बागमती सफाइमा टेलिकमको सहयोग

२०७५ माघ २८ सोमबार ०९:४८:०० | काठमाडौं

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसर पारेर बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बागमती सफाइ अभियान आरम्भ भएको ३००औँ हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा बागमती सफाइ अभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई उक्त प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।  

सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १ सय २५ थान वाटरप्रुफ ट्र्याकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पन्जा, १ सय थान डोको–थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराएको थियो ।

नेपाल टेलिकमले बागमती सफाइ अभियान सुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगत रूपमा आफ्ना ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको जनाएको छ । 

प्रतिकृया दिनुहोस