मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चार्ली वारजेल
२०७७ पौष २६ आइतबार ०८:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पवादले यहीँ नै पुर्‍याउँथ्यो

Read Time : > 3 मिनेट
चार्ली वारजेल
२०७७ पौष २६ आइतबार ०८:०१:००

बुधबार हजारौँ ट्रम्पसमर्थक सन् २०२० को राष्ट्रपतीय चुनावको मतपरिणाम उल्टाउन भनेर वासिङ्टनमा भेला भएका थिए । त्यहाँ आएर उनीहरूले आफ्ना राष्ट्रपतिको मन्तव्य सुने । मन्तव्य भाषणमा ती राष्ट्रपतिले आफूले कहिल्यै पनि हार नस्विकार्ने र अमेरिकी चुनाव स्वतन्त्र र निष्पक्ष हुन छाडेको दोहोर्‍याए । त्यसपछि उनले आफ्ना श्रोतालाई क्यापिटल भवनतर्फ अघि बढ्न आग्रह गरे । केही समयपछि आक्रोशित भीड सो भवनमा तैनाथ प्रहरीको घेरा तोड्दै नारा लगाइरहेको थियो, ‘यो हाम्रो घर हो ।’

ट्रम्पसमर्थक तथा उग्र दक्षिणपन्थी आन्दोलनलाई नजिकबाट हेरिरहेकाहरूले यस्तो स्थिति अवश्यम्भावी रहेको मान्दै आएका थिए । ‘मेरो विचारमा यो घटना उत्कर्ष हुनेछ,’ अनुसन्धानदाता मार्क–आन्द्रे अर्जेन्टिनोले मलाई एक हप्ताअघि प्रस्तावित र्‍यालीबारे बताएका थिए । अर्जेन्टिनो पहिलेदेखि क्युएनान आन्दोलनलाई गहनताका साथ अध्ययन गरिरहेका छन् । पछिल्लो साता अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या उल्लेख्य बढ्न थालेको थियो । खोपको आगमनले नयाँ आशा जगाएको थियो भने ट्रम्पको राष्ट्रपतित्वको अन्त्य तथा निर्वाचनको प्रमाणीकरणलाई टर्निङ प्वाइन्टको रूपमा हेर्न थालिएको थियो । तर, सबैले यसलाई सहज लिन सकिरहेका थिएनन् । ‘केही वृत्तले ट्रम्पको हारलाई स्विकार्नै सकेको छैन । केहीले ट्रम्प युगमा पाएको स्वच्छन्दता गुमाउन लागेका थिए । अरू केहीका लागि आगामी लिबरल शासनको सम्भावनाले नै तर्साएको थियो ।’

बुधबारको क्यापिटलको कब्जाले अमेरिका अस्थिर क्षणमा प्रवेश गरेको संकेत गरेको छ । कैयौँ गोप्य फेसबुक ग्रुपमा चुनावी परिणाम अस्वीकार गरिरहेका सञ्चारमाध्यम न्युज म्याक्स र वन अमेरिका न्युजका समाचार मात्र सेयर गरिएकाले मानिसमा ठूलो भ्रम पारिएको थियो । तर, ती मानिस अहिले आएर ट्रम्पसँग कार्यकाल टिकाउन कुनै योजना नरहेको बुझ्न थालेका छन् । ‘द डोनाल्ड’ नामक फोरमजस्ता समूहमा ट्रम्पका सबैभन्दा कट्टर समर्थकहरू निकै आक्रोशित छन् । उनीहरू चुनावी परिणाम अस्वीकार नगरेकोमा रिपब्लिकन विधायकसँग मात्र होइन, ट्रम्प स्वयंसँग समेत क्रुद्ध छन् । ‘ट्रम्पले भोलि नै केही उल्लेखनीय काम गरेनन् भने उनी सबैभन्दा ठूला धोकेबाज ठहरिनेछन्,’ एक समर्थकले अनलाइनमा लेखेका थिए । ती समर्थकले आफू बुधबारको ट्रम्पको भाषणमा सहभागी हुन जाने बताएका थिए । ‘र्‍याली आफैँमा महत्वपूर्ण नहोला, त्यहाँ प्राप्त हुने केही सूचना महत्वपूर्ण हुन सक्छ,’ ती समर्थकले भनेका थिए । 

वर्षौंसम्म अन्धभक्त, ट्रोल, साँच्चैका समर्थक तथा राजनीतिक अवसरवादीले षड्यन्त्रवादी सिद्धान्तको झुटको खेती गरिरहे, अमेरिका अहिले त्यसैको फल भोगिरहेको छ 

