मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २७ सोमबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३० खर्बको सेयर बजार : नेप्से २२ सय नाघ्यो

Read Time : > 1 मिनेट
२०७७ पौष २७ सोमबार ०७:४५:००

नेपाली सेयर बजार ३० खर्ब रुपैयाँभन्दा धेरैको भएको छ । यो भनेको मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब ८० प्रतिशत (७९ दशमलव ९४ प्रतिशत) बराबर हो । आइतबार सेयर बजारमा रहेका लगानीकर्ताको सम्पत्ति ३० खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । 

लगानीकर्ताले सेयर किनबेच गर्दा पाउने लाभ वा हानि नै वास्तविक हो । यद्यपि, यो एउटा मापक हो । लगानीकर्ताको सेयर मूल्यमा हुने घटबढले यस्तो कागजी मूल्यमा पनि उतारचढाव भने आउँछ । कोभिड–१९ का कारण लगानी संकुचित हुँदा र बैंक तथा वित्तीय संस्थामा तरलता उच्च हुँदा सेयर बजार र लगानीकर्ताले लाभ पाउँदै आएका छन् । सेयर बजार परिसूचक पनि दैनिकजसो हालसम्मकै उचाइ बनाउँदै अगाडि बढिरहेको छ । नेप्से परिसूचक आइतबार ४१ दशमलव २४ अंकले बढेर २ हजार २ सय ३५ पुगेको छ । 

लगानीकर्ता बैंकिङ समूहमा तानिन थालेका छन् । एकाध बैंकबाहेक धेरैको मूल्य न्यूनतम तहमा रहेकाले पनि लगानीकर्ता यो समूहमा आकर्षित भएका हुन् । कुल ६ अर्ब ३२ करोडको कारोबार हुँदा ३ अर्ब १० करोड रुपैयाँको कारोबार बैंकिङको भएको हो ।

कारोबार रकमका आधारमा प्रमुख १० मा ८ वटा वाणिज्य बैंक रहेका छन् । प्रभु, कुमारी, नबिललगायतका बैंकको कारोबार रकम उच्च भएको हो । प्रभु बैंकको मात्रै ४० करोड २९ लाखको कारोबार भएको छ । यस दिन वाणिज्य बैंक, विकास बैंक र व्यापारमूलक समूहको सबैभन्दा धेरै अर्थात् ३ प्रतिशतमाथि वृद्धि भएको छ । कारोबारमा आएकामध्ये जीवन बिमा समूहगत परिसूचक मात्र घटेको हो । 

६ कम्पनीको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । प्रभु लाइफ, नारायणी विकास बैंक, कुमारी बैंक, आरम्भ चौतारी लघुवित्त कम्पनीलगायतको मूल्य बढेको हो । कारोबारमा आएका २ सय ७ धितोपत्र र ऋणपत्रमा १ सय ३२ को मूल्य बढेको, ५० वटाको मूल्य घटेको छ । 

यसैबीच निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सेयर मूल्य ५९ रुपैयाँले घटेर १ हजार ३ सय ११ मा कारोबार भएको छ ।