मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ पौष २८ मंगलबार १०:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाइलटसँग अनधिकृत शुल्क असुल गर्ने डाक्टर प्राधिकरणको निलम्बनमा

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ पौष २८ मंगलबार १०:०१:००

पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा शुल्क उठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका डाक्टर राजीवकुमार देवलाई प्राधिकरण नेतृत्वले निलम्बन गरेको छ । डाक्टरले बढी रकम असुल गरेको विषयमा पाइलट तथा चालकदलका सदस्यहरूले उजुरी नै दिएपछि कारबाही गरेको हो । ‘उहाँको विषयमा अहिले छानबिन चलेकाले छानबिन नसकिने समयसम्मका लागि निलम्बन गरेको हौँ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । प्राधिकरणले गत बिहीबार कारबाहीको सिफारिस गरेको थियो । 

डा. देवले पाइलट तथा चालकदलका सदस्यहरूसँग अनधिकृत रूपमा पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र दिने गरेको खुलासा नयाँ पत्रिकाले गरेको थियो । कोभिड–१९ का कारण एयरलाइन्स कम्पनी र पाइलटसहित चालकदलका सदस्यहरू मारमा परिरहेका वेला शुल्क असुल गरेपछि उनीहरूले प्राधिकरणमा उजुरी दिएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले डा. राजीवकुमार देव र डा. सञ्जय कार्कीलाई उड्डयन स्वास्थ्य सुरपरिवेक्षकका रूपमा नियुक्त गरेको छ । देव नभएको समयमा डा. सञ्जय कार्कीलाई काम गर्ने जिम्मेवारी दिएको समेत महानिर्देशक पोखरेलले बताए । 

प्राधिकरणले पाइलटहरूको प्रत्येक एक वर्षमा स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्ने र प्रमाणपत्र जारी गर्ने गरी डाक्टरलाई नियुक्त गरेको थियो । सोही स्वास्थ्य प्रमाणपत्रका आधारमा पाइलटहरूको लाइसेन्स नवीकरण गर्ने व्यवस्था छ । तर, राजीवकुमारले ओम अस्पतालमा पाइलट र चालकदलका सदस्यहरूलाई बोलाउने र तोकेको भन्दा पाँच गुणा महँगो शुल्क असुल गर्ने गरेको पाइएको छ । प्राधिकरणले भने प्राधिकरणमै आएर स्वास्थ्य रिपोर्ट हेर्ने र एकजनाको १ हजार मात्रै लिने गरी नियुक्त गरेको थियो । प्राधिकरणले तोकेको डाक्टरले जारी गरेको प्रमाणपत्रका आधारमा मात्रै उडानमा सहभागी हुन पाउने व्यवस्था छ । 

उक्त १ हजार पनि प्राधिकरणले लिएर डाक्टरलाई प्रमाणपत्रका आधारमा दिने सहमति छ । तर, डा. राजीवकुमारले भने ओम अस्पतालमा बोलाएर एकजनासँग ५ हजार शुल्क लिने गरेको पाइएको छ । कोभिड–१९ का कारण पछिल्लो समय प्रत्येक १५ दिनमा पाइलट तथा अन्य चालकदलका सदस्यहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट डाक्टरलाई बुझाउने र डाक्टरले प्रमाणपत्र दिएपछि मात्रै उडानमा जान पाउने व्यवस्था छ ।

डाक्टरले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्ससहित आन्तरिक उडान गर्ने एयरलाइन्स तथा हेलिकोप्टर कम्पनीका पाइलटहरूसँग पनि रकम असुल गरेको पाइएको थियो । कोभिडको महामारीमा मात्रै विभिन्न एयरलाइन्सका पाइलट र अन्य चालकदलका सदस्यहरूसँग मात्रै शुल्कका नाममा २० लाखभन्दा बढी असुल गरेको पाइएको थियो ।

प्राधिकरणका डाक्टरले वार्षिक रूपमा मात्रै स्वास्थ्य प्रमाणपत्र जारी गर्ने १५ सयभन्दा बढी पाइटलहरू–क्रुहरू छन् । तर, अहिले कोभिड–१९ को संकटमा एकजना पाइलट प्रत्येक १५ दिनमा स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर उडानमा जानुपर्छ । तर, डाक्टले महँगो शुल्क लिँदा प्रत्येक १५ दिनमा ५ हजार बुझाउनुपर्ने बाध्यतामा रहेका छन् ।