मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ १ बिहीबार ११:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीपमूलक तालिम र विदेशी राहत प्रदान गरिदिने बहानामा ठगी गर्ने पक्राउ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ १ बिहीबार ११:५२:००

क्यानडाको टोरेन्टो विश्वविद्यालय साहित्यमा पिएचडी गरेको हुँ भन्दै सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

गरिब र विपन्न वर्गलाई विभिन्न सीपमूलक तालिम दिने र वैदेशिक राहत सहायत दिलाउने आश्वासन दिँदै कर्मचारी परिचालन गरेर सदस्य बनाउँदै सर्वसाधारण ठगी गर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामवलीकुमार दनुवार पक्राउ परेका हुन् । 

सुनसरीको इनरुवा नगरपालिका– १ मा शाखा खोलेर ३७ जना कर्मचारी नियुक्त गरी एक हजार एक सय ९७ जनालाई ठगी गरेको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको हो । पिएचडी गरेको बताउने दनुवारका बारेमा प्रहरीले गरेको अनुसन्धानअनुसार उनले जम्मा १० कक्षासम्म मात्र पढेको देखिएको छ ।

प्रहरीका अनुसार दनुवारले आफूलाई  डाक्टर  बताउँदै क्यानडाको तिलिजा रोवर्ट नामको संस्थासँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै प्रदेश १ र २ अनि लुम्बिनी प्रदेशमा शाखा खोलेर सर्वसाधारणलाई सदस्य बनाएर ठगी गर्ने गरेका थिए । 

उनले संस्थाको सदस्य बनेबापत एक सयदेखि एक हजारसम्म शुल्क लिने गरेका थिए ।   

उनले सरस्वती सिलाइ प्रशिक्षण केन्द्र रहेको र सप्तरीको माहुली र सुनसरीको इनरुवामा शाखा खोलेर प्रशिक्षण दिलाउन लागेको भन्दै सर्वसाधारणबाट भर्नाबापत जनही एक हजार शुल्क ठगी  गर्ने गरेका थिए ।  

उनले आफ्नो तालिम केन्द्रको दर्ता नं. ५९१६० रहको प्रधान कार्यालय रुपन्देहीको भैरहवा अनि महोत्तरीको गौशाला, सिराहा र धनुषामा पनि शाखाहरू खोलेर सिलाइबुनाइ, साबुन, मैनबत्ती बनाउने तालिम दिइरहेको अनि वैदेशिक सहायताबाट आएको राहत पनि वितरण गर्ने गरेको भन्दै सर्वसाधारणलाई सदस्य बनाउन लगाउने गरेका थिए । 

उनले तालिम केन्द्रको आफू महानिर्देशक भएको र मासिक एक लाख तलब खाने गरेको भन्दै प्रशिक्षण केन्द्रमा  कर्मचारी, स्वास्थ्य निरीक्षक, उपमहानिर्देशक, कार्यालय प्रमुख, सहकार्यालय प्रमुख, लेखापाल, स्वकीय सचिव, निरीक्षक, कार्यालय सहयोगी र गार्डजस्ता पद सिर्जना गरेर परिचालन गर्ने गरेका थिए । 

उनले कर्मचारीलाई दर्जाअनुसार ११ हजारदेखि ५४ हजारसम्म पारिश्रमिकसमेत तोकेर ३७ जना कर्मचारी नियुक्त गरेका थिए ।

तर, पारिश्रमिक भने कसैलाई दिएका थिएनन् ।