मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ पौष २६ आइतबार ११:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोपीडित लिदीवासी भन्छन्– स्टोरमा थन्क्याएर राखिएको टेन्ट र न्यानो कपडा पाएनौँ

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ पौष २६ आइतबार ११:५२:००

भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क जहाँ पहिरोपीडित लिदीवासी ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको प्रतीक्षामा बसिरहेका छन् । 

उनीहरूका लागि स्थायी बस्तीको व्यवस्थापन त परको कुरा भयो, छिमेकी देश चीनले दिएको सहयोग पनि गाउँपालिकामा स्टोर गरेर राखिएको छ । 

लेकाली भेगमा मंसिर अन्तिमदेखि नै हिउँ र तुषारो पर्न थाल्छ । पुस महिना पूरै जाडोले कठ्यांग्रिएर बिताएका लिदीवासीलाई रुघाखोकीले सताएको छ । 

मित्रराष्ट्र चीनले सभामुख अग्निप्रसाद सापकोटामार्फत ३ पुसमा बाढीपहिरोपीडितका लागि टेन्ट र ओढ्ने कपडा दिएको थियो । चीनले दिएको सहयोग बर्खामा प्राकृतिक विपत्तिले सताएको चार स्थानीय तह भोटेकोसी, बाह्रबिसे, जुगल र चौतारा साँगाचोकगढीलाई प्रदान गरिएको थियो । 

जुगल गाउँपालिकालाई ८० थान बाक्लो टेन्ट र ७० थान ओढ्ने न्यानो कपडा पठाइएको थियो ।

टेन्ट बाक्लो र विशेष खालको भएकोले पुस–माघको तुषारोमा पनि बस्न सहज हुन्छ । जाडोले थर्थरी कामेर पीडित स्थानीय बिरामी पर्दासमेत टेन्ट र ओढ्ने आजसम्म बाँसखर्क पुगेको छैन । 

‘जाडोले बिरामी पर्दा कसैले हेरेनन्,’ पीडित साहिला दोङले भने । चीन सरकारले दिएको सहयोग नपाएको उनले सुनाए । 

जिल्ला प्रशासन कार्यालयले ६ महिनाअघि दिएको पुरानो टेन्टमा पीडितको दिनरात जाग्राम बसेर बितिरहेको छ । पुरानो चिनियाँ टेन्ट भूकम्पको वेला प्राप्त भएका थिए । 

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ ओली नेकपाको केन्द्रीय सदस्यसमेत हुन् । पार्टी विभाजनपछि राजनीतिक कार्यक्रममा व्यस्त हुने गरेकोले उक्त सहयोग पीडितसम्म नपुगेको स्थानीय बताउँछन् । 

अन्य तीन स्थानीय तहले अत्यावश्यक पीडितलाई वितरण गरेर बाँकी सामग्री आपतकालीन समयका लागि भन्दै स्टोर गरिएको जनाएका छन् । 

पालिका अध्यक्षलाई कुरा गर्दा जवाफ दिन मानेनन् ।