मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सडकको दमकल भवन पुनर्निर्माण गर्न पुरातत्व विभागले सहमति नदिएको मेयर शाक्यको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २ शुक्रबार १६:३१:००

विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरूको स्मृतिमा आज शुक्रबार बिहान भूगोलपार्कमा स्मृतिसभा आयोजना गरिएको छ । 

महानगरले हरेक बर्ष माघ २ गते स्मृतिसभा आयोजना गर्ने गरेको छ । विगतका भूकम्पहरूको क्षति सम्झना गर्दै आगामी दिनका सम्भावित जोखिमबाट बच्न सचेतना सन्देश दिने उद्देश्यले सभा आयोजना गर्ने गरिएको हो । 

सभामा बोल्दै गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग गर्ने बताए । 

‘नागरिक सचेतना र विपत् व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दखल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्था छ ।’ मन्त्री थापाले भने । 

कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत्तिबाट बच्नका लागि पूर्वतयारी, प्रचलित कानुनको पालना र आपसी समन्वय संयन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । 

आगलागीको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने ‘आगलागी एक्लै ठूलो घटना हो । यो घटना भूकम्पजस्ता विपत्तिबाट पनि सिर्जना हुन्छ । काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा हामीले बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरिसकेका छौँ । महाराजगन्जमा भवन निर्माणको चरणमा छ । नयाँ सडकको भवन पुरानो छ । हामीले यसलाई पुनर्निर्माण गर्न चाहेका छौँ । तर, पुरातत्व विभागले सहमति दिएन । रात–विरात उठेर सेवामा जानु पर्ने अग्नि नियन्त्रक आफैँ जोखिममा बसेका छन् ।’ 

स्मृतिसभामा सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रबहादुर साउद, नगर प्रहरी जवान मोहन चौधरी र नगर प्रहरी जवान विपिन घिमिरेलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । २०६८ साल मंसिर २८ गते बेलुका वीर अस्पताल अगाडि भएको आगलागी नियन्त्रणका क्रममा साउदको एउटा हात गुमेको छ । 

भूगोलपार्कको स्मृति सभापछि गृहमन्त्री थापाले दमकल प्रदर्शनी र जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गर्नुभएको थियो । दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री थापालाई मेयर शाक्यले भवनको माथिल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाएका थिए । 

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवनमा अग्नि नियन्त्रकहरू बस्ने गरेका छन् । 

काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) का प्रमुख लीलाराज गाछाका अनुसार दकमल प्रदर्शनीमा चारवटा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानीट्यांकी र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन राखिएका छन् । 

प्रदर्शनी भोलिसम्म रहनेछ ।