Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
‘एउटा यस्तो प्रेमकहानी’ मा शक्ति श्रेष्ठ र कविता मानन्धर ।
नवीन प्यासी काठमाडाैं
२०७७ माघ १ बिहीबार ०७:११:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरी चलचित्रमा 

कोरोना महामारीका कारण १० महिनापछि सिनेमा हल खुला, ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्रमार्फत शक्ति श्रेष्ठ र कविता मानन्धर डेब्यु गर्दै

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ माघ १ बिहीबार ०७:११:००

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि गत ११ चैतदेखि मनोरञ्जन क्षेत्र बन्द गरियो । साउन, भदौपछि अन्य क्षेत्र खुला गरिए पनि मनोरञ्जन क्षेत्र खुला गर्न सरकारले मानेन । दस महिनासम्म सिनेमा गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आबद्ध सयौँ चलचित्रकर्मी पलायन भए भने धेरै अन्य पेसा व्यवसाय अँगाल्न बाध्य भए ।

दुई साताअघि मात्र सरकारले सिनेमा सुटिङ गर्न अनुमति दिएको थियो । तर, सिनेमा हल भने अझै खुला गरिएन । चलचित्र संघले गत १० पुसमा एकतर्फी सिनेमा हल खुला गरे पनि दर्शक आइदिएनन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पदाधिकारी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता शिव श्रेष्ठको निकै ठूलो दौडधुपपछि २५ पुसको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुला गर्न निर्णय गरेको हो । जसअनुसार १ माघदेखि देशभरका सिनेमा हल सञ्चालनमा आउने भएका छन् ।

सिनेमा हल खोल्ने मन्त्रिपरिषद्को निर्णयसँगै सञ्चार मन्त्रालयले १९ बुँदे सञ्चालन तथा अनुगमन मापदण्ड सार्वजनिक गर्‍यो । मापदण्डमा भौतिक दूरी कायम गर्नुपर्ने, अनलाइनमार्फत टिकट बिक्री गर्नुपर्ने अथवा काउन्टरबाट बिक्री गर्दा सुरक्षाको मापदण्ड अपनाएर गर्नुपर्ने, सिटमा पनि सुरक्षा अपनाउनुपर्नेलगायत सर्त छन् । सर्तहरूको साथै स्थलगत अनुगमन हुने पनि मापदण्डमा बताइएको छ । पुराना चलचित्र प्रदर्शन गरेर हलहरू पुनः सुचारु गर्ने सञ्चालकहरूले बताएका थिए । गत १० पुसमा दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ पुनः हलमा प्रदर्शन हुने बताइएको थियो । तर, पछि रोकियो । 

१ माघदेखि देशभर नयाँ चलचित्र प्रदर्शन हुँदै छ, ‘एउटा यस्तो प्रेम कहानी’ । यो चलचित्रमा अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर रजतपटमा डेब्यु गर्दै छन् । एक समयका चल्तीका अभिनेता शिव र सदाबहार अभिनेत्री करिश्माका छोराछोरी अभिनित भएकाले पनि दर्शकमा चासो धेरै देखिएको छ ।

आफ्नो छोरा शक्तिलाई डेब्यु गराउन पनि शिव श्रेष्ठले सिनेमा हल सञ्चालन गर्न निकै दौडधुप गरेका थिए । पुराना अभिनेता भएकाले पनि उनलाई धेरैले चिन्छन् । सोहीकारण पटकपटक सञ्चार मन्त्रालय पुगेर सञ्चारमन्त्री पार्वत गुरुङसँग हल खुला गर्न प्रस्ताव गरे । उनी केही दिनअघि मात्र बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेर सिनेमा हल खुलाउन आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीलाई भेटेपछि लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा हल खुला गर्न अनुमति दिएको हो ।

कोभिडको त्रास ज्युँकात्युँ छ । दिनदिनै संक्रमितको संख्या सार्वजनिक भइरहेकै छ । यस्तो संकटको अवस्थामा नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज हुँदै छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल आफूले यस्तो विषम परिवेशमा नयाँ चलचित्र प्रदर्शन नगर्नुस् भन्दा निर्माताहरूले प्रदर्शन नै गर्न चाहेको बताउँछन् । भन्छन्, ‘हामीले यस्तो वेला नगरे हुन्थ्यो भनेकै हो । तर, उहाँहरूले प्रदर्शन गर्ने अडान नै लिनुभयो । यो उहाँहरूको अधिकार र निर्णयको कुरा हो ।’

