१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार ०८:५१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४३ प्रतिशतले बढ्यो क्युआर कोडबाट भुक्तानी  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार ०८:५१:००

२ लाख ४१ हजारपटक कात्तिकमा प्रयोग भएको क्युआर कोडमार्फत भुक्तानी मंसिरमा ३ लाख ४३ हजारपटक पुग्यो

उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा क्युआर कोडको प्रयोग ४३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा भुक्तानीका लागि २ लाख ४१ हजारपटक क्युआर कोडको प्रयोग भएको थियो । मंसिरमा यो संख्या बढेर ३ लाख ४३ हजारपटक पुगेको छ । यो माध्यमबाट हुने भुक्तानी रकममा समेत उक्त अवधिमा करिब ३४ प्रतिशतले वृद्धि भएको छ । कात्तिकमा ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको क्युआर कोडबाट मंसिरमा १ अर्ब २५ करोड भुक्तानी भएको छ । 

नक्साल तरकारी बजारमा पहिलोपटक १० पुसमा भुक्तानी माध्यमका रूपमा क्युरआर कोडको प्रयोग गरिएको थियो । सो दिनबाट राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरिने बताएको थियो । ‘यो सजिलो र सुरक्षित दुवै छ, त्यसैले पनि यसको प्रयोग वृद्धि भइरहेको हो,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । पछिल्लोपटक कालिमाटी तरकारी बजारलगायतमा समेत यस्तो भुक्तानी माध्यमको प्रयोग सुरु गरिएको छ । 

बैंकहरूले आफ्नो क्यास काउन्टरमा आउनेलाई चेकको विकल्पमा समेत यस भुक्तानी प्रणालीको प्रयोग गर्न प्रेरित गरिरहेका छन् । खातावाला ग्राहक स्वयं चेकमार्फत रकम झिक्न आउँदा कतिपय बैंकहरूले उनीहरूलाई क्युआर कोडको प्रयोग गरे लाइनमा बस्नुनपर्ने सुविधा दिइरहेका छन् । ग्राहकले मोबाइलबाट क्युआर कोड स्क्यान गरेर स्वीकृत गरेपछि बैंकको काउन्टरबाटै स्वीकृत गरेबराबरको नगद पाउने व्यवस्था मिलाएका छन् । कतिपयले भने यस्तो कारोबारका लागि छुट्टै डिजिटल काउन्टर नै खडा गरेका छन् ।  

‘हामीले डिजिटल काउन्टर नै बनाएर यस्तो सेवा दिइरहेका छौँ,’ सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठले भने, ‘पछिल्लो समय हाम्रो बैंकका खातावालाले यहाँ खाता नखोलेका आफ्ना नातेदार वा साथीलाई समेत क्युआर कोडको प्रयोग गर्ने सुविधा मिलाउन सक्ने व्यवस्था गरेका छौँ ।’  

सानिमा बैंकका ग्राहकले सानिमा एपको प्रयोग गरेर इ–क्यासबाट आफन्तको मोबाइलमा ओटिपी (वान टाइम पिन) पठाउन सक्छन् । ग्राहकका आफन्तले यो ओपिटी सानिमा बैंकको काउन्टरमा देखाएर रकम झिक्न सक्छन् । राष्ट्र बैंककोअनुसार विद्युतीय भुक्तानी कारोबारमा संख्याका आधारमा ६ प्रतिशत र रकमका आधारमा १५ प्रतिशतले वृद्धि भएको हो । मंसिरमा २३ खर्ब ७७ अर्बको रकम इटरनेट बैंकिङलगायतका डिजिटल माध्यमबाट भुक्तानी भएको छ । कात्तिकमा भने यस्तो भुक्तानी २० खर्ब ५८ करोड रुपैयाँ भुक्तानी रहेको थियो ।

के हो क्युआर कोड ?
क्विक रेसपोन्स कोडको छोटकरी रूप हो, क्युआर कोड । यसलाई डिजिटल बैंकिङमा अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यमका रूपमा लिइन्छ । यो मुख्यतः दुई प्रकारको हुन्छ, डाइनामिक र स्टाटिक । मानौँ, कुनै व्यापारीले क्युआर कोडमार्फत भुक्तानी लिने गरेको छ भने खरिद गर्ने ग्राहकले क्युआर कोड स्क्यान गर्छ । कोड स्क्यान गरेपछि ग्राहकको मोबाइल स्क्रिनमा पसलेको नाम र बैंक खाता नम्बर देखिन्छ । पसलेलाई बैंकबाट स्टाटिक कोड बनाइदिएको छ भने ग्राहकले तिर्नुपर्ने रकम टाइप गरेर पिन नम्बर हालेपछि ग्राहकको खाताबाट पैसा जान्छ । 

यदि डाइनामिक कोड हो भने तिर्नुपर्ने रकमसमेत उल्लेख भएर आउँछ र ग्राहकले रुजु गरेर पठाउन सक्छ । बारकोड (अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिने हरेक सामानमा बारकोड प्रयोग भएको हुन्छ ।) उल्लेख भएका सामानको भुक्तानीका लागि मात्रै डाइनामिक कोड प्रयोग गर्न मिल्छ । क्युआर कोडबाट अहिले दिनको १ लाख रुपैयाँ र महिनाको १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।