मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७७ पौष २७ सोमबार ११:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेल भएका विद्यार्थीले आन्दोलन गर्ने गरेका हुन्, विश्वविद्यालयका केही भ्रष्ट प्राध्यापकको पनि मिलेमतो छ : उपकुलपति सिंह

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ पौष २७ सोमबार ११:५८:००

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा फेल भएका विद्यार्थीले आन्दोलन गर्ने गरेको बताएका छन् ।

सोमबार बिहान भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. सिंहले आन्दोलन गर्ने विश्वविद्यालयको परीक्षामा फेल भएका र पास गराउनका लागि आन्दोलन गरिरहेको बताएका हुन् । 

प्रायः इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गर्ने गरेकाे उपकुलपति प्रा.डा. सिंहले बताए ।

‘उनीहरूका माग जायज हाेइनन्,’ उनले भने, ‘आन्दोलन गर्ने विद्यार्थी कोही ३२ विषय लागेका छन् । कोही १६ वटा विषय लागेका आन्दोलन आएका हुन् ।’

परीक्षामा पास हुन नसकेका विद्यार्थीले अहिले अनलाइन परीक्षा गर्नुपर्ने माग उठ्दै आएको प्रा.डा. सिंहले बताए । 

‘हिजो कोरोनाका वेला अनलाइन परीक्षा गऱ्याैँ,’ उनले भने, ‘अहिले हामीले फिजिकल परीक्षा गरौँ भन्दा आन्दोलनमा आउने गरेका छन् ।’  

आन्दोलन गर्ने विद्यार्थी र आन्दोलन गर्न उक्साउने प्राध्यापक विश्वविद्यालयबाट निष्काशन गर्ने प्रा.डा. सिंहले चेतावनी दिए । 

‘विश्वविद्यालय हितविपरीत प्राध्यापकलाई कार्य गर्नेलाई रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्ला दुर्गम क्षेत्रमा सरुवा गर्छु,’ उनले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरू एक–दुईजना पनि गलत काममा लागेकले उनलाई पनि बर्खास्त गर्छु । तपाईंहरू अहिले नै सच्चिनुहोस् ।’

विश्वविद्यालयमा १० वर्षमा ७६ करोड बेरुजु भएको, त्यो रकम केहीले मिलेर खाएको र आफूले भ्रष्टाचार गर्न पनि नदिने नगर्ने बताएकाले केहीले विश्वविद्यालयविरुद्ध काम गरिरहेको बताए । 

‘विश्वविद्यालय दोहन गर्नेले आन्दोलन गर्ने गरेका छन्,’ उनले भने, ‘हेल्मेट प्राध्यापकहरूले उक्साहटबाट आन्दोलन गर्ने गरेका छन् ।’

विश्वविद्यालयमा विद्यार्थीको बिहानैदेखि आन्दोलन
यसैबीच मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीले केन्द्रीय क्याम्पसअगाडि सोमबार बिहानै प्रदर्शन गरेका छन् । 
प्रदर्शनका क्रममा केन्द्रीय क्याम्पसको अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रेका विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध चर्को नाराबाजीसमेत गरेका छन् । 

विद्यार्थीका मागप्रति विश्वविद्यालय प्रशासन गम्भीर नभएको, विद्यार्थीमाथि बल प्रयोग गरेर धरपकड गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

इन्जिजियरिङ संकायका विद्यार्थीले आफ्नो भविष्य विश्वविद्यालयले अन्याेलमा पारेको आरोप लगाउँदै आएका छन् ।