मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २९ बुधबार १६:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा पुनर्स्थापनाविना चुनाव गर्न खोजे रक्तपात : सुजाता कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २९ बुधबार १६:३३:००

कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताइन् ।

उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय समिति बैठकमा कुरा उठ्नेसमेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ, आश्चर्य लागेको छ,’ पूर्वउपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘रक्तपात हुन सक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसद्को विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ उनले संसद पुनर्स्थापना नगरी चुनावमा जान खोजेमा रक्तपात हुने खतरा औँल्याइन् । देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा आपत्ति जनाइन् । उनले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’ 

संसद्विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा औँल्याइन् । उनले भनिन्, ‘संसद्विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरू नभएको, तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको बताइन् । सविधान पुनर्थापनाविना चुनाव हुन नसक्ने र भएमा पनि रक्तपात हुने बताइन् । ३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै भनिन्, ‘३० वर्षदेखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि–फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस्, तर संसद् पुनर्स्थापना गर्नुहोस् ।’

संसद्को विघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भए पनि पुनर्स्थापना गर्ने बताइन् । उनले कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद् पुनर्स्थापनाविना कांग्रेस चुनावमा नजाने स्पष्ट पारिन् । उनले भनिन्, ‘आन्दोलनमा गएर भए पनि संसद् पुनर्स्थापना गर्छौँ ।’ आफूहरूले अदालतको फैसला पर्खिरहेकोसमेत कोइरालाले बताइन् । 

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनै पनि सम्झौता गर्न नसक्ने बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने उनकाे भनाइ छ । उनले भनिन्, ‘कामचलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली बढेको उनकाे आरोप छ । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटनामा पुऱ्याएको कोइरालाको आरोप थियो । 

ओली रंग बदलिरहने र विचार बदलिरहने प्रधानमन्त्री भएको टिप्पणी गर्दै विश्वास गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरूले पनि विश्वास गर्न छाडिसके ।’ ओलीको बोलीमा नअलमलिन सबैलाई आग्रह गरिन् । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली भएको बताइन् । उनले भनिन्, ‘हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरू रुन्थे, तर उनले रक्तपात मच्चाए ।’ 

कम्युनिस्टहरूको झगडाले देश धरापमा परेको उनकाे भनाइ छ । देशलाई संकटबाट जोगाउन ढिलो गर्न नहुने उनले बताइन् । ओलीको क्रियाकलापविरुद्ध सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । संसद् पुनर्स्थापनामा सबै एकढिक्का हुनुको विकल्प नभएकोमा जोड दिइन् । विगतमा गिरिजाप्रसाद कोइरालाले अडान लिएर संसद् पुनर्स्थापना गरी संविधान र देशलाई सही ट्रयाकमा ल्याएको स्मरण गराइन् ।