१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १ बिहीबार १०:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनयुद्धको ज्यादती दण्डित हुने डरले प्रचण्ड एकतामा आए : पोखरेल

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार १०:००:००

पार्टी एकताअघि नै कांग्रेस र साना दलसँग मिलेर प्रचण्ड प्रधानमन्त्री हुन खोजेका थिए, सफल नभएपछि हामीसँग एकता गरेका हुन्

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनयुद्धको ज्यादतीको दण्ड भोग्नुपर्ने डरले मात्र प्रचण्डले तत्कालीन एमालेसँग पार्टी एकता गरेको दाबी गरेका छन् । बिर्तामोडमा ओली समूहको नेकपाले गरेको अगुवा कार्यकर्ता भेलामा पोखरेलले बलियो कम्युनिस्ट पार्टी निर्माणको उद्देश्यले नभई भोलि दण्डित हुनुपर्ने डरले प्रचण्ड एकतामा आएको दाबी गरेका हुन् ।

‘प्रचण्डमा जनयुद्धको ज्यादतीका कारण भोलि केही हुने हो कि भन्ने डर थियो,’ पोखरेलले भने, ‘त्यही डरका कारण प्रचण्डजी पार्टी एकता गर्न बाध्य हुनुभएको हो ।’ प्रचण्डले तत्कालीन समयमै वाम गठबन्धनलाई धोका दिन खोजेको आरोपसमेत लगाए । ‘उहाँ हस्तिनापुर कब्जा गर्ने उद्देश्यले आउनुभएको हो,’ उनले भने, ‘उहाँलाई माधव नेतृत्वको कुण्ठाले सहयोग गर्‍यो ।’ 

कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न नसक्ने भएपछि मात्र प्रचण्डले पार्टी एकता गरेको उनको तर्क थियो । ‘तत्कालीन चुनावी वाम गठबन्धनलाई धोका दिएर प्रचण्ड पाँचवर्षे प्रधानमन्त्री बन्न खोजेका थिए,’ उनले भने, ‘कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्ने सपना पूरा नभएपछि मात्र प्रचण्डले हामीसँग पार्टी एकता गरेका हुन् ।’ प्रचण्ड सधैँ पदका लागि मात्र अघि बढ्ने नेता भएको उनको भनाइ थियो । 

‘वाम गठबन्धनले एउटै चुनाव चिह्न र घोषणापत्रमा साझा उम्मेदवार बनाएर चुनाव लड्ने सहमति भयो । त्यसको २४ घन्टा नबित्दै प्रचण्डजीले चुनाव चिह्न त हुँदैन भन्नुभयो । त्यो वेला पहिलोपटक हामीलाई दाँतमा ढुंगा लाग्यो,’ उनले भने, ‘चुनावमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेर चर्चा गरियो । प्रधानमन्त्री बनाउने वेला त प्रचण्ड आउनुहुन्न । उहाँ त साना दल र कांग्रेसँग मिलेर पाँचवर्षे प्रधानमन्त्री हुनतिर लाग्नुभएछ ।’ 

उपप्रधानमन्त्री पोखरेलले उदारतापूर्वक केपी ओलीले प्रचण्डसँग पार्टी एकता गरेको दाबी गरे । पार्टी एकताका लागि प्रचण्डले पठाएको चिर्कटोमा प्रधानमन्त्री ओलीले हेर्दै नहेरी हस्ताक्षर गरेको उनको दाबी थियो । ‘केपी ओली एकताको पक्षमा हुनुहुन्छ । प्रचण्डले दायाँबायाँ गर्न खोजेपछि एकताको पक्षमा भनेर हस्ताक्षर गर्नुभयो,’ उनले भने, ‘प्रचण्डका प्रतिनिधिले ल्याएको चिर्कटोमा पार्टी एकता छ कि छैन भनेर सोधेर उहाँले हस्ताक्षर गर्नुभएको हो । त्यही कारण अहिले आधा–आधा प्रधानमन्त्रीको कुरा आएको हो ।’

प्रचण्डले ओलीलाई काम गर्नै नदिएको पोखरेलको दाबी छ । ‘ओलीसँग देश समृद्ध बनाउने सपना छ, तर प्रचण्डजीले काम गर्न दिनुभएन,’ उनले भने । प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति गर्न खोज्दा प्रचण्डले भागबन्डा खोजेर नियुक्ति गर्न नदिएको आरोप लगाए । उपप्रधानमन्त्री पोखरेलले माधव नेपाल र झलनाथ खनालले कुण्ठाका कारण पार्टी फुटाएको दाबी गरे । ‘प्रचण्डको अन्तर्विरोध, माधव–झलनाथको कुण्ठाले यस्तो भएको हो । हिजो प्रतिपक्षमा भएको केपी ओलीलाई आज केपी बा भन्छन् । त्यही कारण उहाँहरू जल्नुभयो,’ उनले भने, ‘सत्तामा हुँदा केपी ओलीको तेजलाई देख्न नसकेर उहाँहरूमा कुण्ठा पलायो ।’ 

खानेपानीमन्त्री मणि थापाले केपी ओलीलाई साथ दिएर आफूहरूले क्रान्तिकारी कदम चालेको दाबी गरे । ‘कोही कार्यकर्तालाई नसोधी एमालेसँग प्रचण्डले पार्टी एकता गर्दा क्रान्तिकारी भयो । माधव नेपालसँग सहकार्य गर्दा अग्रगामी भयो,’ उनले भने, ‘हामीले केपी ओलीलाई साथ दिँदा लाल गद्दार भयौँ ? हाम्रो कदम पनि क्रान्तिकारी कदम हो ।’

तस्बिर : रासस