मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १ बिहीबार १९:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार १९:०२:००

लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सदरमुकाम बेसीसहरमा एक कार्यक्रमबीच देशको ६४औँ जिल्लाको रूपमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । ज्येष्ठ नागरिक संघ लमजुङको संयोजक नारायणबहादुर कुँवरलाई स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र थापाले परिचयपत्र दिएर बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा दुईजना ज्येष्ठ नागरिक, पाँचवटा स्थानीय तहका प्रमुख, सभासद् र प्रदेश सांसदलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र थापाले परिचयपत्र वितरण गरेका थिए । स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य सेवा पुराउने लक्ष्यअनुसार सरकारले बिमा कार्यक्रम लागू गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । 

उनले भने, ‘स्वास्थ्यको पहुँचबाट कोही पनि विमुख नहुन् भनेर नेपाल सरकारले बिमा कार्यक्रम लागू गरेको हो ।’ मुख्यमन्त्री गुरुङले सरकारी अस्पतालबाट गुणस्तरीय सेवा दिनुपर्ने बताए । 

यस्तै प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा सरकारले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको बताइन् । उनले सहरका भन्दा पनि ग्रामीण भेगका नागरिक यस सेवाबाट लाभान्वित हुने बताइन् । 

अतिविपन्न, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एचआइभी संक्रमित परिवार, क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमित परिवार, अतिअसशक्त अपांगता भएको व्यक्तिको परिवारलाई शतप्रतिशत र ५० प्रतिशत अनुदानमा महिला स्वास्थ्य स्वयंसेविका र उनको परिवारले बिमाबापतको शुल्क तिरिदिने व्यवस्था गरेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

बोर्डका अनुसार बिमितका लागि लमजुङमा लमजुङ जिल्ला अस्पताल, सुन्दरबजार अस्पताल, गौँडा प्राथामीक स्वास्थ्य केन्द्र र चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र तोकिएको छ । कार्यक्रमको शुभारम्भ गर्नुपूर्व बोर्डले लमजुङका ७५ वटै वडाका वडामा काम गर्ने दर्ता सहयोगीलाई तीनदिने तालिम प्रदान गरेको थियो । 

कार्यक्रमको सदस्यता दर्ता चक्रअनुसार सेवा क्रियाशील हुने महिना निर्धारण गरिएको छ । बिमा परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यहरूले सरकारले तोकेको अस्पतालबाट एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउनेछन् ।

बिमा गर्नेले परिवारको सदस्यको आधारमा शुल्क तिर्नुपर्नेछ । पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य थप सात सय रुपैयाँ तिर्नुपर्छ । बिमा गराएपछि पाँचजनासम्मको परिवारले वार्षिक एक लाख र सोभन्दा बढी सदस्य भएका परिवारले दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्ने पाइने व्यवस्था गरिएको छ । 

स्वास्थ्य बिमा कार्यक्रममा कस्मेटिक सर्जरी, महँगो चस्मा, सहायक दाँतका महँगा उपचार सेवा, कृत्रिम गर्भाधान, लिंग परिवर्तनलगायतका सेवा समावेश नगरिएको बोर्डले जनाएको छ । बिमा गराएका परिवारले प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ । स्वास्थ्य बिमा बोर्डका अनुसार हालसम्म लमजुङसहित ६४ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ । 

आर्थिक वर्ष ०७२÷७३ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले बताए । आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिनेछ ।