मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ पौष २७ सोमबार ०६:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाइँदै

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार ०६:१६:००

 सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो । 

साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाले अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

युएनडिपीको ‘ग्रिन एन्ड गेम’ परियोजनाको सहयोगमा महानगरले अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत एउटा मोबाइल एप तयार गरिनेछ । साइकलयात्रीले मोबाइल एप ओपन गरी साइकलको प्रयोग गर्नुपर्नेछ । एपमार्फत साइकलले पार गरेको सडकको दूरी नापिनेछ र त्यसका आधारमा साइकलयात्रीलाई पुरस्कारको प्रदान गरिने महानगरले जनाएको छ । ‘साइकल प्रयोगमा महानगरवासीको संख्या बढाउन यस्तो अभियान सञ्चालन गर्न लागिएको हो, यसमा अन्य उपहारका योजना पनि छन्,’ मेयर महर्जनले भने । 

साइकल चलाउन इच्छुक भएको, तर खरिद गर्न नसकेका दुई सयजनालाई साइकल खरिदका लागि समेत अनुदानको व्यवस्था गरएको महानगरले जनाएको छ । यसअघि महानगरले १० किमि क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । थप २२ किमि सडकमा साइकल लेन निर्माणका लागि टेन्डर गरेको छ ।