१ र १७–२१ ले पराजित भए । गत वर्ष नेपालमै भएको प्रेसिडेन्ट कपमा उनी उपविजेतामा सीमित भए । उपाधि भिडन्तमा प्रिन्स भारतका मेराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ ले पराजित हुन पुगे । त्यसपछि कोरोना भाइरसका कारण विश्व ब्याडमिन्टन महासंघले कुनै पनि प्रतियोगिता सञ्चालन गरेन । 

प्रिन्सले जर्मन तथा डच जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा समान एक हजार तीन सय ७५ अंक बटुलेका थिए । सन् २०१८ मा प्रिन्स यू–१९ विश्व वरीयताको ९ सय ५५औँ स्थानमा रहेको बिडब्लुएफले जनाएको छ । यो तीन वर्षभित्र प्रिन्सले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकल स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । यसैकारण प्रिन्सले वरीयतामा ऐतिहासिक फड्को मारेका हुन् । प्रिन्स सिनियरतर्फको विश्व वरीयतामा ४ सय ४०औँ स्थानमा छन् । यसैगरी मिक्सतर्फ उनी ५ सय ६६औँ स्थानमा रहेको डब्लुबिएफले जनाएको छ । 

यू–१९ विश्व वरीयतामा प्रिन्सले एकपछि अर्को सफलता चुम्नुको मुख्य कारण नै सन् २०१९ मा दुबईमा भएको दुबई जुनियर ओपन थियो । उनले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि दिलाएका थिए । दुबई ओपनको फाइनलमा प्रिन्सले तत्कालीन उपाधि दाबेदार बरुण कपुरलाई २१–१९ र २१–१९ को सीधा सेटमा हराउँदै ऐतिहासिक एकल उपाधि जित्न सफल भए ।