टी–२० मा धोनीको रेकर्ड

टी–२० खेलमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको ३ सय खेल पूरा

२०७५ माघ २८ सोमबार ०९:२२:०० | विलिङटन

न्युजिल्यान्डले आइतबार तेस्रो टी–२० खेलमा भारतलाई ४ विकेटले हराउँदै ३ खेलको सिरिज २–१ ले हात पा-यो । रोमाञ्चक खेलमा भारत पराजित भए पनि पूर्वकप्तान महेन्द्रसिंह धोनी एक व्यक्तिगत रेकर्ड आफ्नो नाममा लेखाउन सफल भए । भारतका लागि टी–२० फर्म्याटमा ३ सय खेल खेल्ने धोनी पहिलो क्रिकेटर बनेका छन् । उनले यो सफलता न्युजिल्यान्डविरुद्ध खेल्दै प्राप्त गरेका हुन् । 

१२औँ खेलाडी

टी–२० इतिहासमा धोनी ३ सय खेल संख्या पूरा गर्ने विश्वकै १२औँ खेलाडी हुन् । धोनीले इंग्ल्यान्डका लुक राइटसँग बराबरी गरेका छन् । राइटले पनि अहिलेसम्म टी–२० मा ३ सय खेल खेलेका छन् । धोनीले क्रिकेटकै छोटो संस्करणमा ६ हजार १ सय ३६ रन बनाएका छन् । उनले ३८.३५ औसतमा २४ पटक अर्धशतकीय इनिङ खेलेका छन् । 

पोलार्ड शीर्ष स्थानमा

टी–२० मा वेस्टइन्डिजका अलराउन्डर किरन पोलार्डले सर्वाधिक खेल खेलेका छन् । अहिलेसम्म पोलार्डले कीर्तिमानी रूपमा ४ सय ४६ खेलमा सहभागिता जनाइसकेका छन् । उनले २९.९७ को औसतमा ४३ पटक अर्धशतक बनाएका छन् । यता भारतका लागि रोहित शर्माले २ सय ९८ खेल खेलेका छन् । 

हाई स्कोरिङ खेल 

न्युजिल्यान्डले पहिलो ब्याटिङ गरी ४ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । भारतले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन जोड्यो । समग्रमा यो खेलमा कुल ४ सय २० रन बनेको थियो । न्युजिल्यान्डका लागि कोलिन मुन्रोले ४० बलमा समान ५ चौका र छक्का प्रहार गरी ७२ रन बनाए । 

प्रतिकृया दिनुहोस