१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार

विमानस्थलमा हिउँ जमेपछि  चार दिनदेखि हवाई सेवा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १०:५३:००

हिमपातले चार दिनदेखि हुम्लाको हवाई सेवा ठप्प भएको छ । सिमकोट विमानस्थलमा बाक्लो हिउँ जमेपछि हवाई सेवा ठप्प भएको हो । हुम्लामा बुधबारदेखि हिमपात सुरु भएको थियो । दुई दिन परेको बाक्लो हिमपातले सिमकोट विमानस्थल ढाकेको छ । जसले गर्दा बुधबारदेखि नै हवाई सेवा अवरुद्ध भएको हो । हवाई सेवामै निर्भर यहाँका बासिन्दा यातायातको अर्को विकल्प नहुँदा समस्यामा परेका छन् । 

सिमकोट विमानस्थलमा जमेको हिउँ शनिबारदेखि फाल्न थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र एयरलाइन्सका कर्मचारीले हिउँ फालिरहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए । हिउँ पन्छाउन अझै समय लाग्ने जनाएको छ ।

शनिबार र आइतबार दिनभरि खटिए पनि हिउँ पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन श्रेष्ठले बताए । उनका अनुसार, अझै दुई दिन लाग्नेछ । 

हवाई सेवा ठप्प भएसँगै सिमकोटमा दैनिक उपभोग्य सामानको अभाव भएको छ । सुर्खेत तथा नेपालगन्जबाट सामान ढुवानी हुन नसकेपछि दैनिक उपभोग्य सामानको अभाव भएको जनाएको छ । हुम्लाबाट सुर्खेत तथा नेपालगन्ज जाने यात्रु पनि सिमकोटमै अलपत्र परेका छन् ।

विद्यालयमा क्षति

हिमपातसँगै चलेको हुरीबतासले यहाँका विद्यालय भवनमा क्षति पुगेको छ । जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयको छानो उडाएको जनाएको छ । सदरमुकामस्थित मानसरोवर मावि र सहारा समूहको छात्रावासको छानो उडाएको छ ।

त्यस्तै, बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए । हावाहुरीले छानो उडाएपछि कक्षाकोठाभित्र हिउँ जमेको शिक्षक ऐडीले बताए । करिब तीन फिटजति हिउँ जमेको उनले बताए ।