तर, र्‍यालीबाट त्यस्तो कुनै सूचना आएन । खासमा त्यस्तो सूचनाको अस्तित्व नै थिएन । अहिलेको समयमा ट्रम्पका समर्थक तथा क्युएनानमा विश्वास गर्नेहरूको मानसिक स्थिति निकै खतरनाक देखिन्छ । वासिङ्टनको एक भिडियोमा ट्रम्पका एक समर्थक इन्डियाना राज्यका रिपब्लिकन सिनेटर टोड योङलाई क्यापिटलबाहिर घेर्छन् । उनीहरू टोडलाई चुनावी परिणामको खण्डन नगरेकोमा र्‍याखर्‍याख्ती पार्छन् । हतास देखिएका योङ आफूले कानुनको पालना गर्नुपर्ने तर्क गर्छन् । ‘मैले भगवान्को नाममा शपथ खाएको छु... के यो देशमा त्यसलाई गम्भीरतापूर्वक लिन छाडिएको हो ?’ उनी सोध्छन् । समर्थकहरू टसको मस हुँदैनन् । ‘कानुनले हामीलाई फाइदा गर्छ कि गर्दैन भन्ने हो,’ एकजना चिल्लाउँछन् । लामो प्रोपोगान्डा, षड्यन्त्र र झुटको दीर्घकालीन प्रभावको एउटा उदाहरण हो । यस्ता धेरै उदाहरण छन् । विगत केही साताले देखाएका केही उदाहरण तल छन् : 

–१३ रिपब्लिकन सिनेटर्स तथा सयभन्दा बढी रिपब्लिकन हाउस मेम्बरले जो बाइडेनको इलेक्टोरल कलेज जितलाई स्विकार्न अस्वीकार गर्ने बताए । 

–अमेरिकाका राष्ट्रपतिको एक टेप सार्वजनिक भयो, जसमा उनी एक घन्टासम्म चुनावी धाँधलीसम्बन्धी क्युएनान षड्यन्त्रवादी सिद्धान्त भन्दै जर्जिया राज्य अधिकारीलाई चुनावी परिणाम उल्टाउन दबाब दिने प्रयासमा छन् ।

– कोरोना भाइरसको खोप खतरनाक भएको विश्वास गर्ने विस्कन्सिनका एक फर्मासिस्टले ५ सय मोडेर्नाको डोजलाई अप्रभावकारी बनाए । जर्जियामा धेरै ग्रामीण स्वास्थ्य सेवाकर्मीले खोपको डोज लिन अस्वीकार गरे । 

–अनलाइनमा उग्रवादी दक्षिणपन्थी सामग्री हेर्ने गरेको एक मानिसले ९११ मा फोन गरेर क्विन्समा बम भएको हल्ला फिजाए, जसले गर्दा मलको पार्किङ ग्यारेज बन्द गर्नुपरेको थियो । 
प्रत्येक उदाहरण स्वयं नै डरलाग्दो छ । सबैलाई एकसाथ हेर्ने हो भने एक संकटमा रहेको देशको चित्र देखिन्छ । देशको विषाक्त सूचना प्रणालीको रेकर्ड राख्ने व्यक्ति भएकाले यीमध्ये कुनैले पनि मलाई त्यति आश्चर्यचकित बनाएन । यो झन्डै पाँच वर्षभन्दा लामो समयदेखिको घृणा, ट्रोलिङ, हिंसा र षड्यन्त्रवादी सिद्धान्तीकरणको परिणाम हो । जुन इन्टरनेटको एक कुनाबाट ह्वाइटहाउसमा पुगेको छ । र, त्यहाँबाट पुनः इन्टरनेट नै फर्किएको छ । घृणा र हिंसा कहिलेकाहीँ अमेरिकी सडकमा पनि छताछुल्ल हुने गरेको भए पनि यसको वास्तविक प्रभाव हामी बल्ल बुझ्दै छौँ । वर्षौंदेखि अन्धभक्त, ट्रोल, वास्तविक समर्थक र राजनीतिक अवसरवादीले षड्यन्त्रवादी झुटको बिउ रोपिरहेका थिए । उनीहरूको उद्देश्य एउटा खतरनाक वैकल्पिक यथार्थ सिर्जना गर्ने थियो । हामी अहिले त्यसैको फल भोगिरहेका छौँ । र, यो आगामी दिनमा पनि झन् खराब हुँदै जाने सम्भावना देखिन्छ । 

वर्तमान संकटको कुनै सहज निकास छैन । यो अवस्थाका लागि कोही एकजना जिम्मेवार नहुनु यसको एउटा कारण हो । डोनाल्ड ट्रम्पको झन्डै आधा दशकदेखिको सत्यमाथिको आक्रमणले ठूलो भूमिका खेलेको छ । तर, त्यति नै प्रभाव सामाजिक सञ्जाल तथा फक्स न्युजजस्ता ट्रम्पसमर्थित मिडियाको पनि छ । ट्रम्प युगको सुरुवाती समयमा गलत सूचनाविरुद्धको युद्धमा मूलधारका प्रेससमेत संघर्ष गरिरहेका थिए । उनीहरूसमेत झुट तथा षड्यन्त्र विस्तार नगर्ने अभियानमा अलमलमा परेका थिए । हाम्रो संकटको जरा स्वार्थीपन, निर्लज्जता र पीडामा छ । यो जरा निकै तलसम्म पुगेको छ । यो थप बढ्दै जानेछ । 

"via The New York Times"
चार्ली वारजेल न्युयोर्क टाइम्सका स्तम्भकार हुन् । उनी प्रविधि, मिडिया, राजनीति र अनलाइन उग्रता विषयमा कलम चलाउँछन् ।