• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

बसपार्क शिलान्यास, जग्गाधनीले देखाए कालो झन्डा

२०७५ माघ २८ सोमबार १०:५३:०० | धरान

धरान  उपमहानगरपालिकाले धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना स्थलमा बसपार्क निर्माण सुरु गरेको छ । धरान उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले आइतबार बसपार्क शिलान्यास गरिन् ।  १७ वर्षअघि सुन्दरवस्ती विकास आयोजनाका नाममा अधिकरण गरी बसपार्क निर्माण गर्न खोजिए पनि राजनीतिक खिचातानीका कारण अहिलेसम्म निर्माण हुन सकेको छैन । तत्कालीन समयमा नगरपालिकाका केही कर्मचारीले बसपार्क बन्ने स्थान वरपरका जग्गा हडपेको भन्दै स्थानीयले पनि बसपार्क बन्न दिएका थिएनन् । आइतबार पनि त्यस्तै, दृश्य देखियो । एकातिर बसपार्क शिलान्यास भइरहँदा अर्कोतिर केही स्थानीयले प्रदर्शन गरिरहेका थिए । 

१ वर्षअघि उपप्रमुख मञ्जु भण्डारीको संयोजकत्वमा समस्या समाधानका लागि समिति बनाएर काम थालिएको थियो । शिलान्यासपछि भण्डारीले पीडितलाई न्याय दिने बताइन् । ‘वर्षौँदेखि आयोजना रोकिएको छ । अन्यायमा परेका जग्गाधनीलाई न्याय हुने गरी काम गरिनेछ,’ उनले भनिन्, ‘पीडितले भनेजस्तै नगरपालिकाका कर्मचारी वा उनीहरूका आफन्तको नाममा भएको सबै जग्गा उपमहानगरले अधिग्रहण गर्नेछ ।  

जग्गाधनीहरू ढुक्क हुनोस् ।’ तत्कालीन समयमा ८६ जना स्थानीयहरूसँग निःशुल्क लिइएको जग्गा धरान नगरका कर्मचारीले आफन्तको नाममा पास गर्न थालेपछि आयोजना रोकिएको थियो । बस्ती विकासका लागि १३ बिघा ५ का १९ धुर जग्गामध्ये बसपार्कका लागि ढेड बिघा मात्रै छुट्याइएको थियो । जसमा बसपार्क बन्न सक्दैन भन्ने निष्कर्षसहित जग्गादाता तथा स्थानीयले ‘पीडित जग्गाधनी संघर्ष समिति’ नै गठन गरेर आन्दोलन थालेका थिए ।

सहमति जुट्यो, हस्ताक्षर भएन
आयोजनाबाट पीडित भनिएका दर्जन बढी जग्गाधनीले सहमति नगरी शिलान्यास गरेको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार उनीहरूले शिलान्यास कार्यक्रमनजिकै कालो झन्डा प्रदर्शन गरे । जग्गाधनीसँग भएको विवाद समाधान गर्न तत्कालीन मेयर तारा सुब्बाले उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा समिति बनाएका थिए । समितिले जग्गाधनीसँग छलफल गरेर सहमति जुटाएको थियो । तर, सहमति–पत्रमा हस्ताक्षर नहुँदै शिलान्यास भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् । धरानको भानुचोकमा अहिले बसपार्क सञ्चालन हुँदै आएको छ । साँगुरो स्थानमा रहेकाले बसपार्क अस्तव्यस्त छ । 

 डिपिआर नबन्दै शिलान्यास
आयोजनामा बसपार्क बनाउन प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । सोही बजेटबाट बसपार्कको डिपिआर, एप्रोच रोडलगायत निर्माण कार्यहरू सुरु गर्न उपमहानगरले शिलान्यास गरेको हो । तर, डिपिआरविना नै शिलान्यास गर्न लागिएको भन्दै उपमहानगरको आलोचनासमेत भएको छ । प्रदेश सरकारले कार्यविधि बनाई नसकेकाले तत्काल डिपिआरको काम नभएको कार्यवाहक नगरप्रमुख भण्डारीले बताइन् । फागुनभित्र काम सुरु नगरे प्रदेशको बजेट फ्रिज हुने भएकाले डिपिआरविना नै शिलान्यास गर्नुपरेको वडा नम्बर १५ का अध्यक्ष इवारामले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस