मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ माघ २ शुक्रबार १०:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा सेजको भाडादर ५० प्रतिशतसम्मले घटाउने तयारी

भाडादर र निर्यातको सीमा पुनरावलोकन हुँदै, पूर्वाधार निर्माण गरेर सेज पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ माघ २ शुक्रबार १०:२१:००

सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर साबिकभन्दा ५० प्रतिशतसम्मले घटाउने तयारी गरेको छ । उद्योगी–व्यवसायीले भाडादर महँगो भएको गुनासो गर्दै भैरहवा सेजमा उद्योग खोल्न इच्छा नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले भाडादर झन्डै आधा कायम गर्ने तयारी गरेको हो ।

हाल भैरहवा सेजको भाडादर प्रतिवर्गमिटर २० रुपैयाँ कायम गरिएको छ । यसलाई घटाएर ८ रुपैयाँदेखि १२ रुपैयाँ प्रतिवर्गमिटर कायम गर्ने तयारी गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । ‘भाडादर घटाउने प्रस्ताव एकपटक सञ्चालक समितिमा आइसकेको थियो,’ उनले भने, ‘पुनः अध्ययन गरेर प्रस्ताव गर्ने गरी तत्काललाई फिर्ता गरिएको छ, अबको बैठकमा पुनः प्रस्ताव आउनेछ र पारित गरिनेछ ।’ सम्भवतः प्राधिकरण सञ्चालक समितिको आगामी बैठकले भाडा घटाउने निर्णय गर्नेछ । 

उद्घाटन भएको पाँच वर्ष बितिसक्दासमेत भैरहवा सेज आंशिक रूपमा मात्रै सञ्चालनमा आउन सकेको छ । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले निर्माण सम्पन्न भएको भन्दै २ मंसिर ०७२ मा भैरहवा सेजको उद्घाटन गरेका थिए । त्यसपछि थप पूर्वाधार निर्माण गरी ५ फागुन ०७३ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले भैरहवा सेजको कार्यालय उद्घाटन गरे । उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि भैरहवाका ६७ प्लटमध्ये ४१ प्लट खाली छन् । उद्योगले लिएका २५ वटा प्लटमा पनि उद्योग सञ्चालनमा आउन सकेका छैनन् । जम्मा दुईवटा उद्योग मात्रै सञ्चालनमा छन् । 

खासगरी भाडादर महँगो भएको, पूर्वाधार निर्माण सम्पन्न नभएको र त्यहाँ स्थापना उद्योगले गर्नुपर्ने निर्यातको सीमा बढी भएको भन्दै उद्योगीले भैरहवा सेजमा उद्योग खोल्न इच्छा देखाएका छैनन् । उद्योगका यस्ता गुनासालाई ध्यान दिएर अहिले भाडादर पुनरावलोकन र निर्यातको सीमा पुनरावलोकनका लागि अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्यालले बताए ।

‘भाडादर र निर्यातको सीमा बढी भएको भन्दै त्यसलाई घटाउन उद्योगी–व्यवसायीले माग गर्दै आएका छन्,’ उनले भने, ‘छिमेकी मुलुकमा भएको व्यवस्था र उद्योगी–व्यवसायीका सुझाबअनुसार भाडादर पुनरावलोकन गर्दै छौँ ।’ यद्यपि, भाडादर के–कति प्रतिशतले घटाउने विषय टुंगोमा पुगिनसकेको उनले बताए । ‘छिमेकमा भएको अभ्यासलाई समेत अध्ययन गरेर उद्योगी–व्यवसायी पनि आकर्षित हुने र सरकारलाई पनि असर नपर्ने गरी भाडादर कायम गर्नेछौँ,’ उनले भने । 

 ४० प्लटमा उद्योग स्थापनाका लागि आह्वान गरिँदै
भैरहवा सेजका ४१ वटा प्लट अझै खाली छन्, अर्थात् यी प्लट उद्योगीले लिएका छैनन् । खाली रहेका प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गर्ने तयारीसमेत थालिएको रिज्यालले बताए । ‘भाडादर र निर्यातको सीमा घटाउने अध्ययन तथा पूर्वाधार निर्माणसँगै खाली रहेका प्लटमा उद्योग स्थापना गराउने प्रक्रियासमेत सँगसँगै अघि बढाएका छौँ,’ उनले भने, ‘सबै निर्माण तथा प्रक्रियालाई अविलम्ब सकेर भैरहवा सेज पूर्ण रूपमा सञ्चालनमा ल्याउने हाम्रो उद्देश्य हो ।’ त्यस्तै, प्लट लिएरसमेत उद्योग नखोलेका उद्योगी–व्यवसायीलाई सूचना सार्वजनिक गरेर उद्योग खोल्न आग्रह गरिने उनले बताए । 

६ महिनाभित्र पूर्वाधार  निर्माण सक्ने दाबी
उद्घाटन भएको पाँच वर्ष बितिसकेको भए पनि भैरहवा सेजमा अझै पूर्वाधार तयार भएका छैनन् । विद्युत्, दूरसञ्चारलगायत थुप्रै पूर्वाधार अझै तयार भइसकेका छैनन् । कार्यकारी निर्देशक रिज्यालले भैरहवा सेजलाई पूर्ण रूपमा सञ्चालन गर्ने गरी ६ महिनाभित्र सबै पूर्वाधार तयार गरिने बताए । ‘सबस्टेसन बनाउने, दूरसञ्चार जोड्नेलगायत बाँकी रहेका पूर्वाधार निर्माणको काम ६ महिनाभित्र सम्पन्न गर्नेछौँ, यसका लागि सरोकारवाला निकायले काम पनि थालिसकेका छन्,’ उनले भने ।