दाहालका अनुसार प्रदर्शन भएका नयाँ चलचित्रमा बोर्डले केही सहयोगको व्यवस्था गरेको छ । बोर्डले सुटिङ, पब्लिसिटी, विज्ञापनहरूमा सकेको सहयोग गर्ने निर्णय गरेको र गरिरहेको उनले बताए । दाहालका अनुसार टेलिभिजन च्यानलहरूमा विज्ञापन बजाउँदा बोर्डको पत्र लिएर जाँदा पचासदेखि साठी प्रतिशतसम्म छुट हुनेछ । यसका साथै पोस्टर टाँस्ने काममा पनि बोर्डले सहयोग गर्नेछ । सुटिङका लागि पनि गर्नेछ । ‘नयाँ रिलिज हुन लागेका चलचित्रलाई र सुटिङमा गएका चलचित्रलाई सकेको सहयोग गर्ने हो । पैसा नै दिन त बोर्डसँग कहाँ छ र । विशेषतः हामीले नीतिगत सहयोग गर्ने हो,’ दाहाल भन्छन् ।

कोभिडले बन्द चलचित्र क्षेत्र सुचारु हुँदा सुरुमै नयाँ चलचित्र प्रदर्शन हुनु आफैँमा राम्रो संकेत देखिएको छ । तर, दर्शक आउने या नआउने भन्ने अनुमान कसैले गर्न सकेका छैनन् । ‘एउटा यस्तो प्रेम कहानी’का निर्देशक दीपेश सापकोटा यो समय आफूहरूलाई अवसर लागेकाले प्रदर्शन गर्न लागेको बताउँछन् । भन्छन्, ‘यस्तो समयमा कसै न कसैले त आँट गर्नुपर्‍यो नि । फेरि यो समयमा सबै उत्साहित छन् । पब्लिसिटी पनि भइरहेकै छ । त्यो भएकाले हामीले जोखिम मोलेका हौँ ।’ 

सेलेब्रिटीका सन्तानहरू अनमोल केसी, सुहाना थापा, केकी अधिकारी, सलोन बस्नेत, गौरव पहाडी, संयम पुरीलगायतले चलचित्र क्षेत्रमा पाइला चालिसकेका छन् । कोही स्थापित भएका छन् त कोही स्थापित हुने तरखरमा छन् । कोही संघर्ष गरिरहेका छन् ।

यहीबीचमा थपिँदै छन् शक्ति श्रेष्ठ र कविता मानन्धर । तर, आफूले काम गर्ने क्रममा स्टार किडलाई लिएर समस्या नभएको बताउँछन् निर्देशक सापकोटा । भन्छन्, ‘उहाँहरूलाई प्राविधिक कुराहरू थाहा थियो । सबै कुरा सहज भयो । उहाँहरूले स्टार किड भएको दम्भ पनि देखाउनुभएन ।’

साथै सबैले राम्रो मिहिनेत गरेको र आफूलाई दबाब महसुस नगराई काम गरेको सापकोटाको अनुभव छ । बरु आफूलाई भन्दा कविता र शक्तिले स्टार किड भएकोमा दबाब महसुस गरेको उनी बताउँछन् । चलचित्रमा कविता र शक्तिको अलवा शिव श्रेष्ठ, प्र्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, निरन खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

कविताका बाबु विनोद मानन्धर भने गुनासो पोख्छन् । उनका अनुसार चलचित्रको पूरा सुटिङ भएको थिएन । डबिङ पनि गरेको छैन । टुक्राटुक्रामा सुटिङ गरिएको थियो । भन्छन्, ‘डबिङ कसलाई गराएको हो ? थाहा छैन । मेरी छोरीलाई आफैँ डेब्यु गराउने सुरमा थिएँ । अहिले त चलचित्र नै नगर्ने भन्छिन् ।’

आधा सुटिङ गरेर अमेरिका फिरेकी कविता सुटिङका लागि नेपालमा आएको र यसबीचमा डेढ वर्ष पनि बितिसकेको विनोदको भनाइ छ । बिहीबारबाट प्रदर्शन हुन लागेको यो चलचित्रलाई प्रदर्शकले ५५ प्रतिशत सेयर दिने भएका छन् । यसअघि भने सिंगल थिएटरबाट निर्माताले पचास प्रतिशत सेयर पाउँदै आएका थिए । मल्टिप्लेक्स सिनेमा हलले पनि ५५ प्रतिशत नै दिने भएका छन् । मल्टिप्लेक्सले पहिलो हप्ता पचास, दोस्रो हप्ता पैँतालीस, तेस्रो हप्ता चालीस र बाँकी हप्तामा ३५ प्रतिशत सेयर दिँदै आएका थिए ।